नेपाल टेलिकमको स्थानीय भाषामै प्रसारण सेवा विस्तार


काठमाडौं – नेपाल टेलिकमले आफ्नो सेवाको जानकारीबारे विभिन्न भाषामा सन्देशहरु प्रसारण गरेको जनाएको छ । छरिएर रहेका फरक–फरक मातृभाषा बोल्ने सेवाग्राहीहरुलाई कम्पनीले उपलब्ध गराइरहेको विभिन्न सेवा सुविधाहरुका बारेमा जानकारी प्रदान गर्न टेलिकमले छुट्टाछुट्टै भाषामा सन्देशहरु प्रसारण गरेको मंगलबार जनाएको हो ।

कम्पनीले उपलब्ध गराइरहेका सेवा सुविधाहरु विभिन्न स्थानका भाषाभाषी, जातजाति र समुदायका मातृभाषामार्फत स्थानीय भाषामै प्रसारण सेवा विस्तार भएको प्रेस विज्ञप्ति जारी गरी टेलिकमले उल्लेख गरेको छ । 

कम्पनीका अनुसार उक्त कार्यका लागि नेपाल टेलिकम र रेडियो नेपालबीच व्यावसायिक सहकार्य जारी रहेको छ । रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबार तथा प्रादेशिक प्रसारण केन्द्रहरु धनकुटा, बर्दिबास, काठमाडौं, पोखरा, दाङ र दिपायलमा विभिन्न बोल भएका फरक फरक सन्देशहरु झन्डै डेढदर्जन भाषामा प्रसारण भइरहेका कम्पनीले जनाएको छ । जस्तै राई बान्तवा, लिम्बू, पूर्वेली थारु, मैथिली, भोजपुरी, मगही, तामाङ, शेर्पा, उर्दु, नेपाल (नेवारी), गुरुङ, मगर, अवधि, पश्चिमा थारु, खाम मगर, डोटेली र राना थारु भाषामा विभिन्न सन्देश प्रसारण छन् । टेलिकमले प्रसारित  सन्देशहरुमा विभिन्न डाटा र भ्वाइसलगायत सेवाहरु र तिनको प्रयोग गर्ने तरिका बारेमा जानकारी प्रदान गरिएकाले देशभरी छरिएर रहेका विभिन्न भाषाभाषी र समुदायका सेवाग्राहीहरु लाभान्वित हुने अपेक्षा कम्पनीले गरेको छ ।

हाल टेलिकमले अटम अफरको रुपमा विभिन्न प्रकारका भ्वाइस र डाटा प्याक र  फेस्टिभल अफरमा जिएसएम÷सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा पनि उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया