हिन्दूत्व र राजसंस्था उदयको प्रस्थानविन्दु!

नेपालका कम्युनिस्ट खुम्च्याउने ‘इन्डो–इन्डियन रणनीति’


काठमाडौं– नेकपा एमालेका नेता माधवकुमार नेपाल र उपाध्यक्ष भिम रावललाई निलम्बन गरेको पत्र प्रधानमन्त्री केपी शर्मा ओलीले थमाएपछि नेपालमा कम्युनिस्ट एकता धुजाधुजा हुने यात्रामा लम्किएको छ भने नेपथ्यमा रहेको हिन्दूत्व र राजसंस्था उदयको प्रस्थानविन्दु पनि ‘क्लियर’ हुन थालेको छ।

नेपाल समूहले अब संगठित रहेको शक्तिशाली एमालेभित्र तल्लो तहसम्म समानान्तर कमिटी गठनको प्रक्रियालाई अगाडि बढाएपछि नेपालको राजनीति र व्यवस्थाले फरक दिशाको यात्रा तय गर्ने पूर्वानुमान स्वभाविक बनेको छ।

यता प्रतिनिधि सभा कुनै पनि हालतमा भंग हुने अवस्थाको समीकरण र दलहरूको मौनताले काम गराउने र कम्युनिस्ट पार्टी विभाजनलाई रणनीतिक सफलता दिने खेलमा ‘इन्डो–इन्डियन’ मिशन लागेको छ। त्यसका लागि एकीकृत भएको नेकपा विभाजनले मात्र नभएर एमालेको विभाजन अनिवार्य रहेको थियो, जसले लय समातेको छ, सोमबारदेखि।

वडाको इकाईसम्म संगठित रहेको एमाले विभाजन भएपछि मात्र नेपालमा कम्युनिस्ट विचारधारा खुम्चिन सक्ने भएकाले ‘इन्डो इन्डियन’ कुटनीतिले नेपालमा सफलता पाउँछ, अहिलेका घटनाक्रम अस्वभाविक हिसाबले अगाडि बढ्नु त्यसैको संकेत रहेको बताइन्छ।

‘माओवादी क्षत विक्षत भएको र उनीहरूको ग्राउन्ड नभएको भन्ने बुझाई त्यो शक्तिसँग रहेको छ जसका कारण एमालेको विग्रह अनिवार्य देखेका छन्’, उच्च स्रोतले भन्यो,‘त्यसैले यहाँ एउटा संगठित शक्तिलाई विभाजन गरी हावी हुने खेल छ। यसैलाई डिभाइड एन्ड रुलको नीति पनि भनिन्छ।’

यसको विकल्प व्यवस्थामा नै काया पलट गर्दै नेपालमा परम्परावादी शक्ति (राजसंस्था) स्थापनाको अर्को राजनीतिक परिदृश्य देखा पर्न सक्ने स्वभाविक अनुमान गर्न थालिएको छ।

त्यो परम्परावादी शक्ति राजसंस्थाको विकल्पमा कुनै बन्यो भने त्यसलाई पनि समर्थन गरेर अघि बढ्न सकिने वा टिकाउने अभ्यास सुरु भइसकेको छ।

विस्तारै प्रतिनिधि सभा प्रक्रियागत ढंगले भंग हुने र नेपालको राजनीतिक कोर्स जनमत संग्रहतिर लम्किन सक्ने बताइएको छ। त्यो जनमत संग्रहका मुद्दा हिन्दू अधिराज्य नेपाल र राजसंस्था बन्न सक्नेछन्।

‘एमालेमा नेपालमाथिको कारबाही प्रक्रियालाई अति सामान्य रुपमा विश्लेषण गर्नु अनुपयुक्त हुनेछ, यो अति नै दूरगामी असर पार्ने निर्णय हो, परिणाममा देखिनेछ’, उच्च कुटनीतिक स्रोतले भन्यो,‘अब एमालेभित्रको सांगठनिक संरचना नै विभाजित भएपछि चाँडो चाँडो अर्को व्यवस्थाका लागि लविङ हुनेछन्।’

