

त्यो कम्युनिस्ट जीन्दगीदेखि वाक्क भएका प्रल्हाद गिरी ‘पवन’

काठमाडौं– ‘लोकतन्त्र मास्ने कुरालाई समर्थन गर्न सकिन्न तर स्वभाव र आचरणका हिसाबले कम्युनिस्ट पार्टीभित्र नेता कार्यकर्तालाई संरक्षण गर्न सक्ने मान्छे केपी शर्मा ओली हुन्’, संवादको अन्त्यतिर प्रल्हाद गिरी पवन भन्दै थिए,‘माधव नेपालसँग पनि लामो संगत भएको छ, उनी सीमित बाहेकका आफूलाई सहयोग गर्ने कसैलाई पनि संरक्षण गर्न जान्दैनन्।’
उनले पुष्पकमल दाहाल प्रचण्डसँग पनि संगत गरे। दोस्रो संविधानसभाको चुनावमा त माओवादी नै भएका थिए। फेरि, उनी एमालेमा फर्किए र नवौं महाधिवेशनमा ओली कित्तामा उभिए। तर मधेसका विषयमा ओलीको निरन्तर आलोचना हुन थालेपछि उनी अर्को राजनीतिक धारमा जाने निर्णयमा पुगेका थिए।
गिरीको भूमिगत नाम पवन थियो। संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाको नेतृत्व गर्दाखेरी यहि नामले उनले हिंसात्मक बाटोलाई पनि केही समय राजनीतिकरण गरेका थिए। तर उनका जीवनका स्वर्णिम समय भने कम्युनिस्ट राजनीतिमा बिताएका थिए। ४० बर्षसम्म उनले तत्कालिन एमाले राजनीतिमा समय बिताए। ‘माया लाग्छ, नबिग्रियोस कम्युनिस्ट पार्टी भन्ने लाग्छ’, उनी भन्छन्,‘मेरो जीवनको एउटा उर्जावान समय त्यस पार्टीमा लगानी छ।’
पर्साे जगरनाथपुर गाउँपालिका– ६, माधोपुरका गिरी ७० बर्षका भए। तर, उनको जोश र स्वास्थ्यका हिसाबले भने त्यस्तो देखिँदैनन्। प्रदेश २ मा अहिले प्रदेश सभाका सदस्य रहेका गिरी भन्छन्,‘लामो समय कम्युनिस्ट भइयो तर जुन हिसाबले त्यहाँभित्र व्यवाहार हुन्छ त्यसले वाक्क बनायो।’
तत्कालिन एमालेको पर्सा जिल्ला सचिव भएका बेला मदन भण्डारीसँग उनको भेट र वार्तालाप हुन्थ्यो। त्यसैले पनि होला उनका जीवनमा दुई मात्र राजनीतिक आदर्शका व्यक्तित्व छन्– नेपालका पहिलो प्रधानमन्त्री भिमसेन थापा र नेतामा भण्डारी।
‘म अरु वीपी कोइरालालगायत कसैलाई पनि मान्दिन, मदन भण्डारी जस्तो नेता यो देशमा बिरलै जन्मिन्छ, त्यो तेज र विचारको खानी मैले पाउँदिन’, उनी सुनाउँछन्,‘जनताको बहुदलीय जनवाद के होला त्यो अर्को कुरा हो तर मदन भण्डारीको पुनर्जन्म हुन सक्तैन।’
भारतको बिहारबाट प्रबेशिका परीक्षा उत्तीर्ण गरेका गिरीले त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र तह गरेका थिए। उनी जागिरे जीवनमा हुँदा राजनीतिमा सक्रिय बने तर त्यसअघि ०२५ सालमा नै उनलाई तत्कालिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल)को विचारले तान्यो।
कारण थियो– वर्गीय उत्थानको विषय, गरिब र निमुखाको पक्षमा आवाजको बुलन्दीपन। उनले यो विचारलाई निरन्तरता दिए।
चुनावका लागि २५ हजार ५० हजार जम्मा गर्नुपर्ने भन्ने कुरा आएपछि उनी कम्युनिस्ट राजनीतिबाट अलिक निराश हुन थाले। राजनीति पनि गर्नु, पछि सडकमा पुग्नेगरी घरजग्गा वेचेरै त कसरी गर्नु?
