

वैदेशिक रोजगार विभागद्वारा होप इन्टरनेशनलमा छापा

काठमाडौं – वैदेशिक रोजगार विभागले लाजिम्पाटस्थित होप इन्टरनेसनलमा छापा मारेको छ । उक्त म्यानपावरले पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिँदै गरेको अवस्थामा छापा मारेको हो ।
उक्त म्यानपावर परिसरमा छापा मार्ने क्रममा विदेशी दूतावासको गाडी पनि भेटिएको छ । विभागको टोली पुगेको थाहा पाएपछि अन्तरवार्ता बन्द गरेर म्यानपावर सञ्चालक, कर्मचारी र दूतावासका अधिकारी कार्यालयभित्र लुकेका छन् ।
यसअघि सोमबार एसओएस म्यानपावर र डीडी ह्युमन रिसोर्स कम्पनीमा पनि छापा मारेर कागजपत्रसमेत जफत गरेको थियो ।
कुनै पनि म्यानपावरले वैदेशिक रोजगारका लागि कामदार पठाउनुपर्दा विदेशस्थित दूताबासबाट प्रमाणीकरण गराएपछि मात्र विभागको स्वीकृतिमा मात्र अन्तर्वार्ता लिन पाउनेछ । सो अन्तर्वार्ताका लागि राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशन गरेपछि मात्र अन्तर्वार्ता लिन पाउनेछ ।
अन्तर्वार्तामा छनौट भएका कामदारको भिषाको लागि सम्बन्धित मुलुकबाट भिषा प्राप्त गरिसकेपछि अन्तिम स्वीकृति लिनुपर्ने हुन्छ ।