यो प्रक्रिया र प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मौनता, जनता समाजवादी पार्टीको तटस्थाले पूर्णत काम गर्ने अड्कल काटिएको छ। यसको संकेतका रुपमा आफ्ना एजेन्डा स्थापित गराउन सफल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारम्बार भन्ने गरेको ‘संविधानको हत्या, उपलब्धि गुम्ने खतरा’लाई बुझ्नुपर्ने हुन्छ।

अमेरिकाले लिएको इन्डो प्यासिफिक रणनीतिले चीनको बिआरआई विस्तारमाथि बोलिरहेको धावाको एउटा पराकम्पनका रुपमा नेपालमा कम्युनिस्ट पार्टी भत्किने, साँघुरिने लयमा हिँड्नु रहेको बताइन्छ।

इन्डो–इन्डियन रणनीति

अहिले भारतीय कुटनीतिले पूरै कोल्टे फेरेको छ। अमेरिकी रणनीति नेपाल र दक्षिण एसीयामा भारतीय दृष्टिबाट अघि बढेका कारण यसलाई इन्डो–इन्डियन रणनीति भनिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उदयसँगै परम्परावादी शक्तिले दक्षिण एसीयाभित्र भारत बर्षको विकासको लक्ष्य अमेरिकी सहयोगमा लिएको छ। त्यसैले कतिपय भारतीय कुटनीतिक सल्लाहकारले बेलामौका नेपालमा हिन्दूत्व र राजसंस्थाका पक्षधरलाई समर्थन रहेको भनी विवादीत बयान दिने गरेका हुन्।

‘भारतमा जसरी कम्युनिस्ट र युरोपियनको पतन गराइएको थियो, सोही शैलीमा नेपालमा बलियो बनिरहेको कम्युनिस्ट एकता र गठजोडमा दुई पक्षीय हिसाबले नै भताभुङ्ग पार्ने रणनीति बनेको थियो’, उच्च स्रोतले भन्यो,‘त्यसका संकेतहरू नै अहिलेका राजनीतिक, संवैधानिक परिघटना हुन्।’

नेपालको सदनमा गहिरो र पेचिलो मुद्दा बनेको अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन त्यसको एउटा हिस्सा नै रहेको थियो। जसका कारण कम्युनिस्ट पार्टीभित्र बिग्रहको अवस्था आएको हो। ‘यसलाई साधारण रुपमा नबुझौं, एमसीसीको सबैभन्दा बढी विरोध गर्ने एमालेका प्रभावशाली नेपाल र रावलमाथि कारबाहीको पहिलो डन्डा चलाइएको छ’, उच्च स्रोतले भन्यो।

यो कुटनीतिक रणनीति सफल हुँदा नेपालमा निर्वाचन भन्दा पनि बिग्रहको अवस्था ल्याउँदै जनमत संग्रहसम्म लैजाने उक्त रणनीतिको तयारी रहेको छ। जसको मूल एजेन्डा हिन्दूत्व र सहायकचाहिँ राजसंस्था हुन सक्ने बताइन्छ। हिन्दू राज्यका लागि भारतीय कुटनीति मरिमेटेर लागे पनि राजसंस्थाका विषयमा भने स्पष्ट भइनसकेको बताइन्छ।

नेपालमा विदेशी हस्तक्षेपका संकेतलाई अधिक गहिरो रुपमा नै विश्लेषण गर्नुपर्ने हुन्छ। प्रतिनिधि सभा भंग हुनुअघि, तत्कालिन नेकपामा रहेको विवादका क्रममा चीनको सक्रियता, भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलको नेपाल भ्रमण, अमेरिकी राजदूतका विभिन्न उच्च तहका भेट र नेपाली सेनाको तालिममा भाषण दिनु अर्थपूर्ण थिए।

‘चीनका रक्षामन्त्रीले समकक्षीका रुपमा प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेट्नु र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी केही दिनपछि सेनाको प्रशिक्षणमा प्रवचन दिन जानुलाई संयोग मान्नु हुन्न’, उच्च स्रोतले भन्यो,‘सामन्त गोयलको बालुवाटार प्रवेश र त्यसपछिका राजनीतिक, संवैधानिक परिघटना र परिणाम सामान्य होइनन्।’

प्रतिक्रिया