


सहयोगी एकपछि अर्को छुट्दै, बालेन शाह सचिवालयमा मात्रै सीमित !

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पछिल्लो समय शाब्दिक रूपमा मात्र होइन, कार्यक्षेत्रमै पनि ‘एक्लिएका’ छन्। उपमेयर, वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र अब महानगर प्रहरी प्रमुखसमेत निलम्बनमा परेपछि शाहको साथ अब उनको सचिवालयसम्म सिमित देखिएको छ।
मेयर शाहका विश्वासपात्र मानिएका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जेठ ६ मा पाण्डेसँग ७ बुँदे स्पष्टीकरण माग गर्दै चित्त बुझ्दो जवाफ नआएको भन्दै कारबाही गरेका हुन्।
गुरागाईंका अनुसार कार्यालयमा जबर्जस्ती प्रवेश गर्न दिइएन, हाजिरी पुस्तिका नियन्त्रणमा लिइयो, गाडीमा ह्वील लक लगाइयो, भिडन्तमा संलग्नता देखिएकाे आधारमा निलम्बन गरिएको हो। तर, पाण्डेले भने आफूले कार्यालयको सुरक्षार्थ काम मात्र गरेको दाबी गरेका छन्।
उपप्रमुख सुनिता डंगोलसहित विभिन्न राजनीतिक दलबाट निर्वाचित वडाअध्यक्षहरू र कर्मचारीहरू शाहविरुद्ध खुला रूपमा उत्रिएका छन्। चैत २१ मा त उनीहरूले मिलेर गुरागाईंलाई कार्यालय प्रवेश गराए, जुन बेला नगर प्रहरी प्रमुख पाण्डेले अवरोध गरेका थिए।
डंगोलले समेत बालेनमाथि पटकपटक आक्रोश पोख्दै आएकी छन्। एमालेको युथ सेलिब्रेशन कार्यक्रममा त उनले ‘स्टन्ट गरेर देश बन्दैन’ भनेर तिखो कटाक्ष गरिन्। अहिले पनि सामाजिक सञ्जालमा उनी आलोचित छिन्।
गुरागाईंमाथि पुरानो बसपार्कस्थित काठमाडौँ भ्यू टावरको नक्सा प्रक्रिया अवैध रूपमा अघि बढाएको आरोप लागेको थियो। त्यसपछि शाहले उनीमाथि छानबिन थाले, जुनै कारण गुरागाईं र शाहबीचको सम्बन्ध बिग्रँदै गयो। तर संघीय मन्त्रालयले गुरागाईंलाई नै काम गर्न वातावरण मिलाउन पत्र पठायो, जसलाई शाहले अस्वीकार गरे।
५ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन। त्यसमाथि, प्रमुख प्रशासकीय अधिकृत नियुक्ति विवादका कारण तलब भुक्तानीदेखि अन्य सेवासुविधा समेत प्रभावित भएका छन्।

