

७६(५)को अधिनमा विपक्षी गठजोडलाई व्यवाहारिक प्रश्न– सत्ता अर्काकी पत्नी जस्तै हो?

ओली सर्वसत्तावादी भए! घामट भए। अटेरी भए। कामै नलाग्ने भए। मनपरी गर्न थाले। मनोपोली उनको डिएनए जस्तो देखियो। उनका बुवाले भने जस्तो– कालो सर्पले उनको टाउको छोएर गयो र उनमा राजयोग कायम छ।
सत्ताको अनुहार नै लोभलाग्दो हुन्छ। मानौ श्रीकृष्णले राधालाई गरेको प्रेम जस्तो। त्यो कुर्सीको ताकत र तिर्खा कहिल्यै नमेटिने हुन्छ। मानौ, महादेवले सतीदेवीको प्रेममा लास बोकेर ब्रम्हाण्ड परिक्रमा गरे जस्तो।
सत्ता अचुक प्रेमिल हुन्छ। मानौ कि शेरबहादुर देउवाले कांग्रेस फुटाएर १८ असोज निम्त्याए जस्तो। सत्ता भयानक आकर्षक उपहार जस्तो हुन्छ– मानौ कि ओलीको अघिल्लो सत्ता गिराएर प्रचण्ड आफैं प्रधानमन्त्री बने जस्तो।
यसलाई बिम्बका रुपमा बुझ्नका लागि तमाम नारीहरूमा माफीसहितको आग्रह गर्दै एउटा उखानको साहरामा सोध्छु– के सत्ता राम्री लागेकी अर्काकी पत्नी जस्तै हो?
एउटा भनाई छ नि,‘छोराछोरी आफ्ना राम्रा, पत्नी अर्काकी राम्री।’ के सत्ता त्यस्तै हो?
यीनै नेताहरू भन्छन्– राजनीतिको अचुक यात्रा र लक्ष्य भनेकै सत्ता प्राप्ति हो। तर सत्ता यो पनि होइन नी कुनै वेश्यालयकी सुन्दर नगरबधु जसलाई बारम्बार भोग गरियोस्। एकपटक ७६ बर्षिय शेरबहादुरको बिगत हेरौं त कतिपटक प्रधानमन्त्री भए र के–के गरेका रहेछन्?
यो प्रश्न नाजायज हुँदैन यसबेला। यो यसकारण जायज हो की, उनीहरूले सर्वोच्च अदालतमा हालेको मुद्दा र मागदाबी त्यस्तै नै छ। यसले नयाँ डिस्कोर्सको सुरुआत कहाँ गरेको छ? नयाँ बहस र आउने पुस्ताको प्रतिनिधित्व कहाँ गरेको छ?
ओलीको विकल्प भनिएको छ। हो, ओलीको विकल्प अनिवार्य चाहिएको छ तर शेरबहादुर? अथवा प्रचण्ड, माधवकुमार नेपाल या उपेन्द्र यादव? एक जना विद्वान नेता डा. बाबुराम भट्टराईले बालुवाटारमा सत्ता माग गरेर फर्केपछि लेखेका थिए– अब पूर्वप्रधानमन्त्री र बाहलावाला होइन, नयाँ अनुहारलाई प्रधानमन्त्री बनाऔं र राष्ट्रिय सहमतिको सरकारका आधारमा निर्वाचनमा जाऔं।
तर तिनको ल्याप्चे पनि त शेरबहादुरकै नाममा परेछ हगि?
