

आईजी नियुक्तिपछि एआईजी र डिआईजीमा बढुवा हुन तीब्र प्रतिस्पर्धा
४ एआईजीको लागि ११ डिआईजी र १३ डिआईजीको लागि २४ एसएसपी लबिङमा

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजी) धिरज प्रताप सिंहका ब्याचीहरु शुक्रबार रातिदेखि अनिवार्य अवकाशमा जाँदैछन् । सिंहसँगै प्रहरी अतिरक्त महानिरीक्षक (एआईजी)हरु सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जान लागेका हुन् ।
त्यस्तै उनीहरुसँगै तीनजना प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरु मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)द्धय जनक पाण्डे र उमाशंकर पञ्जियारले पनि अवकाश पाउनेछन् ।
हालका आईजीपी सिंहले नै अवकाश पाउने भएपछि सरकारले बसन्त कुवँरलाई नयाँ आईजीपी नियुक्त गरेको छ । आईजीपीको प्रतिस्पर्धामा कुँवरसँगै दिपक थापा, टेक प्रसाद राई, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य समेत प्रतिस्पर्धामा थिए । तर, कुवँरले बाजी मारेका छन् ।
प्रहरी संगठनले ३० औं नयाँ कमाण्डर पाएसँगै रिक्त एआईजी/डिआईजी पदमा प्रहरी प्रधान कार्यालयले बढुवाको तयारी गर्नेछ । गत बुधबार एआईजीको दज्र्यानी चिन्ह लगाएका कुवँर आईजीपी नियुक्त भएसँगै संगठनमा शनिबारदेखि ४ एआईजी र १३ डिआईजी पद रिक्त हुनेछ ।
रिक्त एआईजीको लागि एक दर्जन डिआईजीहरु प्रतिस्पर्धामा छन् । एआईजी बढुवाको दौडमा आईजीपी कुवँर र एआईजी थापासँगै भर्ना भएका डिआईजीहरु छन् । डिआईजी सन्दीप भण्डारीदेखि १७ औँ नम्बरकी किरण राणासम्म एआईजीका दाबेदार छन् ।
भण्डारीसँगै सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा एआईजीको दौडमा छन् । सरकारले उनीहरुमध्ये ४ जनालाई एआईजी बनाउनेछ ।
नेपाल प्रहरीमा एकजना प्रहरी महानिरीक्षक (आईजीपी) हुनेछन् । त्यस्तै प्रहरी नियमावलीअनुसार ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र २० जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) रहने व्यवस्था छ ।
डिआईजी बढुवामा मारामार
नयाँ आईजी नियुक्त भएसँगै संगठनमा १३ डिआईजी पद रिक्त छ । जसको लागि २०७७ वैशाख ९ गते, पुस २९ गते र २०७८ कात्तिक २९ गते एसएसपीमा बढुवा भएका तीन टोली प्रतिस्पर्धामा छन् ।
०७७ मा बढुवा हुने टोलीबाट वीरेन्द्र कुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरत बहादुर बोहरा, कुवेर कडायत, केदार ढकाल, रविन्द्र केसी, राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा र चन्द्रकुवेर खापुङ रहेका छन् ।
उनीहरुमध्ये वीरेन्द्र कुमार बस्याल र हृदय थापाले अवकाश पाइसकेका छन् भने बाँकी १० जना डिआईजीका दाबेदार हुन् । भट्टराई, बोहरा, कडायत, ढकाल र केसी १०८ टोलीका हुन् । उनीहरुका टोली ४ जना एआईजी भइसकेका छन् भने ८ जना डिआईजी छन् ।
आफ्नो टोली एआईजी भइसकेको अवस्थामा उनीहरु डिआईजीको स्वतः दाबेदार हुन् । यता बास्तोला, आचार्य, पोखरेल र ११० टोली हुन् भने खापुङ अझै जुनियर हुन् । खापुङ जतिबेला शक्तिको दुरुपयोग गर्दै एसएसपीमा बढुवा भएको आरोप छ । यसपटक पनि उनी सिनियरलाई उछिन्दै डिआईजी हुने दाउमा छन् ।
त्यसैगरी पुस २९ गते एसएसपी भएका कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेल पनि डिआईजी बढुवाको आकांक्षी हुन् ।
उनीहरुमध्ये कृष्णकुमार महत र गोविन्द कुमार साहले पनि अवकाश पाइसकेका छन् । त्यस्तै उमाशंकर पञ्जियार र जनकराज पाण्डेय आईजीपी सिंहका ब्याची भएकाले उनीहरु आज राति १२ बजेदेखि अवकाशमा जाँदैछन् ।
त्यस्तै ठकुरी १०८ टोलीका हुन् । उनी ११० को टोलीसँगै डिआईजी बढुवाको लागि प्रतिस्पर्धा गर्दैछन् । जसमा मैनाली, पोखरेल, सिंह, पन्त, लुइँटेल र मोहन पोखरेल ११० टोलीका हुन् । जतिबेला उनीहरु पनि १०८ टोलीका केही अधिकृतलाई पन्छाएर एसएसपीमा बढुवा हुन सफल भएका हुन् ।
यस्तै ०७८ को टोलीहरुबाट विकासराज खनाल, सुदीप राजभण्डारी, अनुराग कुमार द्धिबेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, धुव्रराज राउत र भोला बहादुर रावल डिआईजीको दौडमा छन् ।
जसमध्ये सुदीप राजभण्डारी र टिका बहादुर केसीले अवकाश पाइसकेका छन् । यता खनाल १०८ टोलीका हुन् । उनी संगठनमा पीडित बनाइएका अधिकृत हुन् । खनाललाई सुनकाण्डमा फसाइएको थियो ।
खनाल प्रहरी नायब उपरीक्षक (डिएसपी) र प्रहरी उपरीक्षक (एसपी) बढुवामा अघि भए पनि जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुख हुँदा उनलाई सुनकाण्डमा फसाइए पनि अदालतले उनलाई निर्दोष साबित गर्यो । जुनबेला उनलाई बढुवामा पछाडि पारिएको थियो ।
त्यसैले पनि खनाललाई डिआईजीमा बढुवा गरेर न्याय दिनुपर्ने संगठनभित्रै आवाज छ । कमाण्ड कन्ट्रोलमा समेत अब्बल रहेका खनालले डिआईजी बनाएमा केही न्याय मिलेको आभाष हुने अधिकांश प्रहरीहरुको बुझाइ छ ।
त्यस्तै राउत र रावल पनि १०८ टोलीका हुन् भने द्धिबेगी ११० का हुन् । योग बहादुर पाल र राजेन्द्र सिंह खड्का भने राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका हुन् । उनीहरु पनि डिआईजी बढुवाका आकांक्षी हुन् ।
माथिका मध्ये जो पहिला प्रहरी सेवामा प्रवेश गरेका अधिकृतहरु छन् उनीहरुलाई नै डिआईजी बढुवामा पनि पहिलो प्राथमिकता दिने सरकारको तयारी रहेको स्रोत बताउँछ । जसले गर्दा संगठनलाई फाइदा हुने बताइएको छ ।

