रेणुको जितमा जोडिएको देशको भविष्य !


मुलुक स्थानीय तह निर्वाचनको संघारमा उभिएको छ । वैशाख ३० गते मुलुकभर एकै चरणमा स्थानीय तह निर्वाचन गर्ने सरकारको घोषणासँगै निर्वाचन आयोगले तयारी पूरा गरेको बताएको छ । निर्वाचनका लागि सबैभन्दा महत्वपूर्ण मतपत्र छपाई सकिएको घोषणा गरेको आयोगले आज अर्थात् शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी गर्ने बताइसकेको छ ।

मुलुकका ७५३ स्थानीय तहमा लाखौं उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । सबै आ–आफ्नो शक्ति र गक्ष्यअनुसार चुनावी मैदानमा उत्रिएका छन् । आन्तरिक रुपमा जे–जस्तो भए पनि बाहिरी रुपमा सबैको एउटै लक्ष्य छ– आफ्नो ठाउँको विकास गर्ने ।

स्थानीय तह निर्वाचनमा देश मुख्यतया दुई भागमा बाँडिएको छ, एउटा सत्ता गठबन्धन पक्ष र अर्को गठबन्धन इतर पक्ष । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने सर्वोच्च अदालतले आदेश दिएसँगै माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेस सभापति प्रधानमन्त्रीमा नियुक्त भए ।

विशेष गरी नेकपा एमालेसँगको विद्रोहपछि पार्टी फोडेको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको बलमा नेपाली कांग्रेस अहिले सत्ताको नेतृत्व गरिरहेको छ । जंगलबाट सदनमा आएसँगै अधिकांश समय सत्तामा रहन सफल माओवादी केन्द्र यसपटक पनि कांग्रेसलाई अगाडि लगाएर सत्ताको ‘साँचो’ लिएर बसेको पटकपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सार्वजनिक अभिव्यक्तिबाट पुष्टी हुन्छ ।

मुलुकका ७५३ स्थानीय तहमा लाखौं उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् । सबै आ–आफ्नो शक्ति र गक्ष्यअनुसार चुनावी मैदानमा उत्रिएका छन् । आन्तरिक रुपमा जे–जस्तो भए पनि बाहिरी रुपमा सबैको एउटै लक्ष्य छ– आफ्नो ठाउँको विकास गर्ने ।

मतदानका लागि एक साता समयावधि रहँदै गर्दा मुलुकभरको ध्यान तान्न सफल उनै प्रचण्डको गृहनगर भरतपुरमा सत्तागठबन्धनले चुनावी सभाको आयोजना गरे । सभामा गठबन्धनका सबै शीर्ष नेताहरु सहभागी भए । त्यसमा पनि विशेष गरी नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु नै सहभागी भए । जसबाट भरतपुर मुलुकका लागि सबैभन्दा ‘बलियो’ नगर सावित हुन्छ ।

लाखौं जनता उतार्ने लक्ष्यसहित भरतपुरमा आयोजना गरिएको चुनावी सभामा सबै दलका नेताहरुले गठबन्धनबाट नगरप्रमुखमा उम्मेदवारी दिएकी रेणु दाहाललाई भोट मागे ।

रेणु भरतपुरका लागि ‘योग्य’ मात्र नभई ‘अतियोग्य’ उम्मेदवार हुन्, त्यसका कुनै शंका छैन । उनले गरेका विकासका काम हेर्दा जो कोहीलाई पनि आफ्नो नगरमा रेणुजस्तो जनप्रतिनिधि भएकोमा ‘गर्व’ लाग्छ भने अन्य ठाउँकालाई ‘डाह’ लाग्छ । चुनावी सभामा धाराप्रवाहरुपमा आफूले गरेको विकासको फेहरिस्त बताइरहँदा अन्य स्थानका मतदातामात्र नभई मञ्चमै रहेका शीर्ष नेताहरु ‘दंगदास’ भएको अभिव्यक्ति दिइरहेका थिए ।

पहिलो कार्यकालमा पाएको नेपाली कांग्रेसको साथ पाएर जनप्रतिनिधिको रुपमा भरतपुरमा निर्वाचित हुँदै गर्दा अपरिपक्व देखिएकी रेणु ५ वर्षको अन्तरालमा ‘परिपक्व’ देखिइन् । तर, भरतपुर सम्हालेको ५ वर्षसम्म पनि माओवादी केन्द्रको एकल प्रयासमा पुनः नेतृत्व लिन नसक्ने ‘अविश्वास’ पनि सँगै देखियो ।

पहिलो कार्यकालमा पाएको नेपाली कांग्रेसको साथ पाएर जनप्रतिनिधिको रुपमा भरतपुरमा निर्वाचित हुँदै गर्दा अपरिपक्व देखिएकी रेणु ५ वर्षको अन्तरालमा ‘परिपक्व’ देखिइन् । तर, भरतपुर सम्हालेको ५ वर्षसम्म पनि माओवादी केन्द्रको एकल प्रयासमा पुनः नेतृत्व लिन नसक्ने अविश्वास पनि सँगै देखियो । फलस्वरुपः भरतपुरकै लागि ५ दलीय गठबन्धन गरेको पुष्टी माओवादी अध्यक्ष प्रचण्डले मन्तव्यका क्रममा गरे ।

