कोरोना भाइरस उपचारमा प्रयोग गरिएको रेम्डेसिभिर माथि विश्व स्वास्थ्य संगठन प्रश्न


बीबीसी– विश्व स्वास्थ्य सङ्गठनका अनुसार रेम्डेसिभिर नामक औषधिको कोभिड-१९ उपचारमा प्रभावकारिताबारे गरिएको क्लिनिकल परीक्षणमा बिरामीको स्वास्थ्यमा त्यसले खासै कुनै सुधार ल्याउन नसकेको पाइएको छ।

फाइन्यान्शल टाइम्समा प्रकाशित विवरणमा डब्ल्यूएचओले यो नतिजाले उक्त रोगको उपचारमा विद्यमान उपलब्ध औषधिहरूको प्रयोगको आशामा धक्का लागेको बताएको छ।

उक्त परीक्षणमा रेम्डेसिभिर तथा अन्य तीन औषधिको अस्पतालमा भर्ना भएका ११,००० बिरामीमा प्रयोग गरिएको थियो।

ती कुनै पनि औषधिले बिरामीको जीवित रहने सम्भावना वा उनीहरूलाई भेन्टिलेटर आवश्यक पर्ने नपर्ने अनि कति लामो समय अस्पतालमा बस्नुपर्ने भन्नेबारे खासै प्रभाव पारेको देखिएन।

तर रेम्डेसिभिर औषधि निर्माता कम्पनी गिलियड साइन्सेसले प्रतिक्रिया दिँदै उक्त परीक्षणको आँकडा मिल्दो नदेखिने दाबी गरेको छ।

सो अध्ययनबाट कुनै निष्कर्ष निकाल्न सकिनेमा पनि उसले संशय व्यक्त गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड उपचारका लागि लिएका औषधिमध्ये रेम्डेसिभिर पनि एक थियो।

पहिलेको परीक्षणले जगाएको थियो आशा

गत एप्रिलमा अमेरिकामा गरिएका परीक्षणमा रेम्डेसिभिरमा कोरोनाभाइरस सङ्क्रमणबाट निको पार्ने क्षमता भएको स्पष्ट आधार पाइएको अमेरिकी अधिकारीहरूले बताएका थिए।

विश्वभरि अस्पतालहरूमा रेम्डेसिभिर प्रयोग गर्दा बिरामीमा कोरोनाभाइरस सङ्क्रमण भएपछि विकसित लक्षणहरू हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरिएको थियो।

रेम्डेसिभिरको विकास इबोलाको उपचारको लागि गरिएको हो।

यो एन्टीभाइरल औषधि हो र यसले शरीरमा भाइरसलाई बढ्न चाहिने एन्जाइमलाई निष्क्रिय बनाउँछ।

एप्रिलको अनुसन्धान नतिजापश्चात् विश्वभरि नै अस्पतालहरूले कोभिडको उपचारमा रेम्डेसिभिरको प्रयोग गर्दै आएका थिए।

कोरोनाभाइरसको विश्वव्यापी महामारी सुरु भएपछि यसविरुद्ध प्रयोग गर्न सकिने पहिलोमध्येको औषधिको रूपमा रेम्डेसिभिरको उपयोगिता पत्ता लागेको थियो।

पछि जुन महिनामा ब्रिटेनमा गरिएको अनुसन्धानमा सस्तो र सुलभ रूपमा पाइने डेक्सामेथासन नामक स्टेरोइड औषधिले कोभिडबाट ज्यान जोगाउन सक्ने पाइएको थियो।

कोभिडका कारण गम्भीर अवस्थामा पुगेका बिरामीमा अहिले डेक्सामेथासनको धेरै प्रयोग हुने गरेको र यसले धेरैको ज्यान जोगाइरहेको बताइन्छ।

प्रतिक्रिया