कांग्रेस महाधिवेशन : ‘दक्षिण र पश्चिमा’ ध्रुवीकरणको लेखाजोखा


काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अर्को निर्णय नभए आगामी ४ महिनामा हुँदैछ । महाधिवेशनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले निर्धारण गरेको संघीय संरचना बमोजिम पार्टीको आठ तहको संगठनात्मक संरचना र नेतृत्व स्थापित गर्ने छ । तथापी व्यवहारिक कारण पनि चार महिनामा महाधिवेशन हुने बिल्कुल सम्भावना छैन ।

महाधिवेशनले २१ औं शताब्दीको डिजिटल युग सुहाउँदो अवसरलाई ग्रहण गर्न र चुनौतिलाई सामना गर्न कस्तो राजनीतिक, आर्थिक नीति लिने भन्ने विषयमा नेतृत्वको ध्यान गएको पाइन्न । पार्टीको नेतृत्व लिइरहेका र चाहना राख्नेहरुले पनि पार्टीको नीति भन्दा नेतृत्वलाई बढी प्राथमिकता दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले समेत पार्टीको आगामी १४ औं महधिवेशनले कस्तो नीति लिने भन्ने विषयमा कुनै नयाँ दृष्टिकोण दिएका छैनन् र सम्भवत परम्परागत दृष्टिकोण नै प्रस्तुत गर्लान् । बरिष्ठ नेताको दाबी गर्ने पूर्वकार्यवाहक सभापति रामचन्द्र पौडेल समेत नीतिलाई भन्दा नेतृत्वलाई नै प्राथमिकतामा राखेका छन् । त्यसैले पौडेलले भन्ने गरेका दुई प्रसंग नै काफि छन् – एउटा ‘म नै कोइराला परिवारको सदस्य हुँ’, अर्को ‘आगामी फागुन ७–१०मा महाधिवेशन सम्पन्न गर्न नयाँ प्रतिनिधि चयन गर्न ढिलाई भए पुरानै महाधिवेशन प्रतिनिधिबाट महाधिवशेन गरौं ।’

सभपाति देउवाले आफू सभापतिमा पुनः उम्मेदवार बन्ने संकेत दिएका छन् । त्यसैले सभपाति देउवा निकटका उपसभापति विमलेन्द्र निधिले सार्वजनिक रुपमै भन्न थालेका छन् ‘म सभापतिजीले समर्थन गरेपछि सभापतिमा उम्मेदवारी दिन्छु ।’ निधिको यो भनाईबाट प्रष्ट हुन्छ कि – सभपाति देउवाले आन्तरिक रुपमा पुनः नेतृत्वको दाबी गरिरहेका छन् ।

सभापति देउवाले १३ औं महाधिवेशनमा म सभापतिको लागि अन्तिम पटक भनेर मत मागेका थिए । त्यसैले पनि देउवाको समूहका उत्तराधिकारीको रुपमा रहेका निधि सभपातिको उम्मेदवारीको तयारी भित्र भित्रै गरिरहेका छन् ।

निधिले सभापतिको दावी १४ औं महाधिवेशनमा गर्लान भन्ने विषयमा देउवालाई पूर्वजानकारी थियो । त्यसैले उनले दुई वर्षअघि मधेश केन्द्रीत राजनीतिमा अलिक बढी स्थापित भएका पार्टीका दोश्रो तहका निधिलाई काउन्टर दिने गरी विजयकुमार गच्छदार र उनले नेतृत्व गरेको फोरम लोकतान्त्रिक पार्टीलाई कांग्रेसमा विलय गरे ।

गच्छदार पार्टी उपसभापति मनोनित हुनु  र संसदीय दलको उपनेता मनोनित भएबाट देउवा पार्टी संगठनमा आफूलाई बलियो सहयोगीको रुपमा गच्छदारलाई साथमा लिन चाहेको प्रष्ट हुन्छ ।

देउवाले राप्रपाका असन्तुष्ट नेता सूर्यबहादुर केसीदेखि सुनिलबहादुर थापा र तत्कालिन राजपा महासचिव जंगीलाल रायदेखि फोरमका नेता अभिषेकप्रताप साहसम्मलाई कांग्रेसमा भित्र्याइसकेका छन् ।

