

हिउँदमा केटु हिमालको सफल आरोहण गर्दै नेपाली टोलीको नयाँ विश्व कीर्तिमान

दश नेपाली पर्वतारोहीको एक टोलीले नयाँ विश्व कीर्तिमान कायम गर्दै हिउँदमा विश्वको दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहण गरेका छन्।
टोलीका सदस्य निर्मल पुर्जाले स्थानीय समयानुसार शनिवार बेलुकी ५ बजे शिखरमा पुगेको बताए। यो हिउँदमा उक्त हिमालमा दर्जनौँ पर्वतारोहीहरू उक्त विश्व कीर्तिमान कायम गर्ने प्रयासमा थिए।
आरोहण दलमा १० नेपालीहरू सुरुमा फरक(फरक दलमा समावेश भएको भए पनि पछि नेपालको नाममा कीर्तिमान कायम गर्न एकै दल बनाएका थिए।
सगरमाथाभन्दा २०० मिटर मात्रै कम उचाइको केटु पाकिस्तान चीन सिमानामा रहेको काराकोरम हिमश्रृङ्खलामा अवस्थित छ।
संसारमा भएका ८,००० मिटरभन्दा अग्ला १४ शिखरमध्ये केटु हिउँदमा आरोहण गर्न सबैभन्दा कठिन मानिन्छ। केटुको सबैभन्दा गार्हो स्थानको रूपमा सन् २००८ मा ११ जना पर्वतारोहीको मृत्यु भएको एउटा साँघुरो स्थान रहेको छ।
सफल आरोहीमध्ये एक निर्मल पुर्जाले इन्स्टाग्राममा शिखरको तस्बिर राखेका थिए भने उनीहरूको सफलतालाई व्यवस्थापक सेभेन समिट ट्रेक्सले पनि पुष्टि गरेको छ।

पुर्जाले लेखेका छन्स् “असम्भव सम्भव बन्यो। मानव जातिका लागि इतिहास बन्यो। नेपालका लागि इतिहास बन्यो।”
त्यो क्षण विशेष रहेको लेख्दै उनले भने “आरोहण दलका सबै सदस्यले शिखरभन्दा १० मिटर तल कुरेर समूहका रूपमा नेपाली राष्ट्रिय गान गाउँदै शिखरमा पाइला टेकेका हौँ।”
शिखरमा पुग्ने १० नेपालीहरूमा पुर्जा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जेन शेर्पा, पेम छिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङ्मा जी, दावा तेन्जीन शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन्।
सन् १९८७/८८ मा पहिलो प्रयास गरिएपछि केटुको शिखरमा हिउँदमा पुग्ने थोरै मात्रै प्रयास भएका थिए। यस अघिसम्म ७,६५० मिटरभन्दा माथि कोही पुगेका थिएनन्।
नेपालका शेर्पाहरू हिमाल चढ्न खप्पिस मानिनुका साथै विदेशी पर्वतारोहण टोलीको सफलताका लागि महत्त्वपूर्ण मानिन्छन्।
“दशकौँसम्म नेपालीहरूले विदेशीहरूलाई शिखरमा पुर्याउन सहयोग गरे तर हामीले अहिलेसम्म पाउनुपर्ने पहिचान पाएका छैनौँ,” कामिरिता शेर्पाले समाचार संस्था एएफपीलाई बताए।
“आज १० नेपालीले केटुमा इतिहास बनाएको र आफ्नो वीरता र शक्ति देखाएको सुवर्ण दिन हो,” २४ पटक सगरमाथा शिखरमा पुगेका शेर्पाले भने।
नेपालीको दलको सफलताको समाचारसँगै एक स्पेनी पर्वतारोहीको मृत्युको विवरण पनि आएको छ।
सगरमाथासहित विश्वका सात ८,००० भन्दा अग्ला हिमाल चढेका ४९ वर्षीय सेर्गी मिङ्गोटे आधार शिविर फर्कँदै गर्दा चिप्लेर लडेका थिए।
उनी अक्सिजनविना केटु चढ्ने प्रयास गरिरहेका थिए तर धेरै थाकेपछि आरोहण बीचमै त्यागेर फर्किरहेका थिए।
बीबीसी

