
सुनसरीमा बस–माइक्रो ठोक्किँदा भएकाे दुर्घटनामा मृत्यु हुनेकाे संख्या ४ पुग्याे
सुनसरी- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा–नसिंह गाउँपालिका–३ जलुवा टोलमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा मृत्यु हुनेको संख्या चार पुगेको छ भने २३ जना घाइते भएका छन्।
झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो सवारी आज बिहान आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा घाइते भएका २७ जनामध्ये उपचारका क्रममा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मृतकमध्ये सप्तरी मधावे गाउँपालिका–६ का ३५ वर्षीय शंकर मण्डल, सुनसरी कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगरका अशोक यादवको पहिचान खुलेको छ। चौथी मृतक महिला रहेको र उनको पहिचान खुल्न बाँकी छ।
घाइते २३ जनाको अवस्था फरक–फरक रहेको प्रहरीले जनाएको छ। उनीहरू मोरङ, खोटाङ, सप्तरी, उदयपुर, झापा, इलामलगायतका जिल्लाका बासिन्दा हुन्। गम्भीर घाइतेमध्ये केहीको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।



कागजपत्र |
