
रुकुम पश्चिमको विद्यालयमा १० लाख भ्रष्टाचार, विशेष अदालतमा मुद्दा दायर
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) को एक विद्यालयमा भएको आर्थिक अनियमितता प्रकरणमा संलग्न व्यक्तिहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार मुसिकोट नगरपालिका–१ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा विभिन्न शीर्षकमा गरी कुल १० लाख ७५ हजार ७५३ रुपैयाँ ९८ पैसा बराबरको रकम हिनामिना भएको पाइएको छ ।
अनुसन्धानका क्रममा विद्यालयका लागि खरिद गरिएको भनिएका I3 Dell server, scanner, projector लगायतका सामग्री वास्तवमा आपूर्ति नै नगरी झुट्टा बिल बनाएर ४ लाख ८८ हजार रुपैयाँभन्दा बढी भुक्तानी लिइएको खुलेको आयोगले जनाएको छ । त्यस्तै, ICT तालिम सञ्चालन नै नगरी सञ्चालन भएको देखाएर २ लाख २० हजार रुपैयाँ भुक्तानी गरिएको समेत फेला परेको छ ।
यसका अतिरिक्त विद्यालयको आन्तरिक आम्दानी र विद्यार्थीबाट संकलन गरिएको शुल्क बैंकमा दाखिला नगरी खर्च गरिएको, बेरुजु फर्छ्यौटका नाममा अनियमितता गरिएको तथा बिना प्रयोजन रकम झिकिएको समेत अनुसन्धानबाट देखिएको आयोगको दाबी छ ।
उक्त प्रकरणमा तत्कालीन प्रधानाध्यापक हरि प्रसाद खनाल र लेखापाल ठक बहादुर बुढाथोकीसहित अन्य कर्मचारी तथा सरोकारवालालाई प्रतिवादी बनाइएको छ । उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कारबाहीको मागदाबी गरिएको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार विद्यालयको रकम हिनामिना र दुरुपयोगसम्बन्धी कसुरमा संलग्न सबैलाई कानुनअनुसार कारबाही अघि बढाइएको छ ।



कागजपत्र |
