
पाकिस्तानमा १७ वर्षीया टिकटक स्टारको गोली हानेर हत्या, ‘अनर किलिङ’ को आशंका
इस्लामाबाद, पाकिस्तान — पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया इन्फ्लुएन्सर तथा टिकटक स्टार सना युसुफको गोली हानी हत्या गरिएको छ। घटनास्थल इस्लामाबादको जी–१३ सेक्टर रहेको बताइएको छ।
सना युसुफ आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी हुन्। प्रारम्भिक जानकारीअनुसार, एक संदिग्ध व्यक्ति पाहुना बनेर घरमा प्रवेश गरेको र उनलाई दुई गोली प्रहार गरेर फरार भएको बताइएको छ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, घटनाअघि सना उक्त व्यक्तिसँग घरबाहिर केहीबेर कुराकानी गरिरहेकी थिइन्। त्यसपछि ती व्यक्ति घरभित्र पसेर गोली चलाएका थिए।
घटनापछि प्रहरी घटनास्थल पुगेको छ र अनुसन्धान सुरु गरेको छ। हालसम्म कसैलाई पक्राउ गरिएको छैन। अनर किलिङ (परिवार वा समाजको इज्जतको नाममा हत्या) को आशंका गरिएको छ। यद्यपि प्रहरीले यसलाई व्यक्तिगत विवाद, आपसी रञ्जिश वा अन्य कारणबाट पनि हुन सक्ने भन्दै सबै कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।
सना युसुफ सामाजिक सञ्जालमा निकै सक्रिय र लोकप्रिय थिइन्। इन्स्टाग्राममा करिब ४.९२ लाख फलोअर्स रहेका थिए। उनले महिला अधिकार, सांस्कृतिक पहिचान तथा सामाजिक सकारात्मक सन्देशहरू समेटिएका सामग्रीहरू शेयर गर्दै आएकी थिइन्।
उनको यो लोकप्रियता नै कतै कसैको इर्षाको कारण बनेर ज्यान जाने अवस्था आयो कि भन्ने विषयमा पनि प्रहरी अनुसन्धान गरिरहेको छ।
यो घटना पाकिस्तानमा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि बढ्दो खतरा र महिलामाथि हिंसाको गम्भीर प्रतिबिम्बको रूपमा हेरिएको छ। प्रहरीले घटनाबारे विस्तृत छानबिन गरिरहेको जनाएको छ।



कागजपत्र |
