

वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं – प्रचण्ड- नेपाल नेतृत्वको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देश गम्भीर संकटबाट गुज्रिएको भन्दै संविधान र लोकतन्त्रमाथि प्रहार भइरहेको र पुन: वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको बताएका छन्।
बुधबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै श्रेष्ठले सत्तास्वार्थका कारण निरंकुश तत्वहरूबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको समेत उल्लेख गरेका छन्।
‘विदेशी शक्तिहरू कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ भनेर सूक्ष्म व्यवस्थापनमा चासो दिँदै क्रमशः हस्तक्षेप बढाइरहेका छन्,’उनले भनेका छन्,’सम्पूर्ण देशभक्त शक्तिहरू एक होऔं। प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं। राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौं।’

