प्रचण्डलाई किन चाहियो ‘हिङ बाँधेको टालो?’


राजनीतिको अस्थिर गति सुरु भएको छ। खासगरी नेकपाभित्रको आन्तरिक कलहले देश नै बर्बादीको लयमा लाग्यो। यसमा जम्मा दुई जना मुख्य दोषी छन्। प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड। र, यो दोषमा हावा भर्ने काममा सक्रिय रहे माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठलगायत। र त्यो हावाको बेगमा किरा फट्याङ्ग्रा जसरी पक्षपाती भएर प्रदूषणका कारक बने हरिलठ्ठक कार्यकर्ताहरू जसले आफू त के आफूपछिका अनेक पुस्ताको भविष्य नै अन्धकारमा पर्छ भन्ने हेक्का राखेका छैनन्।

विचौलिया, दलाल, विदेशी शक्ति भने यो अवस्थामा खुसी देखिएका छन् भने मुख्य प्रतिपक्षी यसलाई मौकाका रुपमा हेरिरहेको छ। धमिलो छ व्यवस्था। प्रतिनिधि सभा छैन, राष्ट्रिय सभाको अधिवेशन सकिएको छ। सर्वोच्च अदालतमा विचाराधिन छन् मुद्दा, त्यसलाई पराधिन बनाउन अवसरवादी वकिलहरूका ताँत र बयान जारी छन्।

लोकतन्त्र प्राप्त भएको मितिदेखि नेपाली राजनीतिको अस्थिर अवस्थाको केन्द्रविन्दुमा छन्, प्रचण्ड। उनका भनाई र गराईलाई संश्लेषण गर्दा मुलुकमा दूरगामी असरको राजनीतिक अभियानको नेतृत्व युद्धकालमा प्रवेश गरेदेखि अहिलेसम्म पनि नेतृत्वदायी जस्तो देखिन्छ। ओली सहायक पात्र हुँदै मुख्य विन्दुमा उभिन आइपुगे, राजनीति र व्यवस्थाले अर्कोतर्फ कोल्टे फेरिसकेको छ। ३० बर्षको प्रचण्डको सम्मुखमा रहेको मुख्य राजनीतिक अवस्था ३ बर्षमा ओलीका अडानले पिल्सिएको छ, थिच्चिएको छ।

ठूलो उभारसहित तत्कालिन नेकपा माओवादी, विस्तारै एकीकृत माओवादी हुँदै गर्दा प्रचण्डले दुईवटा मुख्य भाषण गरेका थिए। पहिलो, कम्युनिस्टको शान्तिपूर्ण समूलमा रहेको नेकपा एमालेमाथिको टिप्पणी। उनले भनेका थिए– माओवादी पुरै हिङ नै हो। हिङै आएपछि हिङ बाँधेको टालोको काम छैन। दोस्रोचाहिँ, माओवादी चील हो, अरु सबै चल्ला हुन्। बाबुरामको कुरा गर्ने हो भने त एमाले ‘भाले न पोथी’ भनेका थिए।

पहिले त हिङ के हो? यस विषयमा चर्चा गरी शीर्षकलाई जस्टिफाई गर्नेछु। धेरै पाठकले यो उद्दरण सुने पनि हिङ भनेको जान्न आवश्यक हुनेछ। 

हिङ एउटा फेरुला वर्गका केही बहुवर्षीय पोथ्राहरूको जराबाट निकालिने औषधीय गुण भएको खोटो हो। यो प्रजातिको वनस्पति अफगानिस्तानको हिमाली क्षेत्रको रैथाने वनस्पति हो र यसको खेती यस आसपासका भारतीय तथा इरानी भूभागहरूमा गरिन्छ।

हिङबाट अनेकौँ किसिमका रोगहरूको उपचार गर्न सकिन्छ। हिंगलाई पहिले घ्यूमा फुराएर मात्र औषधिको रूपमा प्रयोग गर्नुपर्छ। छालामा लगाउँदा मात्र घ्यूमा नफुराई प्रयोग गर्न सकिन्छ।

