
सिंगापुरमा हाम्रा तीन दिन
मलेसियाबाट सन् १९६५ मा अलग भएको सिङ्गापुर अन्तर्राष्टिय अर्थव्यवस्थामा नयाँ औद्योगिक देशका रूपमा चिनिन्छ । सन् १९७० बाट आर्थिक विकासलाई प्रभावकारी किसिमले अगाडि बढाएका पूर्वी एशियाका दक्षिण कोरिया, ताइवान, हङकङ र सिङ्गापुर सन् १९८० मा विश्वमा ‘विकासको दौडमा सबैलाई उछिन्ने’ देशका रूपमा देखिएका हुन् । आर्थिक विकासका क्षेत्रमा पूर्वी एशियाका यी देशले प्राप्त गरेको यो एतिहासिक सफलतालाई कतिपय विकासविद्हरूले ‘पूर्वी एशियाको चमत्कार’ को रूपमा प्रचारप्रसार पनि गरे । आर्थिक सामाजिक विकासका दृष्टिले कतिपय विकासविद्ले ‘पूर्वी एसियाका बाघ’ भनेर चर्चा गर्ने गरेका यी चार देशमा पनि जम्मा ७१०.२ वर्ग किलोमिटर (२७४. २ वर्ग मिल) क्षेत्रफल भएको सानो देश सिङ्गापुरको विकास रफ्तार अझ तीव्र देखिन्छ ।
‘डुइङ बिजिनेस इन्डिकेटर’मा राम्रो ठहरिएको देशमा वाह्य लगानी भित्रिने र त्यस्तो देशको आर्थिक विकास छिटो हुने मान्यता लामो समयसम्म रह्यो । ‘डुइङ बिजिनेसको विश्वव्यापी सूचकाङ्कमा सिंगापुर पटकपटक पहिलो नम्बरमा रह्यो । सिंगापुरमा पब्लिक र प्राइभेट कम्पनीमध्ये ७०. ५ प्रतिशतले नियमित रूपमा कर कार्यालयमा वार्षिक विवरण बुझाउने, नियमित रूपमा साधारण सभा गर्ने र सेयरहोल्डर समक्ष कम्पनीको वार्षिक वासलात पारदर्शी गर्ने गरेका छन् र तिनले राज्यबाट ‘हरियो स्टिकर’ पाएका छन् भन्ने गरिन्छ । मुलुकभित्र गतिलो र भरपर्दो नियमनकारी निकाय भएपछि र मुलुकभित्र सुशासन फस्टाएपछि सुधारले निरन्तरता पाउने र दिगो विकास हुन सक्ने कुरालाई सिंगापुरले पुर्नपुष्टि गरेको छ । भनिन्छ— सिंगापुरमा कुनै पनि व्यापारिक प्रतिष्ठानको सामान्यतः जुनसुकै काम १५ मिनेटभित्र सकिन्छ वा सो समयभित्र काम प्रारम्भ भई सम्पन्न नहुन्जेल सरकारी संयन्त्र क्रियाशील भइरहन्छ ।
आधुनिक सिङ्गापुरका जन्मदाता ली कुआन यु हुन् भन्ने गरिन्छ । सन् १९२३ सेप्टेम्बरमा सिङ्गापुरको धनी परिवारमा जन्मेका ली कुआन युले प्रारम्भिक शिक्षादिक्षा सिङ्गापुरकै स्कूलमा र उच्चशिक्षा बेलायतबाट हासिल गरेका हुन् । अध्ययनमा सधै अब्बल ली बेलायतमा कानुनको अध्ययन समाप्त गरी स्वदेश फर्किएर वकालत गर्दागर्दै सन् १९५४ मा ‘पिपुल्स एक्सन पार्टी’ नामक राजनीतिक सङ्गठन निर्माण गर्न पुगे । त्यस पार्टीको संस्थापक महासचिव ली सन् १९९२ सम्म सोही पदमा रहे । सन् १९५९ मा स्वशासित सरकारका प्रधानमन्त्री बनेका ली सन् १९६३ को सेप्टेम्बरमा सिंगापुर मलेसियाको एउटा प्रदेशको रूप रहदा पनि सिङ्गापुरको प्रधानमन्त्री रहे र सन् १९९० सम्म अर्थात् ३१ वर्षसम्म उनी लगातार सिंगापुरको प्रधानमन्त्री पदमा रहेर काम गरे ।