देउवा राष्ट्रिय राजनीतिमा लोकप्रीय नभए पनि पार्टी संगठनमा आफ्नो शक्ति र पकट झन जमाएर बसेका छन् । देउवालाई पुन सभापतिमा उठ्नका लागि आयातित नेता र नवप्रवेसीले बिनासर्त समर्थन गर्ने निश्चित छ । त्यसैले देउवा पार्टी संगठन भित्र शक्ति आर्जन गर्न थप मिहनेत गर्नुभन्दा विगतमा आफूले प्राप्त गरेको संगठनात्मक शक्तिलाई सुरक्षीत राख्न चाहन्छन् ।

देउवालाई उनकै सारथी निधिले धोका दिन छाँट देखेपछि बीपीका कनिष्ठ पुत्र डा. शशांक कोइरालालाई साथमा लिएर आफू पार्टी नेतृत्वमा स्थापित हुन चाहन्छन् । डा. शशांकले आफ्नो असन्तुष्ट गुटका नेताहरु रामचन्द्र पौडेलदेखि दाजु डा. शेखर कोइराला र प्रकाशमान सिंहलाई समेत मनाउन सकिरहेका छैनन् ।

शशांकलाई पार्टी नेतृत्व लिनका लागि सबैभन्दा बलियो बाधक भनेकै केशव कोइरालाका छोरा डा. शेखर कोइराला हुन् । उनी उमेर सात दशक काटि सकेका छन् ।

शेखरलाई कोइराला परिवारकी अर्की सदस्य गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाताले समर्थन गरेकी छन् । शशांकलाई अर्का नेता पौडेलले अन्तिम पटक सभापतिमा समर्थन गरिदिनु पर्यो भनीरहेका छन् । त्यसैले शशांक आफ्नो पुरानो गुटबाट यतिवेला पार्टी नेतृत्वमा पुग्न वा संगठनमा शक्ति जमाउन रामचन्द्र र शेखरबाट सम्भव नहुने देख्छन् ।

शशांकले सभापति देउवालाई महाधिवेशनमा हराउन सक्ने क्षमता र ल्याकत आफूसँग मात्र रहेको भनेर पार्टीमा ठूलै पासा फालेका छन् । उनको यो अभिव्यक्तिमा केही दम छ, तर पुरै सत्य भने होइन् ।

कारण शशांकले १३ औं महाधिवेशनमा महामन्त्री विजयी हुँदा ५० प्रतिशत बढी मत ल्याएका होइनन उनलाई ससुरा–ज्वाईं अर्जुननरसिंह केसी र गगनकुमार थापाले टक्कर दिएका थिए । त्यसैले शेखर र रामचन्द्र झन साथमा नरहँदा सभापति जित्न सजिलो छैन् । तर पुरानो संस्थापन पक्षमा शेखर र रामचन्द्रको भन्दा जनाधार र लोकप्रीयता भने बीपी पुत्रकै हैसियतले पनि उनले आममहाधिवेशन कार्यकर्ताको समर्थनको लाभ स्वत लिने निश्चित छ ।

सभपाति देउवाले आफ्ना उत्ताराधिकार निधिले निहुँ खोजेपछि बीपी पुत्र सशांकलाई साथमा  लिएर महधिवेशनको मैदान उत्रने एउटा बैकल्पिक योजनामा छन् । बुढानिलकण्ठ स्रोतका अनुसार देउवाले महाधिवेशनमा आफूलाई डा. शशांकले समर्थन गरेमा उनलाई चुनाव जितेको छ महिनापछि कार्यबाहक सभापति दिने ।

देउवाले आफ्नो आकर्षक प्रस्तावलाई शशांकले अश्वीकार गरेमा पौडेललाई भावि राष्ट्रपतिको गोल्डेन अफर गर्नेछन् । शशांक र पौडेलले आफ्नो अफलाई अस्वीकार गरेमा देउवाले तेश्रो बिकल्पको रुपमा ‘थर्ड पोल’ भन्दै बेग्लै गुट संचालन गर्दै आएका कृष्णप्रसाद सिटौलालाई अघि सार्ने भएका छन् ।

