सर्वोच्चको आदेशसँगै प्रदेशसभामा पुनः प्रवेश पाएका देवकोटाले मन्त्री पदको सपथ लिँदै


पोखरा – सर्वोच्च अदालतको आदेशपछि पुनः प्रदेशसभामा प्रवेश गर्ने अवसर पाएका गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले आज मन्त्रीको सपथ लिने भएका छन् ।

नेकपा माओवादी केन्द्रको कारबाहीपछि ३ दिनमै पदमुक्त भएका पुनः मन्त्री बन्न लागेका फणीन्द्रले आज सपथ लिने भएका हुन् ।

गण्डकीका प्रदेश प्रमुख कार्यालयका डिल्लीराज भट्टले आइतबार बिहान साढे १० बजे नेपाल पर्यटन बोर्डको सभाहलमा शपथ खुवाउने गरी तयारी भएको जानकारी दिए ।

देवकोटालाई पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी प्रदान गर्न लागिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि बिहीबार नै मन्त्री नियुक्त गर्ने तयारी थियो । तर, सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाएसँगै रोकिएको थियो ।

गत जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा भोलिपल्टै मन्त्री बनेका थिए । तर, पार्टीको ह्वीप नमानेको भन्दै जेठ ३२ मा माओवादीले उनलाई कारबाही गरेको थियो ।

कारबाहीपछि फणीन्द्र सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले गत सोमबार कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै देवकोटा प्रदेशसभा प्रवेश गर्ने बाटो खुलेको थियो ।

प्रतिक्रिया