

आश्वासनले दिने भनेको आशा मात्रै हो, समाधान होइन

जनप्रतिनिधि अथवा जनताको प्रतिनिधित्व गर्ने व्यक्ति । खास गरि व्यक्तिगत समस्या भन्दा अलिक बेग्लै, जब आवश्यकता पर्छ न्याय र समाधानको । अथवा अझ भनौँ अलिक धेरै जटिल समस्याहरूको समाधान गर्ने व्यक्ति । तर, के गर्नु जीवनको एउटा यस्तो भोगाइ जस्ले मलाई धेरै कुरा सिकायो ।
जीवन सामान्य चलिरहेको थियो । दौडधुप, जिम्मेवारी, केही गर्नुपर्छ भनेर दिन रात खटिरहेको अवस्था । यसैबीच गरिरहेको व्यवसायमा अवरोध आइलाग्यो । मन शून्य भो के गर्ने के नगर्ने सारै नै अन्योलको अवस्था सिर्जना भो । दैनिक गरिरहेको व्यवसाय अँध्यारो भो । अँध्यारोले गर्दा सबैकुरा अवरुद्ध भो ।
अब के गर्ने ? मेरो मात्रै समस्या थिएन । २९ – ३० जना व्यापारीको कुरा थियो । यदि तपाईं कुनै पनि व्यापार व्यवसायमा हुनुहुन्छ भने सहजै अनुमान गर्न सक्नुहुन्छ । बन्दले कति समस्या हुन्छ व्यापारीलाई भन्ने कुरा त्यस्तै भो । आज खुल्छ कि भन्यो छैन भोलि खुल्छ भन्यो छैन ।
पसल खोलेर व्यापार गर्ने बेलामा विभिन्न संघ संस्थाको ढोका चाहार्नुपर्ने बाध्यता भो । तर खासै केही होला जस्तो लागेन । “आज गयो आफ्नै दिन भोलि गयो आफ्नै दिन” भनेजस्तो केही उपाय नलागेपछि अब के गर्ने ? सहायता त माग्नुपर्यो । कहाँ जाने त ? न कुनै पार्टीमा आवद्ध ? नत कहिले यस्तो अवस्था नै आएको थियो ?
अनि लाग्यो अहिले त स्थानीय सरकार छ । अब त्यहीँ जानुपर्छ । समस्या समाधानको लागि नै त हो जनप्रतिनिधि चाहिने भनेको । प्रक्रियामा गइयो । सबैजनालाई एउटा आशा पलायो । अब पसल खुल्छ व्यवसाय गर्न पाइन्छ भनेर । आश्वासन पनि पाइयो । ल है अब केही हुन्छ, हाम्रो समस्या समाधान हुन्छ । एउटा खुशीको लहर तरङ्गित भयो ।
धेरै कुराहरू भए । हाम्रो दैनिकी भनेको बिहान देखि बेलुका सम्म सडकमा संघ, संस्था, मन्त्रालय धाउनुमै बित्थ्यो । जनप्रतिनिधि कुनै पनि छुटेनन् । कहिले पनि यसरी मन्त्रालय र संघ संस्थामा पुगिएकै थिएन । काम परे मात्रै जानुपर्ने ठाउँमा काम नपरी जाने कुरा पनि भएन ।
यसरी ९-१० महिनासम्म सडकमा हिँड्दा थाहा भयो न्याय पाउने भन्ने कुरा वास्तवमै धेरै जटिल रहेछ । जसलाई पर्यो पर्यो । कमैलाई पर्छ यस्तो समस्या । कसैलाई नपरोस् पनि ।
व्यवसाय अँध्यारोमा थियो । करोडौंको सामान बन्द थियो । ९-१० महिना बितिसक्यो । यो अवधिमा धेरै आर्थिक नोक्सान भयो दुबै पक्षको । न्यायले दुबै पक्षको हित गर्छ । एकछिनको लागि अप्ठ्यारो देखिए पनि । तर, कोही पनि संवेदनशील देखिएन हाम्रो समस्यामा । आज हुन्छ हुन्छ भनेकाहरूले एकैछिनमा बिर्सिहाल्थे । काम नपाएर बाटोमा हिँडेकाजस्ता देखिएका थियौँ । यो ९-१० महिना सडकमा पाएको दु:खले धेरै कुरा सिकायो । जनप्रतिनिधिहरूको काम गर्ने तरिका छर्लङ्ग देखियो ।
