


ललितपुरमा विद्युत्को पोलले च्यापिएर ५५ वर्षीय रमेश शाहीको मृत्यु

ललितपुर – ललितपुरको गोदावरी नगरपालिका–१४, सरस्वतीटार टोलमा आज दिउँसो पोल सार्ने क्रममा एक स्थानीयको ज्यान गएको छ। बाटो निर्माणका लागि जेसिबी प्रयोग गरी पोल सार्ने क्रममा असन्तुलित भई पोल ढलेपछि ५५ वर्षीय रमेश शाही पोलले थिचिएर घटनास्थलमै ज्यान गुमाएका हुन्।
बाँडेगाउँ प्रहरी वृत्तका प्रहरी निरीक्षक विक्रम केसीका अनुसार, जेसिबीले पोल राम्रोसँग अड्याउन नसक्दा दुर्घटना भएको हो। घटनापछि आक्रोशित स्थानीयबासीहरूले जेसिबीको सिसा फुटाएका थिए।
“घटनास्थलमा झन्डै ८०–९० जना स्थानीय जम्मा भएका थिए। हामीले स्थिति नियन्त्रणमा लिन प्रयास गर्यौँ,” प्रहरी निरीक्षक केसीले भने, “शवलाई परीक्षणका लागि पाटन अस्पताल पठाइएको छ।”
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। बाटो निर्माणका क्रममा लापरवाहीपूर्ण कामले जनधनको क्षति निम्त्याएको भन्दै स्थानीयबासीले दोषीमाथि कारबाहीको माग गरेका छन्।