ली मुलुकलाई समृद्ध बनाउने निर्णायक तत्व नागरिक नै हुन्; त्यसैले नागरिकको शिक्षा, तालीम, ज्ञान, प्राविधिक क्षमता मुलुकका लागि आधारशिला हो अतः मुलुकलाई गतिशील बनाउन मर्यादित र योग्य अधिकतम व्यक्तिहरू माथिल्लो स्तरमा आवश्यक हुन्छ भन्ने मान्यता राख्थे । राजनीतिक पार्टी निर्माणका सवालमा हल्ला बढी गर्ने कुखुराले एउटा अण्डा दिने र धेरै अण्डा दिने कछुवाको आवाज नै नसुनिने विषयलाई दृष्टान्तको रुपमा प्रस्तुत गरेर ली नारा र योजना फलाक्ने नेताभन्दा परिणाममुखी नेता देशको विकासप्रक्रियाका लागि उत्तम हुन्छ भन्ने गर्दथे । भाषणले मात्र जनसमूहलाई दीर्घकालसम्म बाँध्न सकिँदैन भन्ठान्ने ली पार्टीको भित्री तहमा मन परेका व्यक्तिलाई मात्र स्थान दिने हो भने पार्टी विस्तार गर्न सकिँदैन; पार्टीमा जति बढी निस्वार्थी नेता हुन्छन्; त्यस पार्टीले त्यति बढी जनसमूहलाई आकर्षित गर्न सक्छ भन्ने मान्यता राख्थे । यिनको धारणा थियो— समस्या र अप्ठ्याराहरूबाट पार पाउने उपाय भनेको हामी कति स्वाभाविक योजना बनाउँछौं र कति कडा परिश्रम गर्छौं भन्ने कुरामा निर्भर गर्दछ । लीले अर्थतन्त्रको सुधारका लागि व्यापक औद्योगीकरण, न्यूनमूल्यमा आवास कार्यक्रम, भ्रष्टाचार विरोधी वृहत् रणनीतिजस्ता कार्यक्रम ल्याएर सन् १९६७ मै‘ आर्थिक विकास बोडर्’ गठन गरी वैदेशिक लगानी भित्र्याउने प्रयास गरेका थिए ।
सिंगापुरमा सरसफाइका सवालमा आफै पनि कुचो लिएर जनता र मन्त्रीहरूसंग बढार्न अघि सर्ने ली मन्त्री, सचिव र सभासद्हरूलाई शक्तिको उन्मादमा नपर्न र शक्तिको दुरूपयोग नगर्न कडा चेतावनी दिने गर्दथे । उनी मन्त्री, सभासद् र उच्च तहका कर्मचारीलाई जनसेवाको लागि कडा परिश्रम गर्न र आफ्नो सुकिलोपनको प्रभावमा नपर्न सुझाउँथे । ली जनचेतना विस्तार गर्न, सरसफाइ कायम गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न जन उत्साह र संलग्नताका लागि प्रोत्साहित गर्दथे । यिनले वक्र्स ब्रिगेड स्थापना गरेर बेरोजगार युवाहरूलाई अर्धसैनिक पोसाकमा छाउनीमा राखेर कृषि, सडक निर्माण, ईटा बनाउने तथा निर्माण कार्यको तालीम दिने व्यवस्था गरेका थिए । यस्तो तालिमले ती युवामा अनुशासनमा रहने र मेहनत गर्ने बानीको विकास भयो; सडकमा टहलिएर समय बिताउने प्रवृत्तिमा सुधार भयो । लीकै नेतृत्वमा भएका विकास प्रक्रियाको परिणामस्वरुप जुवा खेल्ने, लागू पदार्थ सेवन गर्ने, अश्लील सिनेमा हेर्ने, बहुपत्नी राख्ने, देहव्यापारका लािग छोरी÷बहिनी पठाउने, भ्रष्टाचार गर्ने र नातावादमा भर पर्ने सामाजिक प्रथा र साँस्कृतिक प्रवृत्तिहरू सिंगापुरमा प्रभावकारी किसिमले न्युनीकरण भए । लीकै गतिशील नेतृत्वका कारण सिङ्गापुरको विकासमा तीव्र रूपान्तरण भएको हो भन्ने गरिन्छ ।