असली र शुद्ध हिङ मात्र औषधी उपचारमा प्रयोग गर्नु आवश्यक छ ।

पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमा, कब्जियत र अधिक वायु भएमा, कान दुख्ने, पिप आउने, खटिरा आदि भएमा, दम रोगमा, हिङवाष्टक चूर्ण जस्ता रोगमा हिङको उपचार गरिन्छ। नेपालीमा हिङ नभए पनि हिङ बाँधेको टालो काम लाग्छ भन्नुको अर्थ यो औषधिय गुण भएको चिज पाउन मुस्किल हुन्छ, नपाइएको खण्डमा त्यसको टालोले पनि काम चलाउन सकिन्छ भन्ने नै हो।

आज प्रचण्डका भाषणमा देखिएको निमुखापन, मागमा देखिएको लाचारीपन, अनुहारमा देखिएको उदासीपनले मुलुकलाई अगाडि लैजाने कुनै संकेत गर्दैन। बरु, उनका माग र दाबी सुन्दा लाग्छ– प्रचण्ड यतै कतै उही धमिलो राजनीतिमा बग्न थाले, त्यसैले उनका भाषणमा आशाका तेज होइन, सूर्य छापको दाबीहरू सुनिन्छन्

अब शीर्षकसँग सम्बन्ध जोडौं। विभाजित अवस्थामा रहेको एउटा नेकपाको नेतृत्व गरिरहेका प्रचण्डले पोखरा र काठमाडौंमा भएका सभा र सम्मेलनमा हाँक दिएर भने– सूर्य चिन्ह हाम्रै हुन्छ। टालाटुली बटुली कति राम्री पुतली भने जस्तै, तत्कालिन एमालेका नेताका टालाटुलीका रुपमा बटुलेर प्रचण्डको यो दाबी उदेक लाग्दो छ कि छैन भन्ने मूल प्रश्न हो। उनैले हिङ बाँधेको टालो भनी व्याख्या गरेका एमालेको चुनाव चिन्ह किन चाहियो प्रचण्डलाई? यसको सारको प्रश्न हो– हिङ बाँधेको टालो नै किन चाहियो?

के प्रचण्डको राजनीतिक जीवनमा आगामी चुनावमा जीत हासिल गर्न सक्ने हिम्मत चुनाव चिन्हमा मात्रै सीमित छ र? यो प्रश्नको उत्तर दिनुपर्छ। प्रतिनिधि सभा विघटनको निर्णय व्यवस्थामाथिको प्रश्न हो, राजनीतिक इमान्दारीतामाथिको कसी र प्रश्न हो तर यसलाई मूल विन्दुमा नराखी प्रचण्ड सहायक विषयमा यसरी किन हुंकार गरिरहेका छन्? यो अवस्था आइलाग्नुमा आफू पनि बराबरको  दोषी हुँ भन्ने आत्मग्लानीले हो कि, कुनचाहिँ चिजले हो?

प्रचण्ड भन्छन्– मन मिल्नेको कुरै अर्को हुन्छ। हिजो एकताका बेला ओलीसँगको मनमौजी मिलनले माधवकुमार नेपाललाई कर्नरमा राख्ने भूमिकामा मन कत्तिको बाझिएको थियो? बरिष्ठताको खुड्कीलोमा कहिले माथि कहिले तल पार्दा कोसँग जोडिएको थियो भन्ने आम प्रश्न प्रचण्डका सामु तेर्सिन्छ।

