उत्कृष्ट हाइकिङ गन्तव्यस्थल बेथानचोक


वर्तमान समयमा आन्तरिक पर्यटनको महत्व सामाजिक सञ्जालहरु मर्फत खुबै तात्न थालेका छन् । हुनत बिगतमा पर्यटन क्षेत्रको विकासका लागि सञ्जालको पटक्कै हात छैन भन्न पक्कै खोजिएको हैन । तर हाल टिकटक हुँदै फेसबुक र इन्स्टाग्राममा बढ्दै गएको पर्यटनको क्रेजले बिगतका दिनलाइ फिक्का अवश्य तुल्याइदिएको छ । उदाहरणको लागि टिकटकले चुल्याएको तनहुँको मानुङ्कोट डाँडा र काभ्रेको तीनधारे झरनालाई लिन सकिन्छ । डाँडाको टुप्पोबाट छर्लङ्ग देखिने सुर्योदय र ढपक्क उपत्यका ढाक्ने कुहिरोलाई हेरेर पर्यटनको मजा लिनका लागि दैनिक दशौँ हजार पर्यटक मानुङ्कोट पुगेको कुरा धेरैलाई प्रष्टै होला ।

त्यसैगरी मानुङ्कोट झैँ बिशेषता बोकेको तर राजधानी देखि निकै छोटो दुरीमा रहेको  किङ्ग अफ हिल्सको उपनामले परिचित पर्यटकीय गन्तब्य हो काभ्रेको बेथानचोक नारायण डाँडा, जुन काभ्रे जिल्लाको पनौति नगिचै पर्दछ । बेथानचोक डाँडामा भगवान नारायणको मन्दिर पनि भएकाले डाँडाको नाम उसै मन्दिरको आधारमा बेथानचोक नारायण रहन गएको हो । स्थानीय बासिन्दा रमेश प्रसाद तिमल्सिनाका अनुसार नारायण मन्दिरको इतिहास धेरै पुरानो रहेको छ ।

भक्तपुरबाट भूपतिन्द्र मल्लको पालामा बेथानचोक नारायण भनेर आएको र सो क्रममा गाउँपालिका­३ को मसानघाटमा आएर बसेको किम्बदन्ति रहेको छ । अहिले सो ठाउँलाई शिवालय भनिन्छ । सो ठाउँको ठिक पारीपट्टी नेवार बस्ती रहेको र बिहान सबेरै कुखुरा कराउने, ढिकीजाँतो चलाउने आवाजका कारण त्यहाँबाट बेथानचोक नारायण स्थित डाँडामा गएर बसेको कुरा उहाँले बताउनुभयो । भगवान नारायणलाई मासु मन नपर्ने भएकाले घुम्न जाने पर्यटकहरुलाई मन्दिर वरपर माछा मासु बोकेर नजान उहाँको अनुरोध रहेको छ ।

पहिला मन्दिरको संरचना नै नभएको कारण बिसं २०५६ मा राघवेन्द्र गुरुले त्यहाँ पुगेर सामान्य मन्दिरको स्थापना गरी कोटिहोम लगाएर थप व्यबस्था  गर्नुभएको कुरा स्थानीयहरु बताउँछन् । बि.सं २०७६ मा भने भक्तपुरबाट इट्टा ल्याएर गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय जनसमुदायबाट श्रमदान गरी पक्कि मन्दिर बनाएको कुरा तिमल्सिनाले बताउनुभयो । उहाँले यस क्षेत्रमा बिशेष फागुन पूर्णिमामा मेला लाग्ने गरेको पनि बताउनुभयो ।

काठमाडौंको कोटेश्वरबाट अरनिको राजमार्ग हुँदै लगभग २७ किलोमिटर अघि बढेपछि काभ्रेको पनौती बसपार्क पुगिन्छ । पनौती बसपार्क देखि पूर्व लगभग १३ किलोमिटर अघि जाँदा बेथानचोक गाउँपालिका पुगिन्छ । बेथानचोक ढुङ्खर्क बसपार्कसम्म बसमा पनि जान सकिन्छ तर त्यहाँबाट अघि यातायातको सुविधा नभएकाले पर्यटकहरु थप तीनघण्टा जति हाइकिङ गर्दै आफ्नो गन्तब्य पछ्याउन सक्दछन् । ढुंखर्कदेखि लगभग एक घण्टा बाइक यात्रा गर्न मिल्ने सडक भएकाले केही उचाईसम्म पुगेपछि मात्र पैदल यात्रा गर्न पनि सकिन्छ, जहाँबाट लगभग ३० देखि ४५ मिनेटको पैदल यात्रापश्चात गन्तब्यमा पुगिन्छ ।

बेथानचोक गाउँपालिका­३ मा पर्ने बेथानचोक नारायण डाँडा, पूर्वदेखि पश्चिमसम्म फैलिएको महाभारत लेकहरुमध्ये सबैभन्दा अग्लो डाँडा हो जसको उचाई ३ हजार १८ मिटर रहेको छ । राजधानी देखि यत्ति छोटो दुरीमा रहेको बेथानचोक नारायण एकमात्र त्यस्तो डाँडा हो जहाँबाट उत्तरतर्फ लहर लागेर फैलिएका हिमश्रृंखलालाई नजिकबाट अवलोकन गर्न सकिन्छ भने पश्चिमतर्फ फैलिएको तराई भू­भागलाई पनि सजिलै देख्न सकिन्छ । बेथानचोक नारायण पहाडहरुको राजा भएकाले टुप्पोबाट अरु पहाडहरुलाई केहि साना देख्न सकिन्छ । हिउँ परेको समयमा घुम्न जाने पर्यटकहरु, पहाडको टुप्पोमा पुग्दा आफू सगरमाथाको टुप्पामै पुगेझैँ अनुभव भएको पनि बताउँछन् ।

बेथानचोक नारायण एउटा त्यस्तो ठाउँ हो जहाँ ३ हजारको उचाईमा पुगेर क्याम्प­फायरमा रमाउँदै टेन्टमा रात कटाएर बिहानीमा पूर्वबाट झूल्कने घामको पहिलो किरणको स्पर्शसँगै मुख्यतया तराईतर्फ र केहि होचा अन्य पहाडहरु माथि फैलिएको बाक्लो कुहिरोलाई सजिलै देख्न सकिन्छ । बिहानीको सुर्योदय र ढपक्कै ढाक्ने कुहिरोलाई हेरेर प्रकृतिमा रम्नको लागि पर्यटकहरुको घुइँचो लाग्ने गरेको स्थानीयहरु बताउँछन् । मानुङ्कोटमा झैँ बेथानचोक नारायणमा पनि आफूलाई कुहिरोमाथि पाउन सकिने अनि मानुङ्कोटमा भन्दा अझै धेरै प्राकृतिक बिशेषताहरु बेथानचोक नारायणमा रहेको कुरा पनि पर्यटकहरु दाबी गर्दछन् ।

प्रतिक्रिया