भारतमा रहेका बाबुराम भट्टराईले भने– नेपालमा राजतन्त्र फर्कने सम्भावना छैन


काठमाडौं – नेपालका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालको सरकारप्रति बढ्दो जनअसन्तोषलाई सम्बोधन गर्न नयाँ राजनीतिक मोर्चा गठन गर्ने घोषणा गरेका छन्। भारत भ्रमणमा रहेका डा. भट्टराईले सोमबार  ‘द हिन्दू’लाई दिएको विशेष अन्तर्वार्तामा लोकतान्त्रिक प्रक्रियामा कुनै कमजोरी नआएको र नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नभएको स्पष्ट पारे।

“नेपाल तीन नेताहरु  शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्ड को चक्रमा फसेको छ । युवाहरु निराश छन्, किनकि आर्थिक विकास निकै ढिलो भएको छ। परिवर्तन चाहने जनताका लागि हामीले ‘प्रगतिशील लोकतान्त्रिक मोर्चा’ वा ‘प्रगतिशील समाजवादी मोर्चा’ नामले नयाँ अभियान सुरु गर्न लागेका हौं,” भट्टराईले भने । हाल उनी नयाँ शक्ति पार्टीका अध्यक्ष छन्, जसले लोकतान्त्रिक समाजवादलाई मार्गदर्शन सिद्धान्त मानेको छ।

भट्टराईले हालै काठमाडौंमा भएको राजतन्त्र समर्थनमा आयोजित प्रदर्शनले पर्याप्त राजनीतिक प्रभाव नजगाएको टिप्पणी गर्दै भने, “जनता लोकतान्त्रिक प्रणालीप्रति होइन, केपी शर्मा ओली र शेरबहादुर देउवाको नेतृत्वप्रति असन्तुष्ट छन् । त्यसैले राजतन्त्र फर्कने कुनै संभावना छैन ।”

२० वर्षअघि सम्पन्न दोस्रो जनआन्दोलनको स्मरणमा भारत भ्रमणमा रहेका भट्टराईले, २००५ को फेब्रुअरीमा राजा ज्ञानेन्द्रले संविधान निलम्बन गरी सरकार अपदस्थ गरेपछि भएको जनविद्रोहले २००६ मा राजतन्त्रको अन्त्य र २००८ मा निर्वाचित सरकारको स्थापना सम्भव भएको स्मरण गरे।

नेपालले २०१५ मा नयाँ संविधान अपनाएको भए तापनि, क्षेत्रीय असमानता र प्रणालीगत विभेद अन्त्य गर्ने वाचा अझै अधुरो रहेको भट्टराईले उल्लेख गरे। उनले संविधान संशोधनको माग गर्दै आएका मधेस र आदिवासी जनजातिहरूको माग पूरा नभएकोमा चिन्ता व्यक्त गरे।

यद्यपि ओली सरकारप्रति असन्तोष बढ्दै गए पनि संसदमा कुनै पार्टीसँग स्पष्ट बहुमत नरहेकाले तत्काल सरकार परिवर्तनको सम्भावना नरहेको भट्टराईको विश्लेषण छ। “परिवर्तन अहिले पनि सम्भव छ, तर गुणात्मक परिवर्तन सम्भव छैन, किनकि ओली, देउवा र प्रचण्ड तीनै जना बदनाम भइसकेका छन्,” उनले भने।

भट्टराईले नेपालमा माओवादी क्रान्ति अधुरो रहनु नै अहिलेको राजनीतिक समस्याको जड रहेको टिप्पणी गर्दै भने, “नेपालको क्रान्ति अपूरो रह्यो, र अहिले देखिएको असन्तोष त्यसको परिणामस्वरूप आएको पीडा हो।”

“ओली र प्रचण्डमा खासै फरक छैन। प्रचण्ड पनि अहिले पुरानो व्यवस्थामा समाहित भइसकेका छन्। त्यसैले हामीजस्ता नयाँ धारका नेताहरु नयाँ मोर्चा निर्माण गर्न लागेको हो,” भट्टराईले स्पष्ट पारे।

प्रतिक्रिया