सांगठनिक जीवन २०३१ सालबाट सुरु गरेको गिरीले सुनाए। वीरगञ्जस्थित क्याम्पसमा उनी नेकपाका नेता माधवकुमार नेपालका सहपाठी थिए। महाराजगंजमा दुइ बर्षे स्वास्थ्य तालिम लिएर उनी पर्सा जिल्लामा हेल्थ पोस्टमा इन्चार्जको रुपमा सरकारी जागिरे भए। यो काम उनले पोखरा, सुनसरीमा पनि गरेका थिए।
गिरी पोखरामा रहँदा धेरै कम्युनिस्ट नेताको सेवामा लागे। सुनसरीमा हुँदा झापा आन्दोलनलाई नजिकबाट बुझ्ने मौका पाए, उनले। २०३२ साल देखि २०३४ साल सम्म वीरगञ्जको जेलमा दुई बर्ष सजाय काटेर बाहिर आएपछि उनको सरकारी जागिर पनि गईसकेको कारण उनी पोखरा गए । त्यहाँ एक बर्ष पछि प्रशिक्षण केन्द्रमा फेरी प्रशिक्षकको रूपमा उनले सरकारी जागिर पाए ।
‘हेल्थ पोस्टमा पनि काम गरेको अनुभव थियो। एक पटक सीपी मैनाली बेगनास तालनजिक लड्नुभयो जसको उपचारमा मै सक्रिय भएँ। भूमिगत अवस्थामा बामदेव गौतमलगायतका नेताहरूसँग पनि राम्रोसँग संगत भयो’, गिरीले सुनाए।
पोखराबाट उनी पर्सामा जिल्लामा आई राजनीतिमा अझ सक्रिय भए। माले राजनीतिमा उनको सक्रियता बन्यो। पार्टी नेकपा मालेबाट एमाले भयो । उनलाई एमालेको पर्सा जिल्ला कमिटीको सचिव बनाईयो । २०५१ सालमा भएको मध्यावधि चुनाबमा पनि उनी उठे । पर्सा जिल्लाको तत्कालिन संसदीय क्षेत्र नम्बर ३ बाट उनले प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेबाट टिकट पाए पनि जित निकालेनन्। तर लोकप्रिय मत आयो। २०५६ सालमा २१ हजार मत प्राप्त गरे पनि उनलाई हराइयो। भन्छन्,‘लोकप्रिय मत ल्याएर हारेको मध्ये विष्णु पौडेल र मेरो उस्तै रहेछ।’
चुनावका लागि २५ हजार ५० हजार जम्मा गर्नुपर्ने भन्ने कुरा आएपछि उनी कम्युनिस्ट राजनीतिबाट अलिक निराश हुन थाले। राजनीति पनि गर्नु, पछि सडकमा पुग्नेगरी घरजग्गा वेचेरै त कसरी गर्नु? भन्ने उनमा सोच आयो। ‘नेताहरू टिकट दिने र चुनाव लडाउने विषयमा विग्रँदै गए यसैले म विस्तारै एमालेमा निष्क्रिय हुन थालें’, उनले सुनाए। २०६१ सालमा नेकपा एमाले पार्टी परित्याग गरे, गिरीले।
जीवनमा राजनीति भन्दा केही नगरेका उनको युटर्न मधेस आन्दोलनबाट सुरु भयो। २०६३ साल माघमा स्वतन्त्र तराई नागरिक समाज बनाएर उनी त्यसको संयोजक भई मधेस आन्दोलनमा सक्रिय भएका थिए।
अहिले संघीय समाजवादी फोरम नेपालबाट प्रदेश सभाको निर्वाचनमा पर्सा ३ (ख) बाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने उनी भन्छन्,‘जनता समाजवादी पार्टीको राजनीतिमा सक्रिय छु। मेरो त काम भन्नु नै अब राजनीति र सेवा हो।’
प्रतिनिधि सभा विघटनमा उनको चित्त बुझाई छैन। तर अब विकल्प पनि चुनाव मात्रै रहेको ठान्ने गिरी भन्छन्,‘कांग्रेस, जसपा सबै चुनावमा जान्छन्। हुनुपर्ने ५ बर्षमा थियो, साढे ३ बर्षमै जानुपर्ने भयो।’

