बंगलादेशमा इन्टरनेट सेवा बन्द, स्वदेश फर्कंदैछन् नेपाली विद्यार्थी


काठमाडौं-  बंगलादेशमा हिंसा भड्किएपछि इन्टरनेट सेवा बन्द गरिएकाे छ । जसका कारण  त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूसँगको सम्पर्क टुटेको छ ।

आरक्षणको विरोधमा गरेको  प्रदर्शन हिंसात्मक बन्दै गएपछि बंगलादेश सरकारले इन्टरनेट तथा टेलिफोन सेवा बन्द गरेको हो ।

यसैबीच असुरक्षित महसुस गरेका नेपाली विद्यार्थीहरु नेपाल फर्किंदै छन्। हालसम्म ४०० जनाजति नेपाली विद्यार्थीहरू स्वदेश फर्किसकेको बताइएको छ । ढाकास्थित नेपाली दूतावासले कतिपय विद्यार्थी भने नेपाल फर्किएको र केहि विद्यार्थी सडक मार्गबाट भारत हुँदै नेपाल फर्किँदै गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तर, हवाई मार्गबाट आउन खोज्ने विद्यार्थीको हकमा भने इन्टरनेट सेवा बन्द हुँदा हवाई टिकट काट्न समस्या भएको बताइएकाे छ ।  बंगलादेशमा ३ हजार ५ सयदेखि ४ हजारको हाराहारी नेपाली विद्यार्थी छन् ।

केही दिनदेखि आरक्षणको विरोधमा बंगलादेशमा जारी हिंसामा कम्तीमा २५ जनाको ज्यान गएको र सयौँ घाइते भएको बताइएको छ ।

प्रतिक्रिया