

टोक्यो ओलम्पिक रद्द नहुने निश्चय

काठमाडौं – जापान सरकारले टोक्यो ओलम्पिक आयोजना गर्न दृढ निश्चय देखाएको आयोजकहरूले शुक्रवार बताएका छन् । सन् २०२० मा हुनुपर्ने ओलम्पिक कोरोनाभाइरसका कारण स्थगित भएर सन् २०२१ मा गर्ने सहमति बनेको थियो ।
तर कोरोना महामारी नियन्त्रणमा नआएकाले आयोजना पूरै रद्द गरिन सक्ने भनी समाचार प्रकाशित भएपछि जापान सरकारको निश्चय सार्वजनिक भएको हो ।
शुक्रवार टाइम्स अफ लन्डन पत्रिकाले जापानको सत्तारूढ गठबन्धनका एक वरिष्ठ सदस्यलाई नाम नलिइकन उद्धृत गर्दै महामारीका कारण ओलम्पिक आयोजना गर्न नसकिने निष्कर्ष निकालेको खबर दिएको थियो । तर जापानी अधिकारीहरूले यस खबरको तत्कालै खण्डन गरे ।
टोक्यो २०२० आयोजकहरूले एक बयान जारी गरेर ओलम्पिक आयोजन गर्ने दृढनिश्चय प्रधानमन्त्री योशिहिदे सुगाले गरेको बताए । पूर्व सतर्कता अपनाएर ओलम्पिक आयोजना गर्ने विषयमा बैठकहरू चलिरहेको जानकारी पनि उनले दिए ।
शुक्रवार बिहान जापानी संसदमा बोल्दै सुगाले सुरक्षित ओलम्पिक समारोह आयोजनका लागि सबैसँग मिलेर काम गर्ने बताए ।
एजेन्सी

