सोसल मिडिया कम्पनी दर्ता नहुँदा अनुसन्धानमा समस्या: प्रहरी महानिरीक्षक कार्की


काठमाडौं- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालका ठूला प्लेटफर्महरू नेपालमा दर्ता नभएको कारण आपराधिक अनुसन्धानमा आवश्यक सूचना संकलन गर्न कठिनाइ भइरहेको बताएका छन्।

बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले फेसबुक र इन्स्टाग्रामजस्ता कम्पनीहरू नेपालको कानुनी दायरामा नआउँदा संस्थागत रूपमा विवरण प्राप्त गर्न समस्या हुने गरेको बताए।

उनका अनुसार अनुसन्धानका क्रममा आवश्यक जानकारी प्राप्त गर्न प्रहरी कर्मचारीहरूले विदेशमा तालिमका क्रममा बनाएका व्यक्तिगत सम्बन्ध र ‘नेटवर्किङ’ मा भर पर्नुपर्ने अवस्था रहेको छ।

‘नेपालमा ती प्लेटफर्म दर्ता छैनन् र अन्तर्राष्ट्रिय स्तरमा हाम्रो औपचारिक पहुँच पनि सीमित छ,’ उनले भने, ‘प्रहरी कर्मचारीहरू सिंगापुर, दुबई वा भारतमा तालिमका क्रममा बनाएका सम्बन्धमार्फत कतिपय सूचना ल्याउनुपर्ने बाध्यता छ।’

प्रहरीका अनुसार हराएका व्यक्ति वा आत्महत्या जस्ता संवेदनशील घटनामा २४ घण्टाभित्र जानकारी प्राप्त हुने भए पनि अन्य फौजदारी मुद्दामा विवरण आउन कम्तीमा एक हप्ता लाग्ने गरेको छ।

हाल नेपालमा टिकटक, भाइबर र वीटकजस्ता केही प्लेटफर्म दर्ता भए पनि मेटा (फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम), एक्स, स्न्यापच्याट र युट्युबजस्ता कम्पनी दर्ता नभएको उनले बताए।

यी कम्पनीहरू नेपालको कानुनी संरचनाप्रति जबाफदेही नहुँदा प्रयोगकर्ताको विवरण प्राप्त गर्न र विवादास्पद सामग्री हटाउन कठिनाइ हुने गरेको उनको भनाइ छ।

साइबर अपराधको अवस्था प्रस्तुत गर्दै उनले वित्तीय अपराधका उजुरी सबैभन्दा धेरै रहेको जानकारी दिए। उनका अनुसार १० हजारभन्दा बढी वित्तीय अपराध, ४ हजारभन्दा बढी नक्कली एकाउन्टमार्फत घृणा फैलाउने गतिविधि र ३ हजारभन्दा बढी बुलिङ तथा ह्यारेसमेन्टका घटना प्रहरीमा दर्ता भएका छन्।

इन्टरनेट प्रयोग बढ्दै जाँदा विशेषगरी महिला र युवाहरू यस्ता साइबर अपराधबाट बढी प्रभावित भएको उनले बताए।

प्रतिक्रिया