ली देश विकासको पहिलो पक्ष पदवाला÷अधिकारवाला हुन्, तिनले कस्तो र कसरी निर्णय गर्छन्; दोस्रो जनता हुन,् अधिकारवालाका निर्णयलाई तिनले कसरी बुझ्छन् र कुन रुपमा लिन्छन्; तेस्रो पक्ष छिमेकी मित्र हुन् भन्ने मान्यता राख्दथे । प्रशासन संयन्त्र जनताप्रतिको सरकारको प्रतिवद्धता पूरा गर्न सहयोग गर्न सक्षम, इमानदार र लगनशील किसिमको हुनु पर्दछ भन्ठान्ने लीको कुशल नेतृत्वकै परिणामस्वरुप सिंगापुरमा विद्यमान हाँकको सामना गर्न र तिनका प्रवृत्ति तथा नीतिमा आधारभूत परिवर्तन गर्न सफलता प्राप्त भएको बताइन्छ ।
यही सिंगापुरको स्वतन्त्र पारिवारिक पर्यटकीय भ्रमणका क्रममा कौशु र म हाम्रा दुई छोरा सम्यक र सार्थकसहित २७ आश्विन, २०८० तदनुसार १४ अक्टोबर, २०२३ को बिहान सिंगापुरको चाङ्गी एयरपोर्टमा आइपुगेका थियौं । हामी काठमाण्डौबाट बाटिक एयरबाट क्वालालाम्पुर इन्टरनेसनल एयरपोर्ट हुँदै यहाँ आएका थियौं । यही एयरपोर्टमै रहेछ— जेबेल नामको मानव निर्मित विशाल झरना । समुन्द्रको पानीलाई उचाइमा पु¥याएर कृत्रिम झरनाको स्वरुप दिइएको । कृत्रिम झरना हेरेर रमाउने, त्यसलाई भिडियोमा समेट्ने र विविध पोजमा तस्वीर लिएर यस दृश्यावलीलाई स्मृतिमा गाँस्न चाहने पर्यटकहरुले खचाखच भीड जेबेलमा । हाम्रो केही समय यही बित्यो ।
अनि होटलमा आयौं । हामी सिंगापुरमा एएम होटलमा तीन रात बिताउँछौं ।
सिंगापुरमा हाम्रो पहिलो आकर्षणका रूपमा रह्यो— ‘मेरिना बे’ । सिंगापुरमा जता पनि गगनचुम्बी बिर्डिङ्गैबिल्डिङ्ग मात्र देखापर्ने । त्यसमाथि समुन्द्रको पानी ल्याएर सिंगापुरको मध्यभागतिर एउटा ठूलो ताल बनाइएको रहेछ । यस कृत्रिम तालको वरिपरि अग्लाअग्ला बिल्डिङ्गहरु नरहने कुरै भएन । त्यही तालमा जोडेर निर्माण गरिएका रहेछन्— तीनवटा सन्ताउन्न तले बिल्डिङ्ग । ती तीनवटा बिल्डिङ्गलाई एउटै छतमा गाँसिएको । त्यही साझा छतमा रहेछन्— होटल र रेस्टुरेन्टहरू । ती तीन बिल्डिङ्गको सामुमा विस्तृत फैलावटको प्राङ्गण । तल तालको एक छेउमा रहेछ— विशाल फाउन्टेन । ती होटल, त्यो प्राङ्गण, त्यो फाउन्टेन र त्यस वरपरको क्षेत्रको नाम— ‘मेरिना बे’ ।
दिनभरि विशाल व्यापारिक मलका रुपमा देखापर्ने ती सन्ताउन्न तले विल्डिङ्गहरु साँझ छिप्पिदै आएपछि झकिझकाउ हुने । विभिन्न देशबाट ओहिरिएका पर्यटकले प्राङ्गण टनाटन भरिने । अनि संगीतको तालमा त्यही कृत्रिम तालको पानीलाई फोहोरा बनाएर विभिन्न आकार र रङ्गमा नचाएर÷उफारेर फाउन्टेनले मच्चाउने रहेछ— उधुम !
साँझको लामै समयलाई मेरिना बेको रमझमका बीच उत्सवमय बनाएर हामी होटल फर्कियौं । भोलिपल्ट हामीले सिंगापुरको साँस्कृतिक दस्तावेजका रुपमा रहेको ‘फोर्ट क्यानिङ पार्क’ नामक स्मारक, ‘गार्डेन्स बाइ द वे’अन्तर्गतको ‘फ्लोरल गार्डेन’ र ‘सुपर ट्री’ हेर्दै÷रमाउँदै व्यतीत ग¥यौं ।
तेस्रो दिन हामी ‘सेन्टोसा आइल्यान्ड’ र ‘एक्वारियम’ हेर्न÷घुम्न र मोनोरलमा यात्रा गर्न व्यस्त रह्यौं । तीन दिनको समयावधिलाई सिंगापुरमा उत्सवमय बनाएर हामी १७ अक्टोबरका दिन मलेसियाको मेलक्का शहरलाई लक्ष्य बनाएर बसमा सवार भयौं ।
(लेखक समाजशास्त्री हुन् ।)



ईश्वर पोखरेल |



