पछिल्लो २४ घण्टामा विपद् घटनामा पाँच जनाको मृत्यु, ११ घाइते


काठमाडौं-  पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु र रोल्पामा गरी पाँच जनाको ज्यान गएको हो।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार रौतहट, बारा र कपिलवस्तुमा सर्पदंशका घटनामा एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो। यस्तै रोल्पाको गङ्गादेव गाउँपालिका–रातमाटामा खहरे खोलाले बगाउँदा दुई बालकको मृत्यु भएको हो।

यस अवधिमा मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा र कञ्चनपुरसहितका जिल्लामा २५ वटा विपद्जन्य घटना भएका छन्। ती घटनामा ११ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार उक्त विपद्जन्य घटनाबाट करिब ६३ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ।

प्रतिक्रिया