


भुग्देउमा यात्रुबस दुर्घटना : एक जनाको मृत्यु, तीन जना घाइते

काभ्रे- काभ्रेको पनौतीबाट बेथानचोक गाउँपालिका–६, भुग्देउतर्फ जाँदै गरेको यात्रुबस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
भुग्देउस्थित दर्के खोलामा यात्रुबस दुर्घटना हुँदा ६० वर्षीया कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको स्थानीय अनिल तामाङले जानकारी दिएका छन्।
घटनाका बेला बसमा पाँचजना मात्र यात्रु सवार थिए। घाइतेमध्ये बसका चालकको खुट्टामा चोट लागेको छ भने मृतक कृष्णकुमारी तिमल्सिनासँगै रहेकी उनको एक वर्षीया नातिनी संगम तिमल्सिनाको टाउकोमा चोट लागेको छ। त्यस्तै, कृष्णकुमारीकी बुहारी सगिता आचार्य तिमल्सिनाको खुट्टामा चोट लागेको बताइएको छ।
घाइतेहरूको स्थानीय पाँगु भुग्देउ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। प्रहरी टोली र एम्बुलेन्स घटनास्थलतर्फ आउँदै गरेको स्थानीय अनिल तामाङले जानकारी दिएका छन्।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

