बारा कांग्रेस सभापति राजेश यादव निलम्बित


ललितपुर – नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको तथा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा उनलाई निलम्बन गरिएको हो।

पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बिहीबार केन्द्रीय अनुशासन समिति संयोजक तारामान गुरुङको अध्यक्षतामा बसेको बैठकले यादवलाई अन्तिम निर्णय नआउन्जेलसम्म जिल्ला सभापतिको हैसियतमा कुनै पनि कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।

यादवविरुद्ध गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन सक्रिय भूमिका खेलेको भन्दै केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो।

उक्त उजुरीमाथि छानबिन गर्ने क्रममा समितिले पहिलो पटक गत वैशाख ३० गते पाँच दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। तर तोकिएको अवधिमा कुनै जवाफ प्राप्त नभएपछि जेठ १२ गते पुनः तीन दिनको समय दिँदै दोस्रो पटक स्पष्टीकरण माग गरिएको थियो।

समितिका अनुसार यादवले दोस्रो पटकको स्पष्टीकरण मागलाई समेत बेवास्ता गरेका थिए। दुई पटकसम्म स्पष्टीकरणको अवसर प्रदान गर्दा पनि कुनै प्रतिक्रिया नआएपछि थप अनुसन्धान आवश्यक रहेको निष्कर्षसहित अन्तिम निर्णय नहुँदासम्मका लागि उनलाई निलम्बन गरिएको हो।

प्रतिक्रिया