सेता नम्बर प्लेटका गाडी चढेर र वातानुकूलित महलमा बसेर जनताको दु:खको प्रतिनिधित्व गरेका जनप्रतिनिधिबाट केही टुङ्गो लागेन । उहाँहरूको पनि आफ्नै समस्या होला । तर, हामीलाई त बिहान साँझ बाल्नुपर्ने चुलोको समस्या थियो ।
देश त सरकारी कर्मचारीले चलाएका रहेछन् । कमसेकम अफिसमा देख्दा १० देखि ५ बजेसम्म काम त गरिरहेका देखिन्थे । यत्रो ठूलो समस्यालाई बिचमा बसेर एउटा निर्णय दिन र कार्यान्वयन गराउन नसकेको जनप्रतिनिधिको प्रतिनिधित्व देख्दा उदेक लाएर आयो ।
ठूला ठूला विकासका योजनाहरूको कार्यभारले गर्दा यस्ता सानासाना समस्या ओझेलमा परेका हुन् कि ? दिनहुँ झस्काइरहदाँ होला हामीहरूलाई देख्दा उहाँहरूको अनुहार खिन्न देखिन्थ्यो । फेरि त्यहीँ कुरा लिएर आए ।
व्यवसाय गरेको ऋणको ब्याज, दैनिक खर्चको भार, व्यवसाय अँध्यारोमा परेको प्रति कुनै जनप्रतिनिधिको ध्यान गम्भीर भएन । गम्भीर हुँदो हो त समाधान हुन्थ्यो । नोक्सान कसैलाई पनि हुने थिएन ।
हाम्रो त सर्वस्व डुबेको थियो । तपाईंका समस्या समाधान हामीले गर्छौँ भने सबैले । गर्दिनँ र सक्दिनँ कसैले भनेनन् । हुन्छ भनेरै आश्वासन दिएकै भरमा धेरै दिनहरू बिते । जतिजति समय बित्दै गयो । त्यति त्यति व्यवसाय भासिँदै गयो ।
हाम्रो व्यवसाय भासिएकोमा कसैलाई चिन्ता थिएन । चिन्ता हुँदो हो त समाधान हुन्थ्यो । जनप्रतिनिधिका आश्वासनले हामीलाई एउटा आशा दिएको थियो । त्यो आशा टुङ्गोमा पुग्न सकेन । बाटोमै अलपत्र पर्यो । दुवै पक्षले ठूलो नोक्सानी बेहोर्नु पर्यो । हाम्रो समस्या समाधान भएन ।
गर्न सक्ने कुरा गर्नुहोस् । नसक्ने कुरा किन गर्नुहुन्छ ? झुठो आश्वासन दिएर जनतालाई भुलभुलैयामा किन राख्नु हुन्छ ? गर्छु भनेपछि गर्नैपर्छ । झुठको खेती नगर्नुहोस् । यो त मैले भोगेको समस्या थियो । यस्तै अनगिन्ती समस्याहरू जनताका छ्न् । न्यायिक प्रक्रिया झन्झटिलो छ । सर्वसाधारणको पहुँच पुग्दैन ।
चुनावको रौनक छ । चारैतिर आफूसक्दो खर्च गरेर म यो गर्छु त्यो गर्छु भनेर मीठा मीठा आश्वासनका पोकाहरूको वर्षा भइरहेको छ । असक्षम, अव्यवहारिक र अदूरदर्शिताका कारण जनप्रतिनिधिको भूमिका फितलो देखिएको छ ।
यसको प्रत्यक्ष असर पर्ने भनेकै जनतालाई रहेछ । जनता सचेत बन्न जरुरी छ । सावधान ! प्रजातान्त्रिक विधि र पद्धतिअनुसार आफ्नो मताधिकार प्रयोग गर्नुहोस् तर हाम्रालाई होइन राम्रालाई रोज्नुहोस् । अन्यथा पछुताउनु पर्ला नि !

