

पार्टी, पार्टनर र परिवारमा पीडित प्रचण्ड

काठमाडौं– खैरो सर्ट, उस्तै पाइन्ट। बेजोड कौतुहलताबीच बालुवाटारमा उत्रिएका पुष्पकमल दाहाल प्रचण्ड पार्टी, पार्टनर र परिवारमा अधिक पीडित भएको स्पष्ट चित्र देखिएको छ।
खुला राजनीतिमा उत्रिएको केही समयमा नै शान्ति सम्झौता गरी मैदानमा उत्रिएर आकस्मिक रुपमा राजनीतिक उकालो चढेका प्रचण्डको ओरालो यात्रा कसरी भयो?
५ मंसिर ०६३मा शान्ति सम्झौता गरी ०६४ को संविधानसभाको चुनावी मैदानमा उत्रिँदा प्रचण्ड शक्तिशाली थिए। राजनीतिक स्थायीत्वका लागि पुनःस्थापित प्रतिनिधि सभामा प्रचण्डलाई गिरीजाप्रसाद कोइरालाले एमाले सरह नै सीट दिएका थिए।
‘कृष्णप्रसाद सिटौलाको प्रस्तावका आधारमा नै गिरीजाबाबुले माओवादीलाई ठूलो स्थान दिएका थिए’, एक नेता भन्छन्,‘माओवादीले त्यसबेला असोचनिय सफलता पनि पाएको थियो, जसको सर्वमान्य नेता थिए प्रचण्ड।’
माओवादी चुनावी मैदानमा उत्रिँदा प्रचण्ड आफैंले पनि राजनीतिक ओज राख्न नसकिने हो की भन्ने त्रासदी थियो र समानुपातिक निर्वाचन प्रणालीमा जोड गरेका थिए। त्यसबेला चुनावी मैदानमा उत्रिएका तत्कालिन माओवादीका एक नेता भन्छन्,‘माओवादी एक्लैले प्रत्यक्षमा बहुमत ल्याएको थियो। त्यस्तो नतिजाको प्रक्षेपण गरेको भए त समानुपातिकमा जाने कुरा थिएन।’
सत्ता कब्जाको रणनीतिअनुसार चुनावी मैदानमा ब्यापक जीत निकालेका प्रचण्ड गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पनि भए। तर त्यसपछि उनले राजनीतिक, प्रशासनिक कदम जुन प्रकारले चाल्न थाले १५ बर्षपछि उनी जत्तिका पीडित कोही देखिएका छैनन्।
सेनापति, पशुपति चलाउन थालेपछि प्रचण्डको ओरालो यात्रा सुरु भयो। त्यहि बीचमा नागरिक सर्वोच्चताका नाममा उनले चलाएको आन्दोलनलाई माधवकुमार नेपाल नेतृत्वको सरकारले दबाएपछि प्रचण्डको राजनीतिक ग्राफ ओरालो लाग्ने निश्चितप्रायः देखिन थालेको थियो।
पार्टीमा घेराबन्दी, पार्टनरको बहिर्गमन
दुई लाइन संघर्षमा सँधै नेतृत्वमा आएका प्रचण्ड जनमुक्ति सेनाको व्यवस्थापन हुन थालेपछि घेराबन्दीको पनि शिकार हुन थाले। प्रचण्डको सरकार गिरेपछि, माधव नेपालको सरकार बनेको थियो। नेपालले पनि प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पार्टी र पार्टनरलाई जानकारी नदिई प्रचण्डले झलनाथ खनालसँग ७ बुँदे सहमति गरी प्रधानमन्त्री बनाएका थिए।
यसपछि झन् उनको पार्टीमा ओरालो यात्रा सुरु भयो। खनाल सरकार ६ महिना मात्र टिक्यो, त्यसपछि तत्कालिन मधेसी जनाधिकार फोरमलगायतसँग सहकार्य गरी डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन सफल भए।
‘पहिलो संविधानसभाको कार्यकाल ६ बर्षसम्म प्रचण्डले खुला राजनीतिमा पार्टीमा पनि हाँक गरे’, उनीनिकट स्रोतले भन्यो,‘त्यसपछि ओरालोयात्राको स्पष्ट चित्र देखिन थाल्यो।’
संविधानसभा भंग अघि माओवादीभित्र आन्तरिक संघर्ष चुलियो। प्रचण्डलाई नेतृत्वबाट हटाउनका लागि तत्कालिन उपाध्यक्षत्रय मोहन वैद्य किरण, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा बादलको धोवीघाट बैठक भयो। त्यसलाई चिर्न प्रचण्डले डा. भट्टलाई प्रधानमन्त्री बनाइदिए।
दोस्रो संविधानसभा चुनावको तयारी हुन थालेपछि माओवादीका एक जना बलिया पार्टनर मोहन वैद्य किरण प्रचण्डलाई ‘गद्दार’ नाम दिएर विभाजनको यात्रामा लागे। ‘माओवादीमा हार्डलाइनर भनेर चिनिने वैद्यको बहिर्गमनले प्रचण्डको तत्कालिक नेतृत्व त कायम रहने भयो तर उनी कमजोर बन्दै गए’, स्रोतले भन्यो।
वैद्यसँगै रामबहादुर थापा बादल, नेत्रविक्रम चन्द विप्लव, सीपी गजुरेललगायतका क्रिम नेता प्रचण्डदेखि अलग भए। ‘माओवादीमा एउटा शक्तिशाली पंक्ति अलग हुने निर्णयले धक्का पुगेको थियो। जसको रणनीतिमा जनयुद्ध सफल भएको थियो, ति रणनीतिकार नै अलग भएपछि प्रचण्ड स्वभाविक रुपमा कमजोर हुन थाले’, पूर्वमाओवादी नेता भन्छन्।