अब नयाँ पुस्ताले प्रश्नहरूको नयाँ डिस्कोर्स तयार पार्नुपर्छ। नेपालको संविधान मन्थनको जगमा त उभिएको हो तर जारी हुँदै गर्दा तराईका युवाको टाउका र निधारमा गोली दागिएर पनि बनेको भन्ने भुल्न हुँदैन। यद्यपि, त्यो फरक विषयलाई अर्को अर्थमा व्याख्या गरौंला।
अहिले प्रश्न गरौं– संविधानको धारा ७६(५)को व्याख्या र विपक्षी गठबन्धनका नाममा प्रस्तावित प्रधानमन्त्रीको बाध्यता अनि संविधान जोगाउने नाममा आएका अनेक तर्कवितर्क र कुतर्कका कुत्सित मनसायहरुमाथि।
माफ गर्नुहोला, प्रायोजित नागरिक समाज अथवा नागरिक अ(गुवा), धार्मिक मान्यतालाई मास्ने पश्चिमा दूतावास र एनजिओ, आईएनजिओ परिचालित सम्पादकहरूले सुरु नगरेको डिस्कोर्सका बारेमा प्रश्न हो। एउटा भयंकर सिन्डिकेट छ, पत्रकारितामा पनि। सुकिला मुकिला सम्पादकहरू कहाँबाट कसरी परिचालित छन्? यो पनि अहम् प्रश्न यसैबेला बन्नेछ, बन्नुपर्छ।
यदि ओलीले संविधान भत्काएर अघि बढे भने हामी राजनीतिमा नयाँ विचार र व्यवाहारिक पक्षलाई किन विश्वसनीय बनाउने प्रयत्नमा चुक्यौं भन्नेचाहिँ यी बृद्धभत्ता खाने नेताले किन सोचेनन् होला? के यीनको मानसिकतामा राजनीति भन्ने चिज हस्तान्तरण गर्ने एउटा प्रक्रिया पनि हो भन्ने ज्ञान थिएन र?
७६(५) अर्थात् एउटा सांसदले सरकारमा दाबी गर्ने र संविधान जोगाउने भन्ने अहिलेको मूल प्रश्न प्रायोजित र कृत गरिएको छ। यसका सैद्धान्तिक र स्वार्थका भित्री कथालाई सहजै बुझ्न सकिन्छ कि, प्रचण्डको प्रयासमा शेरबहादुरले प्रधानमन्त्री नपाए चुनावमा जाने ‘धराप’ थापे होला। माओवादीका भाषामाचाहिँ ओलीको विकल्पमा जाने हो भने कुनै अर्को व्यक्ति होइन, मै प्रधानमन्त्री बन्ने निश्चितता हुनुपर्छ भन्ने ‘एम्बुस’ थापिदिए।
अरुलाई ओली हटाउनुथियो। त्यो एम्बुस ओलीका लागि नै प्रयोग गर्ने सहमति बन्यो, जहाँ माधवकुमार नेपालको पनि पार्टी स्वार्थ भिजेको थियो। नत्र त बजारमा नेपाल नै प्रधानमन्त्री बन्ने भन्ने चर्चा सतहमा नआएको हो र?
तर, हामीले सोध्नुपर्ने व्यवाहारिक पक्ष यदि ओलीले संविधान भत्काएर अघि बढे भने हामी राजनीतिमा नयाँ विचार र व्यवाहारिक पक्षलाई किन विश्वसनीय बनाउने प्रयत्नमा चुक्यौं भन्नेचाहिँ यी बृद्धभत्ता खाने नेताले किन सोचेनन् होला? के यीनको मानसिकतामा राजनीति भन्ने चिज हस्तान्तरण गर्ने एउटा प्रक्रिया पनि हो भन्ने ज्ञान थिएन र? त्यो ज्ञान भए पनि यीनका लोभ अतृप्त छन्। असीमित छन्। डेढ बर्षका लागि शेरबहादुरलाई राखिने कुर्सीमा आफूलाई देखिरहेका छन्। त्यसबाहेक ओलीले राज्यसत्तामा सर्वस्व एक्लौटी पारेको असीमित दुख छन्, बरा!
फरक डिस्कोर्समा बहस किन भएन?
