कांग्रेस नेता मल्लले दिए प्रदेश सांसदबाट राजिनामा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साधारण सदस्यबाट निष्कासन गरेपछि डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लले सुदूरपश्चिम प्रदेशसभा सदस्य पदबाट राजीनामाको घोषणा गरेका छन् ।

डडेलधुरामा विहीबार पत्रकार सम्मेलन गर्दै मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा गर्ने घोषणा गरेका हुन् ।
‘मलाई यो पार्टीबाट प्रदेश सभाको निर्वाचित सांसद पदमा बसिरहन नैतिकताले दिँदैन,’ पत्रकार सम्मेलनमा मल्लले भने,‘आजदेखि म प्रदेशसभा सांसद नरहेको सञ्चारमाध्यमबाट घोषणा गर्दछु ।’

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको दुई पटकसम्म नेपाली कांग्रेसको तर्फबाट सभापति निर्वाचित भएका मल्ल डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् ।

पार्टीको १४औं महाधिवेशनमा आफूपक्षधरलाई बाईपास गरी बिधानविपरित एक हजार बढी क्रियाशिल सदस्यता थपेको भन्दै असन्तुष्ट बनेका मल्ल र उनी पक्षधर कांग्रेस कार्यकर्ताले महाधिवेशनको सबै प्रक्रिया बहिस्कार गरी सदस्यता छानबिनको माग गरेका थिए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफू पक्षधरलाई टिकट नदिए पछि मल्लले आफू पक्षधर जिल्लाका नेतालाई नेपाली कांग्रेस बीपीको तर्फबाट टिकट दिलाइ विपक्षी नेकपा एमालेसँग गठबन्धन गरेका छन् । डडेल्धुराका सबै स्थानीय तहमा एमालेसँग तालमेल गरेपछि कांग्रेस कमजोर हुने आंकलन गरिएको छ ।

 

प्रतिक्रिया