


प्रतिनिधिसभा बैठक पुनः स्थगित, अब बिहीबार १ बजे बस्ने

काठमाडौं — प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि बस्न सकेन। प्रमुख राजनीतिक दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गर्दै भोलि (बिहीबार) दिउँसो १ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।
बुधबार दिउँसो १ बजे बोलाइएको बैठक दलहरूबीच सहमति नजुटेपछि दिउँसो ३:१५ बजेसम्मका लागि सारिएको थियो। तर, तोकिएको दोस्रो समयमा पनि सहमति जुट्न नसक्दा बैठक फेरि स्थगन गरिएको हो।
यसअघि मंगलबार पनि सदन सञ्चालन असहमतिका कारण बैठक बस्न सकेको थिएन। राजनीतिक दलहरूबीचको असमझदारी र अवरोधका कारण संसद् कार्यसूची अगाडि बढ्न नसकिरहेको अवस्था यथावत् देखिएको छ।
संसद् सचिवालयले जनाएको अनुसार अब प्रतिनिधिसभाको अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ। दलहरूबीच सहमतिको प्रयास जारी भए पनि प्रत्यक्ष रूपमा त्यसको टुंगो नलागेपछि नियमित बैठकहरू बारम्बार प्रभावित भइरहेका छन्।

