हुलाक बचत बैङ्कको रकम अनियमितता अभियोगमा मुद्दा दायर


काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन प्रमुख जयलालप्रसाद साह कानूसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूलाई सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अभियोगमा कारबाही अगाडि बढाइएको हो।

आयोगका अनुसार २०६० सालदेखि हुलाक बचत बैंकको जिम्मेवारी सम्हाल्दै आएका पदाधिकारीहरूले बचतकर्ताको रकमको अभिलेख नपु¥याई आफूखुसी रकम अपचलन गरेको पाइएपछि मुद्दा दायर गरिएको हो।

उनीहरूले जनताको निक्षेप संकलन गरी पासबुक र लेजरमा मात्र विवरण प्रविष्ट गरेको तर बैंकको नगद रजिस्टरमा उल्लेख नगरी, आधिकारिक रुपमा दाखिला नगरेर रकम बाँडफाँट गरी दुरुपयोग गरेको आयोगको अनुसन्धानबाट खुलेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तत्कालीन प्रमुख साह कानूसँगै अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव, सुजितकसुमार साह र तत्कालीन नासु बलिरामप्रसाद कुर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो। उनीहरूले करिब ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ अपचलन गरेको आरोप छ।

आयोगले उनीहरूविरुद्ध कैद, जरिवाना र बिगो असुल उपरको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया