नेपाली सेनाले प्रयोग गर्ने ‘कासा जहाज’को भित्री कथा!

प्रधानसेनापति शर्मा आफ्नै जहाजमा फर्किए स्वदेश


भारत प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनापति प्रभुराम शर्मा जहाज चढ्दै।

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ जनाको टोलीसहित प्रधानसेनापति प्रभुराम शर्मा नयाँदिल्लीको चारदिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्किएका छन्।

भारत भ्रमणमा जाँदा शर्माले नेपाली सेनाको इन्डोनेशियामा निर्मित आफ्नै कासा जहाज प्रयोग गरेका हुन्। सेनापतिको भ्रमण टोली लिएर विदेश उडेको कासा जहाजबारे विभिन्न चर्चा भएको छ।

नेपालमा बुद्ध, यति, तारा, सिम्रिकलगायत निजी क्षेत्रले विशेषतः एटीआर, बिचक्राफ्ट मोडलका साना हवाइजहाज प्रयोग गर्दै आएको अवस्थामा कासा जहाजबारे धेरैलाई थाहा छैन।

निजी क्षेत्रले प्रयोग गरेकोभन्दा सेनाले प्रयोग गर्ने जहाजको स्वरुप नै भिन्न प्रकृतिको हुने भएपछि सबैजसो निकायले किन फरक खालको जहाज? भनेर चासो राख्ने गर्छन्।

सेनापति शर्माले प्रयोग गरेको त्यो कासा जहाज सेनाले किन र कसरी खरिद गरेको थियो? भन्नेबारे धेरै कुरा अहिलेसम्म बाहिर आएको छैन। कसको कार्यकालमा कासा जहाज नेपाल आइपुग्यो? यसको फाइदाहरु के–के? यसबारे जान्न पनि जरुरी छ।

कासा जहाज राजेन्द्र क्षेत्रीको कार्यकालमा नेपाल भित्रिएको बताइन्छ। सेनाले तयार पारेको २०७२ देखि २०८२ सम्मको दीर्घकालीन रणनीति र योजनाबमोजिम उक्त जहाज खरिद गरिएको बताइन्छ।

सैनिक स्रोतका अनुसार कासा जहाज अति बिशिष्ट व्यक्तिको उडानमा समेत प्रयोग गर्न मिल्ने भएपछि तत्कालिन सरकारले बजेट उपलब्ध गराएको हो। क्षेत्री सेनापति भएको बेला अर्थ मन्त्रालय, योजना आयोग, रक्षा मन्त्रालय हुँदै मन्त्रीपरिषद् बैठकले जहाज किन्न स्वीकृति दिएको थियो।

त्यतिबेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए। धेरैपटक अध्ययन गरेरमात्रै उक्त जहाज नेपाल ल्याइएको सैनिक स्रोतले बतायो। सेनाले प्रयोग गर्ने कासा जहाजको पछाडिको ढोका पूरै खोल्न मिल्ने यसको फाइदा हो।

पछाडिको पूरै ढोका खोल्ने विशेषतः नागरिक उड्डयनमा प्रयोग गरिने जहाजमा हुँदैन। कासा जहाजको पछाडिको ढोका पूरै खोलिने भएकाले नागरिक उड्डयन प्राधिकरणले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने बताउने गरेको छ।

सेनाको प्यारासुट तालिम र उद्दारको निम्ति समेत प्रयोग गर्न सकिने र अन्य अवस्थामा साधारण जहाजजस्तै प्रयोग गर्न मिल्छ कासा जहाज।

इण्डोनेशियामा निर्मित सैनिक प्रयोजनको उक्त जहाज खरिदका नेपाली एजेण्ट भने अजयकेशरी सिंह हुन्। सिंह नेपाली सेनाका पूर्व जर्नेल भरतकेशरी सिंहका छोरा समेत हुन्।

सेनाले कासा जहाज नै रोज्नुको अर्को कारण सार्क क्षेत्रका आठवटै मुलुकमा गएर काठमाडौं फर्कंदासमेत इन्धन भर्न कहिँकतै अवतरण गर्नुपर्दैन। एकपटक भरेको इन्धनले सहजै काठमाडौं अवतरण हुनेछ।

यी सबै पक्षलाई मनन गरेर नेपाल सरकारले स्वीकृति दिइसकेपछि पनि जहाज नेपाल आउने बेलामा केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारले भाँजो हालेको थियो।

२०७४ सालको चुनावपछि गठित ओली नेतृत्वको सरकारले यसबारे निकै खोजीनीति गरेको थियो। प्रधानमन्त्री देउवा, सेनापति क्षेत्री सबै पदबाट बाहिरिएको अवस्थामा प्रधानमन्त्री ओली र सेनापति पूर्णचन्द्र थापा नियुक्त भएपछि जहाजको चर्चा सुरु भएको हो।

अहिले त्यहि कासा २३५ मोडलको जहाजमा प्रधानसेनापति शर्माको भ्रमण टोली नयाँदिल्ली पुगेर फर्किएको छ।

भारतीय स्थल सेनाध्यक्ष मनोज मकुन्द नरवणेको निम्तोमा नयाँदिल्ली गएका प्रधानसेनापति शर्मालाई राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जा समेत प्रदान गरेका छन्।

हाल नेपाली सेनासँग कासा, स्काई ट्रक, आइल्याण्डर र पाइपर गरी ७ वटा जहाज छन्। त्यसरी नै हेलिकोप्टरतर्फ एमआई– १७, एएलएच, अगास्ता ओसल्याण्ड, बेल, इकुर्‍याल, लाक्चर र एडब्लु– १३९ गरी १५ वटा हेलिकोप्टर रहेका छन्।

प्रतिक्रिया