


हनीमूनमा पतीको हत्या : पत्नी मुख्य योजनाकार, प्रेमीसहित पाँच जना पक्राउ

इन्दौर — भारतकाे मेघालयको शिलाङमा हनीमून मनाउने क्रममा भएको राजा रघुवंशीको रहस्यमय हत्या घटनाले नयाँ मोड लिएको छ। प्रहरी अनुसन्धानमा उनकी पत्नी सोनम रघुवंशी नै हत्या योजनाको मास्टरमाइन्ड रहेको खुलासा भएको छ। प्रेम, विश्वासघात र योजनाबद्ध षड्यन्त्रले भरिएको यो घटनाले अहिले इन्दौर मात्र होइन, सिंगो देशलाई चकित बनाएको छ।
गत ११ मे २०२५ मा हिन्दू रीतिरिवाजअनुसार इन्दौरमा राजा रघुवंशी र सोनम रघुवंशीको विवाह भएको थियो। विवाहपश्चात हनीमूनका लागि २८ दिनपछि उनीहरू शिलाङ गएका थिए। तर, २ जुनमा राजाको शव गहिरो खोंचमा फेला परेपछि यो मामिला हत्या तर्फ मोडिएको थियो। घटनापछि १४ दिनसम्म सोनम लापत्ता थिइन्।
प्रहरीले ९ जुनमा उत्तर प्रदेशको गाजीपुरस्थित एक ढाबाबाट सोनमलाई पक्राउ गर्यो। अनुसन्धानमा खुलेको अनुसार सोनमको विवाहपूर्व राज कुशवाह नामक युवकसँग प्रेम सम्बन्ध थियो, जो इन्दौरमै सोनमका पिताको प्लाइउड कारखानामा काम गर्थे। उक्त सम्बन्धलाई लुकाउन तथा राजा रघुवंशीलाई बाटोबाट हटाउन उनले आफ्नो प्रेमीसँग मिलेर हत्या योजना बनाएकी थिइन्।
प्रहरीका अनुसार, सोनमले मध्यप्रदेशबाट तीन जना सुपारी किलर- आनंद, आकाश र विक्की ठाकुरलाई भाडामा लिएकी थिइन्। २२ मेमा राजा र सोनम शिलाङको नोंग्रियाट गाउँस्थित शिपारा होमस्टेबाट स्कूटीमा निस्किएका थिए। त्यही क्रममा सोनमले मोबाइलमार्फत किलरहरूलाई लोकेशन पठाएकी थिइन्। २३ मेमा हतियार प्रयोग गरी राजाको हत्या गरिएको र शव खोंचमा फ्यालिएको थियो।
हत्या पश्चात सोनम आफैं हराएको नाटक गर्दै गाजीपुर भागेकी थिइन् र आफ्ना दाजुलाई भिडियो कल गरेर आफ्नो अवस्थाबारे जानकारी दिएकी थिइन्, जसको आधारमा उनलाई पक्राउ गरिएको हो। हालसम्म सोनम, उनका प्रेमी राज कुशवाह र तीन सुपारी किलर पक्राउ परिसकेका छन्। मेघालयका डीजीपी आई. नोंगरङका अनुसार एक अन्य शंका गरिएका व्यक्तिको खोजी भइरहेको छ।
सोनमले प्रारम्भिक बयानमा आफूलाई पीडित देखाउन खोजे पनि प्रहरीले प्रस्तुत गरेका प्रमाणहरूले उनको योजनाबद्ध संलग्नता पुष्टि गरेको छ।
यो घटना अहिले ‘बेवफा सनम’ को नामले सामाजिक सञ्जालदेखि मिडियासम्म चर्चित बनेको छ।

