अमेरिकाका सबै राज्यमा सुरक्षा व्यवस्था कडा


काठमाडौँ – नव निर्वाचित राष्टपति जो बाइडेनको सपथ ग्रहणको समयमा सम्भावित हिंसालाई मध्यनजर गरेर अमेरिकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

रोयटर्स तथा सिएनएनका अनुसार राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनको शपथ ग्रहणको तयारी अन्तिम चरणमा पुग्दै गएका बेला पराजित भएका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले प्रदर्शन गर्न सक्ने भन्दै सुरक्षा व्यवस्थ कडा पारिएको हो।

जनवरी ६ मा बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नका लागि सदनको संयुक्त सत्र जारी रहेका बेला हतियारसहित ट्रम्पका समर्थकले संसद भवनमा आक्रमण गरेका थिए।

सो हिंसात्मक आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको थियो। आक्रमणअघिको सम्बोधनमा राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई उक्साएका थिए।

हिंसात्मक बिद्रोहका लागि उक्साएको अभियोगमा राष्ट्रपति ट्रम्पमाथि दोस्रोपटक महाअभियोग लागेको छ।

जनवरी ६ मा भएको घटनापछि संघीय अनुसन्धान ब्यूरो ९एफबिआई० ले सबै ५० राज्य तथा डिस्ट्रिक्ट अफ कोलम्बियासहितमा ट्रम्पका समर्थकले १६ देखि २० जनवरीसम्ममा सम्भावित हिंसात्मक प्रदर्शनको तयारी गरेको चेतावनी दिएको थियो। सोही कारण डिसी तथा सबै ५० राज्यको सुरक्षा व्यवस्था कडा पारिएको हो।

वासिङ्टन डिसीमा राष्ट्रपति तथा उपराष्ट्रपतिमा निर्वाचित जो बाइडेन तथा कमला ह्यारिसको शपथग्रहणको तयारी भइरहँदा राष्ट्रपति ट्रम्प सार्वजनिक जिम्मेवारीबाट पर छन्।

बाइडेनले जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्दै छन्।

प्रतिक्रिया