दुर्गा प्रसाईंविरुद्ध साइबर मुद्दा


काठमाडौं- मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालय काठमाडौँले निर्वाचनविरुद्ध भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको आरोपमा मंगलबार काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

आगामी २१ फागुन २०८२ मा तय भएको प्रतिनिधि सभा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले प्रसाईंले सामाजिक सञ्जालमार्फत विभिन्न भिडिओ सामग्री सार्वजनिक गरेको अभियोगपत्रमा उल्लेख छ । ती अभिव्यक्तिहरूमा उनले ‘निर्वाचन हुन दिइँदैन’, ‘चुनाव गरिए देश टुक्रिन्छ’ र ‘मर्न तयार छु तर चुनाव हुन दिन्न’ जस्ता टिप्पणी गरेका थिए ।

निर्वाचन आयोगले यी अभिव्यक्तिहरू निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर गर्दै २३ माघ २०८२ मा साइबर ब्युरोलाई अनुसन्धान र कारबाहीका लागि पत्र पठाएको थियो ।

अभियोगपत्रअनुसार प्रसाईंले आफ्नो भिडियोमा ‘निर्वाचन नाटक हो’, ‘विदेशीको इशारामा चुनाव गराइँदैछ’, ‘हिन्दु अधिराज्य र राजसंस्था कायम नभएसम्म चुनाव हुँदैन’ जस्ता अभिव्यक्ति दिएका थिए । साथै, उनले चुनाव भए सिंहदरबार, सर्वोच्च अदालत लगायतका संरचनामा आगजनी गर्ने चेतावनीसमेत दिएको उल्लेख छ ।

प्रहरी र सरकारी वकिलसमक्ष दिएको बयानमा प्रसाईंले ती अभिव्यक्ति दिएको स्वीकार गरेका छन् । उनले आफू लामो समयदेखि मेडिकल व्यवसाय र राजनीतिक अभियानमा सक्रिय रहेको र देशको अवस्था तथा विदेशी हस्तक्षेपविरुद्ध आवाज उठाएको दाबी गरेका छन् । उनले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै हिन्दु राष्ट्र र राजसंस्थाको माग गरेको पनि बताएका छन् ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत मुद्दा दायर गरिएको छ । सो दफाअनुसार दोषी ठहर भएमा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।

उनी यसअघि २३ माघ २०८२ मा काठमाडौँको दक्षिणकाली–१ स्थित एक घरबाट पक्राउ परेका थिए र पछि जमानीमा रिहा भएका थिए । तर हाल सम्पर्कमा नआएको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता अनुसार थप कारबाहीको माग गरिएको छ ।

प्रतिक्रिया