

पाँचखालका मेयर खरेलको सार्थक प्रयास, २६ परिवारले पाए ३५ वर्षपछि लालपूर्जा

पाँचखाल – पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन् ।
पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले पहिलो चरणमा पूर्जा तयार भएका २६ परिवारलाई लालपूर्जा हस्तान्तरण गरेका हुन् ।
साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पूर्जा बनाउन सकेका थिएनन् । जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पूर्जा पाएका थिएनन् ।
‘आफ्नो नाममा जग्गा ल्याउन ३५ वर्षसम्म कुर्नपर्यो’, स्थानीय रामबहादुर दनुवारले भने । उनले नगरप्रमुख खरेलबाट १४ आना दुई पैसा क्षेत्रफल जग्गाको पूर्जा लिएका हुन् ।
लालपूर्जाविहीनका लागि स्थानीय अगुवाले वर्षौँदेखि पूर्जा दिलाउन प्रयास गरेका थिए । खाँडका नाममा दर्ता उक्त जग्गामध्ये हाल करिब २७ रोपनी जग्गाको पूर्जा बनाई वितरण गरिएको मेयर खरेलले बताए ।
‘पहिलो चरणमा बनेको पूर्जा २६ जना जग्गाधनीलाई वितरण गरियो, अब पूर्जा बन्न बाँकी जग्गाको जिल्ला मालपोत कार्यालयमा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ’, उनले भने ।