मुलुकले ०५२ सालयता २५ बर्ष वित्दा कहिले पनि अगाडि बढ्ने अवसर पाएन। यसको दोषी प्रचण्ड हुन्। व्यवस्था परिवर्तन मात्र परिवर्तन होइन, मानिसको जनजीविकाको सवाल पहिलो हो, शिक्षा स्वास्थ्य र पूर्वाधार पहिलो प्रश्न बन्नुपर्ने थियो। आखिर व्यवस्था परिवर्तनले सीमित नेता र परिवारको जीवनमा आएको परिवर्तनलाई हेरेर प्रचण्डले गर्व गर्नलायक काम गरेको छु भन्ने आत्मरती र भ्रम बोकेको अहिले प्रष्ट भएन र? जनताले कति दिन संघर्ष र विद्रोहका नाममा साथ दिने? एउटा कालखण्ड, एउटा युग माओवादी आन्दोलन र युद्धका नाममा समाप्त भयो। जहाँ हज्जारौं मानिसहरूले ज्यान गुमाए, तिनका परिवारमा कुन प्रकारको परिवर्तन आएको छ? जीवनस्तर उकास्नका लागि के योगदान गरियो? भन्ने प्रश्नको उत्तर प्रचण्डसँग छ त?

नेकपा भन्ने एउटा दल एकीकृत भएपछि स्थिर राजनीति हुनेछ र यसले मुलुकलाई काँचुली फेर्ने दिशामा अघि बढाउनेछ भन्ने आशा थियो। ओली होइन, प्रचण्डको यो हिम्मत र कसीलाई मानिसले निक्कै मन पराएका थिए, आशा राखेका थिए। तर सरकार गिराउने, बनाउने खेल, आन्तरिक गुटतन्त्रको प्रभाव र दूश्प्रभावमा उनको प्रत्यक्ष र परोक्ष सक्रियताको जवाफ नदिई बिरोधीविरुद्धका कुरामा मात्रै उम्लिने काम अझै जनताले गर्ने हो र? प्रश्नका थाक त्यहिँ पुग्नेछन् जहाँ प्रचण्ड प्लेकार्ड छातीमा टाँसेर भनिरहनेछन्– हामी यहाँ छौं।

स्पष्ट भयो– व्यवस्था परिवर्तनले मुलुकको गति हुनेछैन। व्यवस्था व्यवस्थितकरणले मात्र एउटा गति लियो भने मुलुक अगाडि बढ्न सक्छ। त्यसका लागि मूल राजनीतिक नेतृत्वको मानसिकता विकास र राजनेता हुने प्रकृतिको हुनुपर्छ। हिजोको योगदानलाई अवमूल्यन गरी दलाल पुँजीपतिलाई टाउकोमा राखी, त्यसका मतियारका घरमा खुलेआम भात खाने, काम गरिदिने, सिस्टमको प्रयोग र उपयोग गरिदिने प्रवित्ति पनि यसका कारक होइनन् र? नेताको नैतिक चरित्र पतन हुँदै अर्बौंका अवैध डिललाई आँखामा छारो हाले जसरी भुलभुलैयामा पार्ने प्रवित्ति यसका कारक होइनन्? यी कुरालाई सच्याउने र मुलुकलाई सही गतिमा लैजानुको साटो विग्रहका लागि अनेक खेलकुद गर्नु उचित थियो र? प्रश्नका अनेक आलोक छन्। हिजो प्रचण्डको भाषणमा देखिएको आशा, भरोषा र दिलाषाले एउटा उचाई लिएको थियो। सपना जन्माएको थियो।

आज प्रचण्डका भाषणमा देखिएको निमुखापन, मागमा देखिएको लाचारीपन, अनुहारमा देखिएको उदासीपनले मुलुकलाई अगाडि लैजाने कुनै संकेत गर्दैन। बरु, उनका माग र दाबी सुन्दा लाग्छ– प्रचण्ड यतै कतै उही धमिलो राजनीतिमा बग्न थाले, त्यसैले उनका भाषणमा आशाका तेज होइन, सूर्य छापको दाबीहरू सुनिन्छन्।

प्रतिक्रिया