विशङ्खुनारायण मन्दिरमा एकादशी मेला नलाग्ने


सुभानु आचार्य (रासस)

ललितपुरहरेक वर्ष विशङ्खुनारायण मन्दिरमा हरिबोधनी एकादशीको दिन लाग्दै आएको एकादशी मेला यस वर्ष नलाग्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को जोखिमका कारण यस वर्ष हरिबोधनी एकादशी दिन लाग्ने मेला पूर्ण रुपमा बन्द गरिएको छ ।

गोदावरी नगरपालिका२ स्थित सो मन्दिरमा एकादशीको मेलामा भक्तजन बढी मात्रामा दर्शन गर्न आउने भएकाले कोभिड१९ को उच्च जोखिमलाई मध्यनजर गरेर मेला लाग्न नदिने निर्णय गरेको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, ‘मन्दिर प्रवेश गर्ने ठाउँ साँघुरो रहँदा भक्तजनको भीडभाडले कोरोना फैलिने सम्भावना उच्च रहेकाले मेला लाग्न रोक लगाइएको हो ।

नारायण दर्शन गर्न देशभरका मानिस विशङ्खु आउने हुँदा यसवर्ष कोभिडका कारण नआउन अनुरोध गरिने वडाध्यक्ष देवेन्द्रकुमार बस्नेतको भनाइ छ । मन्दिरमा अन्य दिन झै हरिबोधनी एकादशीको दिनपनि नित्य पूजा मात्र आयोजना गर्ने भएको विशङ्खुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए । उनले भने, ‘हामीले भोलि स्थानीयवासीलाई समेत मन्दिर प्रवेशमा रोक लगाउने भएका छाँै । मन्दिरमा मानिसको चहलपहल देखिने वित्तिकै भीड बढ्ने हुँदा स्थानीयवासीलाई पनि दर्शन गर्न दिइने छैन । नारायण मन्दिरमा कात्तिक १ गतेदेखि मङ्सिर पूर्णिमासम्म दर्शनार्थीको घुइँचो लाग्ने गथ्र्याे । यस वर्ष कोरोना फैलिने ख्याल गरेर मन्दिरमा हुने दैनिक भजनकृतनमा समेत रोक लगाइएको उनको भनाइ छ ।

नेपालका चार नारायणमध्ये विशङ्खुनारायणलाई माइला नारायणका रुपमा पुजिने गरिएको समितिका सल्लाहकार पुरुषोतम विष्टले बताए । उनले भने, ‘हिन्दू धर्मावलम्बीले भक्तपुरको चाँगुनारायणलाई जेठो नारायण, काठमाडाँै दक्षिणकालीमा रहेका शेषनारायणलाई साइला नारायण र इचङगुनारायणलाई कान्छो नारायणका रुपमा पुज्ने गरेका छन् । हरेक वर्ष पुस १ गते विशङ्खुनारायण भगवानको महास्नान हुने गर्छ । महास्नानको दिन वर्षमा एक पटक मात्र भगवानको मूर्तिलाई बाहिर निकालिने चलन रहेको विष्टले जानकारी गराए ।

मुलुकमा कोरोना महामारी आउनुअघि विशङ्खुनारायण मन्दिरमा हरेक हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गथ्र्याे । यहाँ नारायणको पूजा र आरधनाका लागि टाढाटाढाबाट भक्तजन आउने गर्थे । शनिबार र सार्वजनिक बिदाका दिन पनि विशङ्खु घुम्ने, दर्शन गर्ने र वनभोज खाने मानिसको चहलपहल उत्तिकै हुन्थ्यो । हरिबोधनी अर्थात ठूलो एकादशीको दिनदेखि भगवान नारायण जलबाट उठ्ने हुँदा कात्तिक महिनाभर हिन्दू धर्मावलम्बीले चार नारायणको दर्शन गने परम्परा नेपालमा रहेको छ ।

गत वर्षको मेलामा रु ८० देखि ८२ हजार रुपैयाँ उठेको समितिले जनाएको छ । विशङ्खुनारायणथान ललितपुरको एक प्रसिद्ध तीर्थस्थल हो । यो मन्दिर जमिन सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको छ । यो मन्दिर लगनखेलबाट १० किलोमिटर टाढा पर्छ । मन्दिरमा भगवान नारायणको प्रिय बाजा नगरा बजाउने चलन छ । यहाँ केही वर्ष अघिदेखि एक महिलाले भगवानको बिहान पूजासँगै साँझ आरती गर्दा नगरा बजाउँछिन् ।

कात्तिक महिनामा दान, पुन्य गरी जाग्राम बसेर बत्ती बाल्दा श्रीवृद्धि हुने विश्वास हिन्दू धर्मावलम्बीमा रहेको छ । प्रत्येक ठूलो एकादशीको दिन तुलसीसँग भगवान विष्णुको विवाह हुने गर्छ । यो एकादशीमा धुनवेँशी, बनेपा, धुलिखेल, मकवानपुर, हेटाँैडा, धादिङ, नुवाकोट, काभ्रेलगायतका स्थानबाट भाडामा सवारीसाधन लिएर भत्तजन दर्शनका लागि विशङ्ख आउथे ।

विशङ्खुनारायण मेलामा विशेष गरी उखु, खुवा, पिँडालु, बदाम, वन तरुल, सखरखण्डलगायत स्थानीय बारीमा उत्पादन भएका तरकारी अनि फलफूल खुबै बिक्री वितरण हुने गथ्र्यो । हरिशयनी एकादशीको दिनमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिन व्रत बसेर राधाकृष्णको नाममा विभिन्न पकवान बनाएर, फूल, माला, फलफूल बस्त्र र रङ्ग लगाइदिएर पूजाआरधना गर्ने चलन नेपाली समाजमा रहिआएको छ । ठूलो एकादशीको भोलिपल्ट आआफ्ना घरमा तुलसी रोपेका मानिसले होमयज्ञ गरेर तुलसीको उध्यापन गर्ने गर्छन ।

भौगोलिक बनावट शङ्खको आकारमा रहेकाले विशङ्खु भनी नामाकरण भएको स्थानीयवासी ८५ वर्षीय गोविन्द विष्टले जानकारी गराए । उनले भने,‘यो मन्दिर बह्मा, विष्णु र महेश्वरको पालादेखि सुष्टि भएको हो ।

प्रतिक्रिया