कैलाली कारागार घटना : पूर्व एसपीले देखाएका दोषी र कमजोरी


काठमाडाैं- कैलाली कारागारमा शुक्रबार भएको झडपमा एक कैदीको मृत्यु र ४७ जना घाइते भएपछि उत्पन्न परिस्थिति क्रमशः सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। छानबिन समितिका सचिव शिवराज जोशीका अनुसार पुनरावृत्ति रोक्न सुरक्षा व्यवस्था कडाइ गरिएको छ।

राष्ट्रिय मानवअधिकार आयोगको टोलीले आज कारागारभित्र प्रवेश गरी कैदीबन्दीको अवस्था, संख्या र समस्या यकिन गरेको छ। क्षमताभन्दा बढी कैदी, परिवारलाई जानकारी नदिइ स्थानान्तरण, तथा प्राविधिक उपकरण र जनशक्ति अभाव जस्ता समस्या देखिएको आयोगले जनाएको छ।

मृतक धनगढी–४ का ३६ वर्षीय भरत चौधरीका परिवारले शव बुझ्न अस्वीकार गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। गम्भीर घाइते तीनमध्ये दुईको सेती प्रादेशिक अस्पताल र एकको काठमाडौँमा उपचार भइरहेको छ।

गत असार २८ र बिहीबार पनि कारागारमा झडप भएको थियो। घटनापछि गठित छानबिन समिति काम गरिरहेको छ भने प्रदेश मुख्यमन्त्री कमलबहादुर शाह सुरक्षा निकायसँग छलफलमा छन्।

यसै विषयमा नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिनाले आफ्नो बिचार व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्:

‘अहिले बजार निकै तातिएको छ कैलाली कारागारभित्र घटेको घटनाको कारण। बजारमा अनेक किसिमका हल्ला आएका छन्। कुनै समाचारमा प्रमुख जिल्ला अधिकारीलाई यी सबै कुराको बारेमा पूर्वजानकारी थियो भन्ने आएका छन्। कुनै समाचारमा सुरक्षा संयन्त्रको कमजोरिको कारण कारागारको घटना घटित भएको हो भन्ने आएका छन्। व्यक्ति–पिच्छेका धारणा आएका छन्।

वास्तवमा व्यवस्थापकीय हिसाबले भन्ने हो भने कारागारको प्रशासन त्रिकोणात्मक नियन्त्रण पद्धतिमा चलेको हुन्छ। त्यहाँको प्रशासकीय व्यवस्थापन गृह मन्त्रालय अन्तर्गतको कारागार व्यवस्थापन विभागले हेर्छ र त्यसको लागि जेलर खटाइएका हुन्छन्। जेलर राजपत्रांकित अधिकृत हुने व्यवस्था छ। कारागारको सुरक्षा प्रशासन त्यहाँ खटिएका राजपत्र अनंकित प्रहरी कर्मचारीको नेतृत्वमा खटेको प्रहरी टोलीको नियन्त्रणमा हुन्छ। भने कारागारभित्रको आन्तरिक प्रशासन कारागारभित्रकै चौकीदार, नाइके, भाइ–नाइकेहरूको जिम्मामा हुन्छ।

कारागारको जेलरले समग्रमा रिपोर्टिङ गर्ने भनेको प्रमुख जिल्ला अधिकारीलाई हो। कारागारको सुरक्षा व्यवस्थाको सम्बन्धमा कारागारमा खटिएको कमाण्डरले जिल्ला प्रहरी प्रमुखलाई गर्ने गर्छ। कारागारमा भएका कैदीहरूलाई चेकजाँच गर्ने, कैदीलाई ल्याइएका सामग्रीहरू चेकजाँच गरेर सम्बन्धित कैदीसम्म पुग्ने व्यवस्था मिलाउने कार्य प्रहरीको जिम्मेवारीभित्र पर्छ।

यहाँ समग्रमा हेर्दा कारागारको व्यवस्था र अवस्थाको बारेमा प्रमुख जिल्ला अधिकाऱ्यले नै चासो राख्नुपर्छ अनि कारागारको सुरक्षाको लागि जिल्ला प्रहरी प्रमुखले नै चासो राख्नुपर्छ, किनकि जेलर भनेको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सहयोग बिना नाम मात्रको हुन्छन्।

कारागारभित्रको आफ्नै संसार हुन्छ। कारागारको संसारलाई बुझ्न कारागारका कैदीको मनस्थिति बुझ्न सक्नुपर्छ। कारागारलाई बुझ्न कारागारभित्रका केही कैदीहरूसँग समन्वय गर्दै चौकीदार, नाइके, भाइ–नाइकेहरूसँगको दबाबपूर्ण अनि सहयोगसहितको सम्बन्ध प्रहरी र प्रशासकको रुपमा रहेका जेलरले निर्वाह गर्नुपर्छ, ताकि संवेदनशील सूचना समयमै प्राप्त होस्। तर, यसतर्फ समग्र जिल्लाको सुरक्षाको जिम्मेवारी बोकेका प्रमुख जिल्ला अधिकारीबाट नभएको देखिन्छ, यदि समाचारमा आएका झैँ पूर्वसूचना प्राप्त थियो भने। अन्यथा कारागारभित्र भएको झडपमा मृत्यु भएका मृतकका आफन्तबाट जाहेरी दरखास्त लिएर मुद्दा दर्ता गरेर कारागारभित्र रहेका अभियुक्तको पहिचानको कार्य सुरुआत गर्न समेत असहज हुने देखिन्छ।

कैदीले तर्साए भनेर तर्सिने गृह प्रशासन नालायक र निकम्मा हो। केन्द्रीय प्रहरी विशेष कार्यदलदेखि सशस्त्र प्रहरी हुँदै आवश्यक परे नेपाली सेनाको प्रयोग गरेर पनि कारागारलाई सुरक्षा निकायले नियन्त्रण गर्नुपर्छ। कारागारमा भएको विद्रोहलाई योजनाबद्ध तरिकाले प्रचलित कानुनको सहायता लिएर बलियो र योजनाबद्ध तरिकाले सुरक्षा फौजको परिचालनमार्फत तत्कालै नियन्त्रण गर्नुपर्छ। त्यसपछि सुरक्षा व्यवस्था बनाउने कार्यमा कसको कमी–कमजोरी थियो भन्ने कुरा खोज्ने हो। कारागारमा कैदीको झडप हुनेबित्तिकै सुरक्षा निकायमा अदलाबदल गर्ने परिपाटी राम्रो होइन। उनीहरुकै नेतृत्वमा सुरक्षा फौज परिचालन गरेर कारागारमा नियन्त्रण कायम गरिनुपर्छ।’

प्रतिक्रिया