नेपाली सेनामा सिनियर हुँदाहुँदै जुनियरको बढुवा!


काठमाडौं – ‘नेपाली सेना भनेको नेपाल प्रहरी र सशस्त्र प्रहरी जस्तो होइन। ‘चेन अफ कमाण्ड’ मा चल्ने संगठन भनेको आर्मी जस्तो हुनुपर्छ,’ अधिकांश मानिसको दिमागमा यही कुराछ। हामीलाई लाग्नु स्वभाविक पनि हो– आर्मीको भित्री कुरा बाहिर आउँदैन, अनि धेरै कुरा थाहा पनि हुन्न।

तर, त्यस्तो होइन सेनामा पनि थुप्रै विकृति, विसंगती तथा फोहोरहरु छन्। आफ्नो मान्छेलाई काखा च्याप्ने प्रवृति नेपाल प्रहरी र सशस्त्रमा मात्र होइन आर्मीभित्र झनै धेरै छ। राम्रो, क्षमतावान व्यक्तिलाई पाखा लगाएर आफ्नो मान्छेलाई अगाडि ल्याइन्छ।

बुधबारको एउटा घटना थाहा पाए पुग्छ। दुई जना सहायक रथीद्वय प्रदीपजंग केसी र योगराज शर्माको बढुवा सिफारिस भयो। जबकी उनीहरु जुनियर हुँदाहुँदै सिनियरलाई पाखा लगाइयो।

सिनियर सहायक रथी हुँदाहुँदै उनीहरुको बढुवा भएपछि नेपाली सेनाको समेत पछिल्लो समय क्रेज घट्दै जान थालेको छ।

नेपाली सेनाका सहायक रथी सुरेश बानियाँ सिनियर हुँदाहुँदै बढुवा सिफारिसबाट फेरि पनि वञ्चित भएपछि आर्मीभित्रको चलखेल डरलाग्दो रहेको सुरक्षाविज्ञहरु बताउँछन्। नेपाली सेनाको बढुवा समितिको बैठकले केसी र शर्मालाई उपरथीमा बढुवाका लागि सिफारिस गर्न सूचना प्रकाशित गरेको छ।

केसी र शर्मा दुवै २५ बेसिकका बानियाँभन्दा जुनियर हुन्। तर, उनीहरूको नाम बढुवाका लागि सिफारिस हुँदा २५ बेसिकका अरू समकक्षीहरू यसअघि नै उपरथीमा बढुवा भइसकेका छन्। यस पटक पनि बानियाँ भने बढुवा सिफारिसको सूचनामा परेनन्।

सत्ताको नजिक नभएपछि बानियाँ अहिलेपनि बढुवा सूचीमा छुटेको सहजै अनुमान लगाउन सकिन्छ। बानियाँको बढुवा यसअघि नै हुनुपर्ने थियो। तर यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाकै कार्यकालमा जुनियर बढुवा हुँदा पनि उनी परेनन्।

दुईपटक ‘कोर्टमार्सल’मा परेकाले जुनियरहरू बढुवा भइसक्दा उनको वृत्ति विकास अवरुद्ध भएको सैनिक स्रोतले बतायो। ‘दुईपटक कोर्टमार्सलमा परेकाहरुको बढुवा हुँदा बानियाँ समेटिएनन्,’ सैनिक स्रोत भन्छ, ‘सैनिक अनुशासनमा कारवाही भएकै कारण उनी वञ्चित भएका हुन्।’

यस्ता गतिविधिले कुनै निश्चित व्यक्तिलाई फाइदा गरे पनि संगठनलाई भने नकरात्मक असर गर्ने सुरक्षाविज्ञहरुको टिप्पणी छ। सेनाले संगठनभित्र सिनियरलाई पाखा लगाएर जुनियरलाई अघि सारेको यो पहिलोपटक भने होइन। पञ्चायतकालमा पनि यस्ता किसिमका घटना भएको इतिहास छ।

तत्कालीन सेनापति थापाले २७ नम्बर बाहिनीको बाहिनीपति हुँदा भर्ना छनौटको विषयलाई लिएर बाबुराम श्रेष्ठलाई पुर्वाग्रह साँधेर कारबाही गरेका थिए। श्रेष्ठको ब्याचका सहदेव खड्का, विनय राणा र सन्तोष ढकाल यसअघि नै उपरथी भइसके पनि उनी भने थापाको ‘कोपभाजन’मा पर्दा बढुवा हुन सकेका थिएनन्न्।

थापा नेतृत्वबाट हटेपछि उनको बढुवा भएको थियो।

प्रधानसेनापति प्रभुराम शर्मा चारदिने औपचारिक भ्रमणको सिलसिलामा भारतमा छन्। कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारीसमेत सम्हालेका बलाधिकृत रथी बालकृष्ण कार्कीको बढुवा समितिको बैठकले सहायक रथीद्वयको बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिसमा परेका केसी र शर्माको सूचना प्रकाशित भएको मितिले सात दिनपछि रक्षा मन्त्रालयमार्फत प्रस्ताव मन्त्रिपरिषदमा पुगेपछि बढुवाको निर्णय हुनेछ। सेनाले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषदले निर्णय गर्ने प्रावधान छ।

त्यस्तै सात महासेनानीलाई पनि सहायक रथीमा बढुवाका लागि सूचना प्रकाशित गरेको छ। बढुवा सिफारिसका लागि सूचना प्रकाशितमा भएका महासेनानीहरूमा प्रकाशराज थापा, कृष्णप्रसाद भण्डारी, भोलानाथ थापा, विष्णुकुमार खड्का, भुवन खत्री, मनोजकुमार सिलवाल र ज्योतिन्द्र महत छन्।

प्रतिक्रिया