दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी आवागमन बन्द


परासी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा सडक मर्मत र विस्तारको कामलाई तीव्रता दिँदै आगामी वैशाख ३१ गतेसम्म हरेक रात ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।

नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत पर्ने दाउन्ने क्षेत्रमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेका छन्। निर्माण कार्य वर्षाअगाडि सम्पन्न गर्न रातको समयमा यातायात बन्द गरेर काम गर्ने निर्णय गरिएको नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले जानकारी दिए।

यसअघि पनि चैत २७ देखि चैत ३१ गतेसम्म र वैशाख १ देखि हालसम्म रातको समयमा यातायात बन्द गरेर विस्तारको काम भइरहेको थियो। अहिले बाँकी रहेका भित्तातर्फ कटिङ लगायतका कामलाई समापन गर्न थप १५ दिनको समय लाग्ने भएपछि सवारी रोक्ने निर्णय गरिएको हो।

दाउन्ने खण्डमा काम तीव्र बनाउन सवारी रोकेर काम भइरहेको जानकारी दिंदै, बुटवल–नारायणगढ सडक विस्तार आयोजना पश्चिम खण्डका सूचना अधिकारी शशांक मिश्र भन्छन्, “दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेनको सडक बनाउने काम भइरहेको छ, जुन क्षेत्र बढी जोखिमयुक्त पनि हो।”

विकल्पका रूपमा, पूर्वतर्फ मालवाहक सवारीलाई अरुणखोला–चोरमारा क्षेत्रमा तथा यात्रुवाहक र साना सवारीलाई दुम्किबास क्षेत्रमा रोक्ने व्यवस्था गरिएको छ। पश्चिमतर्फ भने सवारी रोक्न बर्दघाट र ज्यामिरे क्षेत्र तोकिएको छ।

गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर खण्डमा सर्भिस लेनसहितको सडक विस्तार भइरेहेको छ। १७ अर्ब रुपैयाँ लागतमा निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थप गरिसकेको छ। अहिले निर्माणको अन्तिम म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ।

प्रतिक्रिया