उनले भने, ‘भरतपुरमा रेणुले पराजय भोगेमा गठबन्धन तोडिन्छ, जसले मुलुक दुर्घटनातर्फ जान्छ ।’ यसमा प्रचण्डको अभिव्यक्ति भरतपुरको विकासका लागि नभई उनको छोरीको जित/हारप्रति लक्षित भएजस्तो आभास देखिन्थ्यो । एउटा महानगरमा आप्mनो उम्मेदवारले हार ब्यहोर्दै गर्दा मुलुक नै संकटमा पर्ने प्रचण्डको अभिव्यक्ति एक किसिमले भरतपुरका मतदाताप्रति ‘अनुनय’ थियो भने अर्को किसिमले सत्ता गठबन्धनका साझेदारप्रतिको ‘धम्की’ देखिन्थ्यो ।

प्रचण्डले मन्तव्यका क्रममा पटकपटक अहिलेको स्थानीय तहको निर्वाचनको भरतपुरको परिणामबाट मात्र अहिलेको गठबन्धन कहिलेसम्म टिक्ने भन्ने कुराको निर्धारण हुने बताए । यदि अहिले रेणुले भरतपुरमा हारेमा गठबन्धन लामो समय नटिक्ने बताउँदै गर्दा रेणुले चुनाव जितेमा आफूले १०÷१५ वा २० वर्षसम्म गठबन्धन गर्न तयार रहेको समेत बताउँदै गरेका थिए । र, गठबन्धन टुटेको खण्डमा मुलुक दुर्घटनामा जान्छ भन्ने उनको अभिव्यक्तिले सारतात्विक रुपमा रेणुको हार नै मुलुकको दुर्घटनाको कारक बन्द सक्ने भन्दै भरतपुरका मतदातालाई चेतावनी दिइरहेका थिए ।

गत स्थानीय तह निर्वाचनमा एकपटकलाई होला भनेर चित्त बुझाएका चितवन कांग्रेसीहरु यसपटक ‘विद्रोह’ गर्ने सुरमा भए पनि अन्तिमसम्म के हुन्छ, त्यो ३० गतेसम्मको मतदानपछि हुने मतगणनाको नतिजासम्म कुर्नैपर्ने देखिन्छ ।

‘तपाईंहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यकता हो । देश र जनताको विकास र समृद्धिको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भने ।  रेणु दाहालको टिमलाई जिताएमा गठबन्धनलाई बीस वर्षसम्म लैजाने उनले उद्घोष गरेका थिए ।

चुनावी सभामा मन्तव्यका क्रममा चितवन कांग्रेस नेताहरुले प्रचण्डले अर्कोपटक फेरि पनि चितवन कांग्रेसको साथ नमाग्न अनुरोध गरे । गत २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेपाली कांग्रेसकै मतबाट नगरप्रमुखमा जित हासिल गरेको स्मरण गराउँदै अहिले पनि कांग्रेसकै भोटबाट पुनः निर्वाचित भएपछि फेरि धोका नदिन अनुरोध गरेका थिए । यसबाट प्रचण्डले गत स्थानीय तह निर्वाचनमा चितवन कांग्रेसका मतदातासँग गरेको ‘बाचा’लाई ‘धोका’मा परिणत गरेको प्रष्ट हुन्छ ।

सभामा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन कांग्रेसका नेतृत्व एवं मतदातासँग यसपटक पनि रेणु दाहाललाई मत दिनु कांग्रेसको कर्तव्य भएको बताउँदै गर्दा भरतपुरमा भएको विकासको तारिफ गर्न पनि भुलेनन् । उनले मन्तव्यको क्रममा ‘रेणु दाहालजीलाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्नुहोस् । उहाँले पाँच वर्षमा गरेको विकास हेर्नुहोस् । त्यसका लागि म उहाँलाई धन्यवाद दिन चाहन्छु,’ भनेका थिए ।

मुलुकका ६ महानगरमध्ये नेपाली कांग्रेसका लागि सर्वाधिक बलियो मानिएको भरतपुर ‘हत्याउन’ सफल माओवादी केन्द्र उर्फ प्रचण्डले देशका अन्य स्थानीय तहमा निर्वाचनको परिणामलाई तिलाञ्जली दिँदै भरतपुरमा मात्रै एकत्रित हुनु उनको चितवन वा भरतपुरप्रतिको ‘मोह’ हो वा छोरीप्रतिको ‘मोह’ हो, त्यो भविष्यले नै बताउला । तर, उनको सबैभन्दा ठूलो सफलता भनेको कांग्रेस नेतृत्वसँग भरतपुर ‘खोस्न सक्नु’ नै हो । अब जिम्मेवारी आएको छ, भरतपुरका मतदातामा – कांग्रेस शीर्ष नेतृत्वसँग प्रचण्डले खोसेको भरतपुर रेणुलाई नै सुम्पिने वा नसुम्पिने भन्ने ।

मुलुकका अरु ७५२ स्थानीय तहका मतदाताले आफूले चाहेको ठाउँमा मत खसाल्दै गर्दा चितवन कांग्रेसका मतदातालाई पटक–पटक अर्को चिन्हमा मत खसाल्न बाध्य पारिएको छ । गत स्थानीय तह निर्वाचनमा एकपटकलाई होला भनेर चित्त बुझाएका चितवन कांग्रेसीहरु यसपटक ‘विद्रोह’ गर्ने सुरमा भए पनि अन्तिमसम्म के हुन्छ, त्यो ३० गतेसम्मको मतदानपछि हुने मतगणनाको नतिजासम्म कुर्नैपर्ने देखिन्छ ।

प्रतिक्रिया