

दुर्गम रहेन म्याग्दीको पात्ले गाउँ, आगनबाटै गाडी चढ्न पाउँदा स्थानीय दङ्ग

म्याग्दी – मालिका गाउँपालिका–३ पात्लेका भीमबहादुर रोका आगनबाटै गाडी चढ्न पाउँदा दङ्ग परेका छन् । ‘यातायात सुविधाले सुगम बन्न थालेको महसुस गरेका छौँ, उनले भने, ‘कल्पना पनि नगरेको पहाड छिचोलेर बनेको सडकमा गाडी चढेर हिँड्न पाउँदा दङ्ग परेका छौँ ।’
खच्चर र भरियाबाट सामान ढुवानी गर्दै आएका रोकाले गाडी र ट्याक्टर चल्न थालेपछि भाडा सस्तिएको बताए । आवतजावत सहज हुनाका साथै बिरामी पर्दा अस्पताल जान, कृषि र पशुजन्य बस्तुलाई बजार पठाउन, निर्माण र दैनिक उपभोग्य सामान ढुवानी गर्न सहज भएको पात्लेका धनबहादुर रोकाले बताए ।
‘पैदल हिँडेर पात्लेबाट दर वाङ पुग्न तीन घण्टा लाग्दथ्यो’, उनले भने, ‘गाडीबाट ओखर बोटको घुमाउरो बाटोबाट जाँदा दुई घण्टा र डाडागाउँ–औलको छोटो बाटो प्रयोग गर्दा डेढ घण्टामा दर वाङ पुगिन्छ ।’
एक सय घरधुरी रहेको पात्ले मात्र नभएर मालिका–३ का सबै बस्तीमा पुगेको सडकले दुर्गम गाउँका बासिन्दालाई सुगमको अनुभव गराएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने साबिक रुम गाविसमा समेटिएको सो वडाको कुनै पनि बस्तीमा पाँच वर्षअघि सडक यातायातको सुविधा थिएँ ।
मालिका–३ का वडा अध्यक्ष हेमबहादुर पुनले पाँच वर्षको अवधिमा सबै बस्तीमा सडक सञ्जाल पुगेको बताए । उनले भने, ‘गाउँपालिकाको केन्द्र जोड्ने मुख्यका साथै छिमेकी २ र ४ नम्बर वडासँग पनि सडक सम्बन्ध स्थापित भएको छ ।’
अभिभारा हुँदै औलागाउँमा पुगेको सडकलाई आर्थिक वर्ष २०७४/७५ मा गाउँपालिकाले विनियोजन गरेको रु ३५ लाख बजेटबाट डाडागाउँ–किटिनी हुँदै सोलेडाडासम्म विस्तार भएको थियो ।
आर्थिक वर्ष २०७५/७६ मा विनियोजन भएको २५ लाख बजेटले किटिनी हुँदै लुसीपार, आर्थिक वर्ष २०७६/७६ मा ३० लाख बजेटबाट लुसीपार–पात्ले, २०७७/०७८ मा ११ लाख बजेटबाट पात्लेबाट खापुक टोलमा सडक पुर्याइएको थियो ।
चालु आर्थिक वर्षमा ३५ लाख बजेटबाट पात्लेदेखि सोली खोला हुँदै वडा नं २ को बेली गाउँलाई सडकले जोडिएको वडा अध्यक्ष पुनले बताए । पात्ले–बेली जोड्ने करिब पाँच किलोमिटर सडक निर्माण भएपछि गाउँपालिकाले परिकल्पना गरेको ‘मालिका चक्रपथ’को सबै मार्ग खुलेको छ ।
औल, इग्रे, खटेन, डाडागाउँ, किटिनी, लुप्सीपार, पात्ले र खापुक बस्ती भएको मालिका–३ मा ५०० घरधुरी छन् । औला र इग्रेमा यसअघि पुगेको सडकलाई स्तरोन्नति गरेर यातायात सञ्चालन गरिएको हो भने अन्य बस्तीमा नयाँ मार्ग खोलेर सडक पुर्याइएको हो ।
वडा अध्यक्ष पुनका अनुसार सबै बस्ती जोड्ने करिब २५ किलोमिटर सडक बनेको छ । वडाका सबै बस्तीमा केन्द्रीय लाइन विस्तारको काम पनि अन्तिम चरणमा पुगेको छ । किटिनीमा वडाको पक्की भवन निर्माण अन्तिम चरणमा रहेको वडा अध्यक्ष पुनले बताए ।