बुढानिलकण्ठ श्रोतका अनुसार देउवाले महाधिवेशनमा सिटौला समूहले आफूलाई समर्थन गरेमाम महामन्त्रीमा गगनकुमार थापालाई, उमाकान्त चौधरी र प्रदीप पौंडेललाई सहमहामन्त्रीमा जिताउन सहयोग गर्ने अफर राखेका छन् ।

केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँ, सांसद भिमसेनदास प्रधानले सभापति देउवालाई यो प्रस्ताव मनाउन दबाब दिइरहेका छन् । तेश्रो बिकल्पको विषयमा सिटौलालाई महाधिवेशनको ६ महिनापछि पार्टीको नेतृत्व दिनेसम्मको प्रस्तावको विषयमा छलफल भएको स्रोतले बतायो ।

यता, आफ्नै गुटका सभापति देउवाले आफूलाई पन्छाएर डा. शशांक र सिटौलासँग भेटघाट र छलफल गरेपछि उपसभापति बिमलेन्द्र निधिले पनि दुई वटा बिकल्पको रुपमा योजना अघि सारेका छन् । निधिको पहिलो प्रस्ताव कृष्णप्रसाद सिटौलाको गुटसँगको कार्यगत एकता र सहकार्य छ भने दोश्रो नेतात्रयको पुत्रको नारा दिएका छन् । त्यसका लागि उन बीपी पुत्र शशांक, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधि पुत्रको रुपमा आफूलाई अघि सारेका छन् ।

निधिलाई सिटौलासँग मिल्नको लागि तराई मधेशका अधिकांस नेताले दबाब दिएका छन् । तर, प्रकाशमान सिंहले आफूलाई सभापति स्वीकार गरेमा भावी प्रधानमन्त्रीको रुपमा विमलेन्द्रलाई अघि सार्ने प्रस्ताव अघि सारेका छन् । निधि र सिटौलालाई एकै ठाउँमा उभ्याउनको लागि मित्र राष्ट्र भारतको दबाब रहेको छ ।

भारतीय कांग्रेस आइ र बिजेपीको समर्थन आफूलाई रहेको भनेर निधिले गोप्य छलफल र वार्तामा बताएपछि देउवाको यतिवेला सातो गएको छ ।

निधिको यस्तो प्रचारले डा. शेखर कोइराला सबैभन्दा बढी तर्सिएका छन् । उनले आफू भारतीय पक्षको विश्वासिलो नेताको रुपमा दाबी गरेका छन् । तर दक्षिणले डा. शेखरलाई पत्याएको छैन । त्यसको खास कारण हो सुजाताको नेतृत्वमा गठन भएको सुस्मा मेमोरियल ट्रष्टको नाममा चिनियाँ सहयोगमा नेपालमा संचालिन परियोजनामा शेखर सहभागिता ।

उता अमेरिकी र युरोपियन युनियनको समर्थन र सहयोगमा देउवालाई कुनै हालतमा सभापति बनाउन दबाब परेको छ । यस्तो दबाब सभापति देउवालाई डा. आरजु राण देउवा र डा. प्रकाशशरण महतमार्फत आउने गरेको छ । उता शशांक कोइरालालाई नेतृत्वमा ल्याउनको लागि भने अमेरिकामा पढेर आएका नेपालको पछिल्लो राजनीतिक गतिविधिमा चतुर खेलाडी भनेर चिनिएका डा. मिनेन्द्र रिजालले लविङ गरिरहेका छन् ।

डा. शेखरले सिटौलाले आफूहरुको समूहमा आएर देउवालाई दबाब दिन हस्ताक्षर अभियानामा साथ नदिए पनि कुनै अर्थ नरहने बताए पछि सिटौला जसरी पनि शेखरलाई पार्टीको नेतृत्वमा छिर्न नदिने दाउमा छन् । बरु सिटौलाले शेखरको सट्टामा सुजातालाई अघि बढाउने भन्दै पौडेल, शेखर र शशांकलाई पन्छाएर देउवा वा निधिसँग सहकार्य, एकता वा गठबन्धन  गरेर अघि बढ्ने देखिन्छ ।

प्रतिक्रिया