दोस्रो संविधानसभाको निर्वाचन तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले सम्पन्न गरायो। तर, माओवादी पार्टी खुला राजनीतिमा आएको ७ बर्षभित्र निक्कै तल झरिसकेको थियो। जनमतअनुसार सदनमा माओवादी तेस्रो भयो। एमाले दोस्रोमा उक्लियो भने कांग्रेस पहिलो दल बन्न सफल भयो।
जसोतसो समयसीमाभित्र दोस्रो संविधानसभाले संविधान दियो। यहि बीचमा डा. बाबुराम भट्टराईले माओवादी त्यागे र नयाँ शक्ति भन्ने दल गठन गरी प्रचण्डसँग राजनीतिक सम्बन्ध विच्छेद गरे।
त्यसपछि प्रचण्डले माओवादी शक्ति आर्जनमा अभ्यास गर्ने क्रममा वैद्यको पार्टी छाडेर बादललगायतका नेता माओवादी केन्द्रमा फर्किए। विप्लवहरू विद्रोहको अर्को चरणमा थिए।
माओवादीले दोस्रो पटक सरकार बनाएर शक्ति आर्जनको लय समातेको थियो। प्रचण्ड अझ बलियो हुने राजनीतिक लोभमा आकर्षित भए र एमालेसँगको गठबन्धनमा प्रतिनिधि सभा, प्रदेशसभामा चुनावी मैदानमा उत्रिए।
प्रचण्डलाई केही हदसम्म यसले पुनर्रोत्थानमा सहयोग गरेको थियो। पार्टी एकीकरणपछि नेकपा बन्यो। तर, उनले जसरी माओवादीमा दुई लाइन संघर्षभित्र खेलेर नेतृत्वमा रहने अभ्यास गरेका थिए त्यसलाई नेकपामा भित्राए। यो संघर्षमा एउटा कालसम्म प्रचण्ड बलिया देखिन्थे तर अहिले निरिह बनेका छन्।
५ पुसमा प्रतिनिधि सभा विघटनपछि नेकपा स्पष्ट दुई धारमा उभियो, त्यसबेला प्रचण्ड एक हदसम्म सफल भएको अनुमान गरिएको थियो। एमालेको ठूलो पंक्ति माधवकुमार नेपाल, झलनाथ खनाललगायत उनको पक्षमा उभिएका थिए। तर माओवादी केन्द्र बन्दा आएका बादल, पार्टीमा रहेका टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत भने प्रधानमन्त्री केपी ओलीको पक्षमा उभिए।
यसबेला पनि प्रचण्ड पीडित र प्रताडित थिएनन्। २३ फागुनमा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रचण्ड पार्टी र पार्टनरबाट पीडित बन्न पुगे। खासगरी एमालेका नेता आन्तरिक संघर्षमा उत्रिने निर्णयमा पुगे भने ओलीतिर लागेका माओवादी नेता पार्टीमा फर्किएनन्। माओवादी केन्द्रको झन्डै ४० प्रतिशत प्रभाव गुमेको अनुमान गरिएको छ।
एमालेभित्रको शक्ति संघर्षमा खेल्दै ओली सरकार गिराउनका लागि माधव नेपालको साथ पाउने विश्वासमा रहेका प्रचण्डलाई केही दिन अघि मात्र धोका भयो। यता एमाले मिलनविन्दुतिर लम्कियो भने उता प्रचण्डले स्थायी कमिटीमा ब्रिफिङ गरे,‘माधव नेपालबाट धोका पाइयो।’
प्रचण्डको राजनीतिक उडान र बैठानमा आन्तरिक शक्ति संघर्षले मात्र होइन, वैदेशिक हस्तक्षेपले पनि काम गरेको कतिपयको विश्लेषण रहेको छ।
परिवारमा पीडा
प्रचण्ड राजनीतिक रुपले जति कमजोर हुँदै गए यता उनको परिवारमा पनि सोही प्रकारको बज्रपात परिरहेको थियो। १५ बर्षको खुला राजनीतिक जीवनमा उनले जेठी छोरी ज्ञानु दाहाललाई गुमाए।
ज्ञानुलाई क्यान्सर थियो। उनको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उक्त शोक एकातिर थियो भने राजनीतिक हाँकमा तिव्रता दिनुपर्ने बाध्यता अर्कातिर थियो, प्रचण्डलाई।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन ताका उनका एक मात्र पुत्र प्रकाश दाहालको ‘सडेन डेथ’ भयो। अकास्मात एउटा युवक तथा राजनीतिमा परिपक्वतातिर लम्किरहेको छोरोको निधनले प्रचण्डलाई अर्को ठूलो बज्रपात परेको थियो।
प्रकाशको निधनपछि उनको परिवारको पीडा कायम रहेको छ। ५२ बर्षसम्म जीवनलाई साथ दिइरहेकी पत्नी सीताको अवस्था गतिलो छैन। प्रकाशको निधनपछि बिरामी परेकी सीताको उपचारमा प्रचण्ड सिंगापुरदेखि अमेरिकासम्म पुगे तर खासै सुधार आउन सकेको छैन।
राजनीतिक रुपमा ओरालोयात्राको एउटा बाध्यतालाई खेपीरहेका प्रचण्डलाई परिवारमा पनि ब्यापक पीडा छ।

