‘श्री ५ महाराजधिराज’को नाममा वक्तव्य निकाल्नेमाथि कारवाही होस् : ठाकुर गैरे


काठमाडौं – नेकपा एमालेका सांसद तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन समितिका सभापति ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहको नामबाट “श्री ५ महाराजाधिराज” उल्लेख गर्दै जारी गरिएको विज्ञप्तिमाथि तीव्र आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन्।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गैरेले नेपालको संविधानले “श्री ५ महाराजाधिराज” भन्ने पदावलीलाई मान्यता नदिएको प्रष्ट पारे। उनले वैशाख १३ गते संवाद सचिव फणिराज पाठकमार्फत जारी गरिएको उक्त वक्तव्य संविधान र कानूनी व्यवस्थाको उल्लंघन भएको भन्दै तत्कालीन कारबाहीको माग गरे।

“नेपालको संविधान र आजको व्यवस्थामा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र’ भन्ने पद छैन। यस्तो अभिव्यक्ति दिँदै संसद र नागरिक सर्वोच्चताको उपहास गर्नु निन्दनीय छ,” गैरेले भने। उनले संवाद सचिव फणिराज पाठक र पूर्वराजा ज्ञानेन्द्र शाहलाई संविधान र कानूनअनुसार कारबाही गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गराए।

गैरेले थप आरोप लगाउँदै विगतमा तीनकुनेमा घरभित्र पत्रकार जलाएर मारिएको र गाडीले किचेर प्रहरीको हत्या गराइएको घटनामा समेत ज्ञानेन्द्र शाहको संलग्नता रहेको दाबी गरे। उनले यस्ता गम्भीर घटनामा पनि जिम्मेवारी नलिएको भन्दै ज्ञानेन्द्रलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याए।

 

 

प्रतिक्रिया