
प्रहरीसँग मोटरसाइकलमा अस्पताल गएका कैदी फरार
देउखुरी – दाङमा जन्मकैद सजाए भुक्तानी गरिरहेका एक जना कैदी प्रहरीकै मोटरसाइकल लिएर भागेका छन्। घोराही कारागारमा जन्मकैद सजाय भोगीरहेका राजपुर गाउँपालिकाका कैदी २९ वर्षीय यामराज परियार प्रहरीकै लु ३४ प ४१० नम्बरको मोटरसाईकिल लिएर भाग्न सफल भएका हुन्।
परियारले आफु बिरामी रहेको बताएपछि घोराही कारागारका जेलरकै अनुमतिमा जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान धनबहादुर चौधरीले उपचारका लागि प्रहरीकै बाइकमा आफै हालेर कैदी परियारलाई अस्पताल लगेका थिए।
घोराहीको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि आफै प्रहरी जवान चौधरीले आफै मोटरसाइकल चलाई जेलका नाइके समेत रहेका परियारलाई पछाडि हालेर लगेको र उपचारकै क्रममा प्रहरीकै मोटरसाइकलसहित कैदी भागेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए।
कारागारमा प्रहरी र सेना दुवै हुने भएपनि कैदीलाई उपचार गर्न प्रहरीले नै लैजाने गरेको भन्दै उनले सोहिक्रममा प्रहरी जवानले जेलको नाइके परियारलाई हत्कडि नलगाई आफै मोटरसाइकलमा हालेर उपचारलाई लिएर अस्पताल गएको बेला कैदी भागेको बताए।
उपचारका लागि बिहान साढे १० बजे प्रहरी जवान चौधरीले कैदीलाई अस्पताल पुर्याएका थिए। कैदी प्रहरीकै मोटरसाइकलसहित भागेको बेलुकी ४ बजे मात्रै जिल्ला प्रहरी कार्यालय दाङले खबर पाएको थियो।
एसपी काफ्लेले जिल्लाको सबैनाका बन्द गरेर भागेका कैदिको खोजीकार्य जारी रहेको बताए। दाङ जिल्ला अदालतले ज्यानमार्ने कसुरमा परियारलाई २० बर्ष कैदको सजाय गर्ने फैसला गरेकोमा उनले ७ बर्ष कैद भुक्तानी गरेको र १३ बर्ष कैद भुक्तान गर्न बाँकी छ ।



कागजपत्र |
