कर्णालीपछि सुदूरपश्चिममा सरकार परिवर्तनको चलखेल !


धनगढी – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश ईञ्चार्जसमेत रहेका स्थायी कमिटी सदस्य भीम रावल आफ्नो १० दिने सुदूरपश्चिम बसाई सकाएर सोमबार राजधानी फर्केका छन् ।

रावल बिहान श्री एयरलाईन्सको जहाजबाट काठमाडौं फर्किदै गर्दा प्रदेश सह–ईञ्चार्जसमेत रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट अत्तरियास्थित निवासमा कार्यकर्ताहरुसँग गफिँदै थिए । मन्त्री भट्ट पनि सोमबार साँझ नै श्री एयरलाईन्सकै जहाजबाट काठमाडौं फर्किए । यो पटक उनी चार दिन सुदूरपश्चिममा बसेर काठमाडौं फर्केका हुन् ।

दुवै नेताको पछिल्लो पटकको बसाईलाई सुदूरपश्चिमको राजनीतिक दृष्टिकोणबाट अर्थपूर्ण मानिएको छ । यो भ्रमणलाई यसरी पनि बुझ्न सकिन्छ, जस्तो कि राजधानी फर्किनु एक दिनअघि दुवै नेताले कैलालीमै छुट्टाछुट्टै पत्रकार सम्मेलनको आयोजना गरे । प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावल सहभागी भए भने अत्तरियास्थित निजी निवासमै पत्रकार बोलाएर नेता भट्टले आफ्ना भनाई राखे ।

रावलले स्थायी कमिटीको निर्णयअनुसार, संघीय मन्त्रिमण्डल पुर्नगठन हुनुपर्ने बताउँदै सुदूरपश्चिम प्रदेश सरकारले भने राम्रो काम गरेमा प्रशंसा गर्न भ्याए । उता नेता भट्टले रावलको भनाईलाई खण्डन हुनेगरि नेकपाको पछिल्लो विवाद भागबण्डामा केन्द्रीत भएको आरोप लगाउदै सुदूरपश्चिम प्रदेश सरकारका काम कारबाहीका विषयमा भने असन्तुष्टि व्यक्त गरे । भट्टले प्रदेश सरकारका विषयमा असन्तुष्टि प्रकट गरेको भने पहिलो पटक होइन । नेकपा निकट स्रोतले भट्ट लामो समयदेखि मुख्यमन्त्री त्रिलोचन भट्टदेखि रुष्ट छन् र मुख्यमन्त्री पदबाट हटाउन चाहन्छन् ।

डोटी पुख्र्यौली घर भएका मन्त्री भट्टले नै आफु अनुकुल हुनेगरी डोटीकै त्रिलोचनलाई मुख्यमन्त्री पदमा पु¥याएको घामजस्तै छर्लंग छ । तर, पार्टी एकीकरणपछि सुदूरपश्चिममा भएको एउटा कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमको नेता भीम रावल भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि भट्ट प्रचण्ड खेमाबाट टाढिएका छन् । प्रचण्ड खेमाबाट टाढिएपछि उनले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचनलाई पनि आफु अनुकुल खेमा परिवर्तन गर्न लगाएका थिए, तर त्रिलोचनले खेमा परिवर्तन गर्न नमानेपछि अहिले सरकार परिवर्तनका लागि अनुकुल समय पर्खेर बसेका छन् ।

उनि निकटका एक प्रदेश सभा सांसदले भने, ‘पछिल्लो पटकसम्म आइपुग्दा लेखराज आफ्नो मिसनमा सफल जस्तै देखिएका छन् । सुदूरपश्चिम प्रदेशमा स्पष्ट रुपमा वालुवाटार र खुमलटार खेमामा नेता तथा कार्यकर्ता विभाजित भइसकेका छन् । यो नै लेखराजका लागि ठूलो सफलता हो ।’ पूर्वएमाले र पूर्वमाओवादीका तर्फबाट प्रदेश सभामा निर्वाचित सांसदहरु स्पष्ट रुपमा वालुवाटार, खुमलटार र मुख्यमन्त्री विरोधी गरि तीन खेमामा बाँडिएका देखिन्छन् । जसका कारण त्रिलोचन सरकार संकटमा पर्ने देखिएको छ ।

सुदूरपश्चिम प्रदेश सभामा रहेका ३९ जना सांसदहरुमध्ये लेखराज भट्ट अथवा वालुवाटार खेमामा पठानसिंह बोहोरा, रतन थापा, लिलाधर भट्ट, कुन्ति जोशी, देवकी मल्ल, मानबहादुर सुनार, झपट बोहोरा, बिनिता चौधरीले आफ्नो कित्ता स्पष्ट पारिसकेका छन् । भीम रावल अर्थात् खुमलटार खेमामा प्रकाश शाह, माया भट्ट, अमर साउद, दिर्घ सोराडी, कुलबिर चौधरी, गोविन्द कुंवर, प्रकाश रावल देखिएका छन् ।

त्यसैगरी तेस्रो अर्थात् मुख्यमन्त्री विरोधी खेमामा अधिकांश जसो सांसदहरु देखिएका छन् । यो खेमाको नेतृत्व कसैले गरेको नदेखिए पनि सांसदहरु वीरभान चौधरी, झपट बोहोरा, तारालामा तामाङ, निर्मला बडाल, अक्कल रावल, कुन्ति जोशी, महेश जोशी, पे्रमप्रकाश भट्ट, लालबहादुर खड्का, मानबहादुर सुनार, मानबहादुर धामी, रेखा जोशी, पठानसिह बोहोरा, नेपालु चौधरी, लिलाधर भट्ट देखिएका छन् ।

केन्द्रको लडाईले दुई समूहमा बिभाजित सांसदसँगै आफ्नै मन्त्रिमण्डलका सदस्यसमेत सरकार परिवर्तनको खेलमा लागेपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टका आउने दिन फलामको चिउरा चपाउनुजस्तै असहजिला बन्ने देखिन्छन् । जसले गर्दा कर्णालीमा देखिएको सत्ता परिवर्तनको प्रयास सुदूरपश्चिममा पनि आन्तरिक रुपमा सुरु भइसकेको छ । बाहिर प्रकट हुनुमात्रै बाँकी छ ।

प्रतिक्रिया