ओली हटाउने भन्दा अर्को कुनै पनि विकल्पको डिस्कोर्समा बहस किन उठाइएको छैन? नागरिक अ(गुवा), कानुनविद, राजनीतिक दलका कार्यकर्ता, सांसदले किन स्वतन्त्र अधिकारमा ओलीको विकल्पमा नयाँ पुस्तालाई नेतृत्वमा, राज्यको जिम्मेवारी दिने डिस्कोर्समा बहस चलाएनन्।
जबकि, उनीहरू दाबी गरिरहेका छन्– संविधानको ७६(५)को सरकार भनेको कुनै दल, दलको नेता अनिवार्य होइन। त्यसो भए कांग्रेसका संसदीय दलका नेता देउवालाई किन विकल्पमा चुनियो? कांग्रेसकै नेतृत्वमा जाने भए युवा पुस्तामा लोकप्रियता जमाइरहेका र सदनमा पनि ओलीलाई कडा प्रश्न गरिरहेका गगन थापालाई किन विकल्पको प्रधानमन्त्रीका लागि तयार पारिएन? गगन सही थिएनन् होला अर्को कुनै आदीवासी जनजाती र मधेसी अनुहारलाई किन चुनिएन?
प्रश्न प्रतिनिधिमूलक हुनेछन्। यस अर्थमा नयाँ डिस्कोर्स किन तयार गरिएन। लौ, सांसदको मात्रै सवाल हो भने अहिले ओलीसँग बिद्रोह गरिरहेका, उनकै सांसदको समर्थनमा मात्र प्रधानमन्त्री बन्न सकिने भए, नेपाल समूहबाट घनश्याम भुसाललाई किन प्रस्ताव गरी समर्थनको बाटो खोलिएन?
भुसाल पनि भएनन्। देशको माया गर्ने, सँधै राष्ट्रियताको पक्षमा बोल्ने भनिएका, भिम रावललाई किन प्रस्ताव गरिएन? ल यी सबै छाडेर अन्तिम विकल्पका रुपमा महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार भएको भन्ने प्रचारमा रमाएका शेरबहादुर र प्रचण्डहरुले उपेन्द्र यादवलाई किन प्रस्ताव गरेनन्?
ओलीको विरोध र उनका कदमका अनेकन टिप्पणी गर्ने सम्पादकहरूले यो डिस्कोर्समा किन छलफल चलाएनन्? चल्न किन दिइएन? यो पनि छाडौं, इतिहास बनाउने यो मौकामा ति जनमोर्चाकी एक मात्र सांसदलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने प्रस्ताव किन भएन?
आम जनता अहिले एकअर्काको आलोचनामा व्यस्त छन्। तर, सत्ताको मुख रातो हुन्छ। यी बृद्ध भत्ता खाने उमेरमा दौडधुप गरिरहेका नेताहरुको मानसिकता नै कुर्सीलाई पैत्रिक सम्पत्ती ठान्ने छ। यीनबाट विकल्प र राजनीतिमा नयाँ युगको कल्पना हुन सक्ने देखिँदैन।
जनतासँग विकल्प छन्
पुस्तान्तरणको डिस्कोर्समा बहस नचलुन्। विकल्पमा विविधताका आयाम नआउन्। यीनको मनसाय ओली हटाएर साइकलको चेनजस्तो घुमीफिरी आफूमात्रै नेतृत्वमा हुनुपर्छ भन्ने मानसिकता छ। तर जनतासँग विकल्प छन्। र त्यो सबैभन्दा उत्तम विकल्प चुनाव हो।
अबको पुस्ताले, राजनीतिमा विकल्पको खोजी गर्ने ताकत र शक्तिले चुनावको उपयोग गर्नुपर्छ। चुनावमा यी बृद्धभत्ता खाने उमेरका सबैलाई बृद्धाश्रमको बाटो देखाउनुपर्छ र सिंहदरबारमा युवाको एउटा महासभा खडा गर्नुपर्छ। त्यसले चुन्नेछ नेपालको नयाँ युवा प्रधानमन्त्री र देशलाई गति दिने नेता। होइन भने इतिहासले नेपाली जनतालाई सोत्राइरहनेछ, हामी नेता भएनन् भनेर बर्बराइरहने छौं। यो निरन्तरता चलिरहनेछ। चल्न नदिने भए, विकल्प रोजौं।

