ओलीको अर्को कार्ड : प्रचण्डलाई बाईपास, नेपालसँग साँठगाँठ


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेशको विवादले केन्द्रमा नयाँ समिकरणको संकेत गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविस्वासको प्रस्ताव पेस भएपछि बढेको विवादले अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद बढेको छ ।

चार बुँदे सहमति भएको भन्ने मंगलबार साँझ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरे पनि लगत्तै प्रचण्डको सचिवालयले उक्त विषयको खण्डन गरेको थियो । यसको अर्थ हो, ओली–प्रचण्डबीच खटपट गहिरो नै छ ।

यति मात्र होइन प्रचण्डसँगको सानो भेटमा खासै कुराकानी नभए पनि बरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमा ओलीको लामो भेट भयो । सो क्रममा प्रचण्डलाई अल्पमतमा पारेर अघि बढ्न सकिने विषयमा चर्चा भएको बालुवाटार उच्च स्रोतले जनाएको छ ।

त्यसो त पार्टीको कार्यकारी अध्यक्षको अधिकार भए पनि प्रचण्डलाई ओलीले बाइपास गरेका थिए । यसै विषयमा खुमलटार बालुवाटारसँग रुष्ट पनि थियो । मन्त्रिपरिषदको पुनर्गठनका क्रममा प्रधानमन्त्री ओलीले प्रचण्डलाई सुइँको समेत दिएका थिएनन् ।

सोही क्रममा प्रचण्डको मोरललाई धक्का पुग्नेगरी उनले दोस्रो संविधानसभामा सिरहामा प्रचण्डसँग पराजित ‘गराइएका’ लिला श्रेष्ठलाई मन्त्रिपरिषदमा ठूलो जिम्मेवारी दिए । ओलीले श्रेष्ठलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाइदिए ।

‘पार्टीका कुनै पनि बैठक अहिले प्रभावकारीताका साथ चलेका छैनन् । स्थायी समितिको बैठकलाई नै धावा बोल्न सक्ने प्रधानमन्त्रीले बेलामौका प्रचण्डको मोरललाई अप्ठेरोमा पारेको देखिन्छ’, स्रोतले भन्यो,‘यसको एउटा कारणचाहिँ बालुवाटार बोलाएर दुई घन्टा भन्दा बढीसम्म कुराइदिनेलगायतका स–साना विषयबस्तु पनि छन् ।’

संसदीय दलमा बलियो रहेका ओलीले त्यसैको आधारमा अल्पमतमा रहेको स्थायी समिति र सचिवालयमा बलशाली बन्न नेता नेपालसँग सम्झौताको तयारी गरेका छन् । यस्तो सम्झौता भएको खण्डमा नेकपाभित्र स्पष्ट दुई खाका देखिनेछ – एमाले र माओवादी केन्द्र

प्रचण्डसँग रोष रहेको र पार्टीमा अलिक बलियो अवस्था बनाउने रणनीतिअनुसार ओलीले नेता नेपालसँग कतिपय प्रस्ताव राखेका छन् । अबको मन्त्रिपरिषद विस्तारमा नेपाल समूहका नेतालाई स्थान दिने प्रस्ताव ओलीले गरिसकेका छन् ।

यो पूर्वतयारीअनुसारै केही दिन अघि गरिएको मन्त्रिपरिषदको पुनर्गठनमा प्रचण्डका कसैलाई पनि उनले स्थान दिएनन् । त्यसो त प्रचण्डकै समर्थनमा रहेका कतिपय नेता पनि ओलीको साथमा उभिएका छन् । यहाँसम्मकी हरिबोल गजुरेलजस्ता नेताले प्रचण्डले अडान लिन नसकेको गुनासो गरेको सतहमा आइसकेको छ ।

गृहमन्त्री तथा सचिवालय सदस्य रामबहादुर थापा, स्थायी समिति सदस्य लेखराज भट्टलगायतले पनि प्रचण्डको अडान नभएको भन्दै ओली कित्तालाई रोजेको नेकपा वृत्तमा चर्चा छ । ओलीले यी मन्त्री नहटाई निरन्तरता दिएको विषयले चर्चामा सत्यता धेरै रहेको जोडबल दिन्छ ।

संसदीय दलमा बलियो रहेका ओलीले त्यसैको आधारमा अल्पमतमा रहेको स्थायी समिति र सचिवालयमा बलशाली बन्न नेता नेपालसँग सम्झौताको तयारी गरेका छन् । यस्तो सम्झौता भएको खण्डमा नेकपाभित्र स्पष्ट दुई खाका देखिनेछ – एमाले र माओवादी केन्द्र ।

‘त्यसबेला त प्रचण्ड झन् कमजोर भइसकेका हुनेछन् । कतिपय आफ्ना भनिएका नेता नै ओलीको समर्थनमा छन् । उनले विश्वास गरेका भिम रावललगायतका मानिस माधव नेपालको साथ छाड्नेवाला छैनन्’, उच्च स्रोतले भन्यो,‘नेपाल–ओली समिकरण बनेको खण्डमा यो अभ्यास दरिलो हुनेछ ।’

प्रचण्ड कुशल राजनीतिज्ञ भए पनि नेताको व्यवस्थापन र अडानमा टिक्न नसक्दा दाउपेचमा माहिर तत्कालिन एमाले नेताहरूसँग पराजित हुने अवस्थामा रहेको कतिपयको बुझाई छ ।

‘स्थायी समिति तातेको बेला खास निर्णय र अडानमा नरहँदाको परिणामको संकेत यस्तै हुन्छ, हिजो नेपाल–झलनाथ खनालले साथ दिँदा उपयोग गर्न सकेनन्’, स्रोतले भन्यो,‘त्यसैको फाइदामा ओलीले राजनीतिक उपयोग गर्दा प्रचण्डलाई बाइपास गर्ने बल पुगेको छ ।’

प्रतिक्रिया