


रौतहटमा हायस र ट्रक ठोकिँदा दुईजनाको मृत्यु, दुई घाइते

रौतहट- पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर–१, मंगलपुरमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बाप्र ०३–००१ ज ०४५२ नम्बरको हायस र विपरित दिशाबाट जाँदै गरेको मप्र ०३–००१ ख ८६०० नम्बरको ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा सर्लाही रामनगर गाउँपालिका–१ खैरवाकी ३६ वर्षीया भगियादेवी यादव र ३० वर्षीय धिरेन्द्र ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। दुवैको उपचारका क्रममा चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा निधन भएको हो।
दुर्घटनामा घाइते भएकामा मृतक भगियादेवीकी छोरी १८ वर्षीया रिनाकुमारी यादव र रौतहट दुर्गाभगवती गाउँपालिका–५ का १९ वर्षीय सरोज ठाकुर रहेका छन्।
ट्रक चालक ग्यालसेन ठोक्कर र हायस चालक आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

