सुपरम्यान बन्ने हैन त ? ल जाऔं धुलिखेल !


भूगोल, इतिहास र सांस्कृतिक विविधताले चुलिएको नेपालमा पर्यटनका लागि मनग्य गन्तव्य छन् । जुन गन्तव्यलाई एउटा सपनाको रुपमा लिएर पछ्याउँदै प्रकृतिमा झुम्नेहरुको संख्या पनि विगतको तुलनामा बढ्दो छ । त्यसमा पनि वर्तमान समयमा बढ्दै गएको साहसिक पर्यटनको क्रेजलाई हेर्दा यसले नेपालको अस्तित्वलाई राम्रै बुझाउँदै गएको प्रष्ट देख्न सकिन्छ । भौगोलिक बनावटले एड्भेन्चरका लागि फेवर गरेको नेपालमा विश्वकै दोश्रो ठूलो बन्जि, विश्वमा बिरलै पाइने प्राकृतिक प्याराग्लाइडिङ्ग र विश्वकै सबैभन्दा लामो नदिमा ¥याफ्टिङको मज्जा लिन सकिन्छ ।

एड्भेन्चरकै कुरा गर्ने हो भने नेपालमा थप अन्य स्रोतहरु पनि रहेका छन् जसको उदाहरणको रुपमा जिपलाइनलाई लिन सकिन्छ । जिपलाइन धेरैले नसुनेको नाम हुनसक्छ वा नाम सुनेपनि यसको महत्वको ज्ञात नभएको हुनसक्छ । तर हाल राजधानीकै छेउछाउ जिपलाइन खुल्न थालेका छन् जसले गर्दा यसको अस्तित्वलाई सबैले बुझ्ने क्रम बढ्दो छ ।

राजधानीबाट नजिकको जिल्ला काभ्र्रेको पर्यटकीय नगरी धुलिखेलमा पनि जिपलाइन सेवा उपलब्ध रहेको छ । २०७५ फागुनदेखि सञ्चालनमा अएको जिपलाइन कोभिडको कारणले लगभग ६ महिना बन्द रहेता पनि हाल भने खुल्ला रहेको छ । काठमाडौंबाट अरनिको राजमार्ग हुँदै धुलिखेल बसपार्क पुगेपछि सोही राजमार्ग हुँदै ४ किलोमिटर अघि बढ्दा धुलिखेलको थाक्ले डाँडा पुगिन्छ, जहाँ जिपलाइन रहेको छ । कालोपत्रे ठूलो सडक हुनाले जिपलाइनसम्म पुग्नलाइ कुनैपनि समस्या छैन र सार्वजनिक तथा निजी जुनसुकै यातायातको माध्यमबाट पनि सहजै पुग्न सकिन्छ ।

धुलिखेल नगरपालिकाको थाक्ले डाँडाबाट टेकअफ हुने जिपलाइन, पाँचखाल नगरपालिकाको खावामा पुगेर ल्यान्डिङ्ग हुन्छ, जसको लम्बाई ११०० मिटरको रहेको छ । यसको समुन्द्रि सतहदेखि १३०० मिटर उचाईबाट शुरु भएर १२०० मिटरको सतहमा अन्तिम केन्द्र पर्दछ । लगभग ७ करोडको लगानीमा सञ्चालनमा आएको यस परियोजनामा क्लासिक, सुपरम्यान र टेण्डम (जोडि) गरी तिन प्रकारका जिपलाइन खेल्न सकिन्छ । जिपलाइनसँगै ट्री अप (रुख माथिनै बसेर खान मिल्ने गरी बनाइएको) रेस्टुरेन्ट पनि छ । खावास्थित ल्याण्डिङ् स्टेशनमा ८ फरक कोर्स सहित एड्भेन्चर पार्क छन्, जहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्विच्याचु लगायतका हिमाल समेत नजिकको दुरीबाट अवलोकन गर्न सकिन्छ ।

पर्यटन बिकास र उत्थानलाई मध्यनजर गरी व्यवसाहिकताको हिसाबले सञ्चालनमा ल्याइएको यस जिपलाइनमा क्लासिकको रु. २५००, सुपरम्यानको रु. ३५०० र टेण्डम (जोडी) को रु. ४५०० लाग्छ भने बिशेष अवस्थालाई हेरेर छुटको व्यवस्था पनि रहेको कुरा यसै जिपलाइनका सञ्चालक एवम् वल्र्ड वाइड एड्भेन्चर प्रा.लि. का अध्यक्ष केदार थापाले बताउनुभयो । साथै फोटो तथा भिडियोको लागि क्लासिक र सुपरम्यानको लागि रु. ७०० र टेण्डम (जोडी) को लागि रु. १००० लाग्ने कुरा पनि उहाँले जानकारी दिनुभयो ।

सुपरम्यानमा एकजना मात्रै भुइँतर्फ फर्किएर सुतेको अवस्थामा जिपलाईन खेल्न सकिन्छ भने क्लासिकमा पनि एकजना तर कुर्सीमा बसे जसरी जिपलाईन खेल्न सकिन्छ । त्यसैगरी टेण्डम अर्थात जोडीमा भने दुईजना मानिसको जोडिमा क्लासिककै जसरी जिपलाईन खेल्न सकिन्छ ।

११०० मिटरको जिपलाइनमा फ्लाइङको गति प्रतिघण्टा ६० देखि अधिकतम ९५ किलोमिटरको हुने प्राविधिकले बताएका छन् । बढीमा १ मिनेट २० सेकेण्ड जिपलाइनको आनन्द लिन सकिने यो साहसिक खेलको उत्कृष्ट पक्ष भनेको सुपरम्यान हो ।

युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भई अस्ट्रिया र भारतीय प्रविधिमा आधारित जिपलाइन सञ्चालनका लागि दुईजना भारतीय प्राविधिकसहित २२ जनाको टोली छ । समय समयमा भोटेकोशीको बञ्जीजम्पको निरीक्षण गर्दै आएका यी प्राविधिकले नियमित जिपलाइनको प्राविधिक परिक्षण गर्ने गरेका छन् ।

प्रतिक्रिया