प्रधानसेनापति शर्मा भारत जाँदै, यस्ता छन् छलफलका एजेण्डा


काठमाडौं – आज मंगलबार प्रधानसेनापति प्रभुराम शर्मा छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जाँदैछन्। भारतका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा चार दिने भारत भ्रमणमा जान लागेका हुन्।

प्रधानसेनापति शर्मालाई जंगी अड्डामा सोमबार नै औपचारिक रूपमा भारत भ्रमणको बिदाइ गरिएको छ। उक्त बिदाइ कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्‍वात्राको उपस्थिति थियो।

भ्रमणका अवसरमा शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ। उनलाई यही कात्तिक २४ गते बुधवार मानार्थ महारथीको सम्मान गरिनेछ।

नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन रहँदै आएको छ। भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका शर्मा भारतीय सेनाको मानार्थ प्रधानसेनापति समेत हुन्।

शर्माले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस.जयशंकर, रक्षामन्त्री राजनाथ सिंह, सिडिएस विपिन रावत, रक्षासचिव अजय कुमार र समकक्षी मुकुन्द नरवणेसहित हवाई र जलसेनाका प्रमुखसँग भेटवार्ता गर्ने तय भएको छ।

उनले भारत भ्रमणका क्रममा सिडिएस रावत र समकक्षी नरवणेलाई नेपाल भ्रमणको निम्तो औपचारिक रुपमा हस्तान्तरण गर्ने तयारी छ।

त्यसैगरी दुवै देशका सेनाबीच तालिम र रक्षासम्बन्धी सहयोगका बारेमा पनि छलफल गर्ने ऐजेण्डा रहेको स्रोतको दावी छ।

साथै भारतीय सेनाले नेपाली सेनालाई थप १ लाख भ्याक्सिन सहयोग उपलब्ध गराउने समझदारीमा हस्ताक्षर समेत हुनेछ। नेपाली सेनालाई बख्तरबन्द गाडी र ट्रक समेत सहयोग गर्ने भारतिय पक्षको तयारी छ।

भारतीय सेनाले यसअघि नेपाली सेनालाई दिँदै आएको नेशनल डिफेन्स कोर्स (एनडिसी) को कोटा समेत यसपटकबाट बढाउने तयारी गरेको छ। यसअघि भारतीय सेनाले नेपाली सेनालाई दुई वटा कोटा प्रदान गर्दै आएको थियो।

प्रधानसेनापति शर्मा नेपाली सेनाको विशेष विमानमा भारत जाने भएका हुन्। इन्डोनेसियामा निर्मित कासा विमानमा पत्‍नी सुनिता शर्मासहित ९ सदस्यीय सैन्य टोलीका साथ भारत जानेछन्।

उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणको क्रममा रहनेछन्।

प्रतिक्रिया