रविको छवि र कर्मले रास्वपा विभाजनको संघारमा, को–को रविप्रति रुष्ट ?


स्थापनाको दोस्रो वार्षिकोत्सव मनाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फुटको संघारमा पुगेको छ । महामन्त्री डा. मुकुल ढकालको पछिल्लो विज्ञप्तिसँगै रास्वपामा सभापति रवि लामिछानेको ‘कर्म’प्रतिको असन्तुष्टि छताछुल्ल भएको छ ।

स्थापनालगत्तै वैकल्पिक शक्तिको रुपमा संसदमा पुगेर सत्ताको स्वाद चाखेका सभापति लामिछानेको कार्यशैलीप्रति पार्टीका अन्य नेताहरु असन्तुष्टी बाहिरिने क्रम विस्तारै बढ्दै गएको छ ।

एकपछि अर्को काण्डका मुछिँदै सत्ताको स्वाद चाख्न बानी परेका लामिछानेको दोस्रो पटकको सत्तारोहणपछि देखिएको अर्को काण्डले पार्टी नै धरासायी बन्ने मार्गतिर गएको महामन्त्री ढकालको विज्ञप्तिले पुष्टी गर्दछ ।

कुनै बेला बैकल्पिक शक्तिको रुपमा उदाएको विवेकशील पार्टीको अवस्थामा पुग्ने प्रक्षेपण गर्दै मुकुलले आफूले आक्षेप मात्रै भोगेको तीतो यथार्थ सार्वजनिक गर्ने आँट गरेका छन् ।

उनले प्रतिवेदनमा पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथमा सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग सहकार्य गर्नु हितकर हुने समेत सुझाव दिएका छन् ।

महामन्त्री ढकालले आम कार्यकर्ताबाट व्यक्त भएका भावनालाई प्रतिवेदनमा समेटेको र यसलाई कार्यान्वयन गर्न आफुले नेतृत्वलाई आग्रह गर्ने बताएका छन् । आफुले जन्माएको पार्टी भएका कारण आफुले प्रतिवेदनमा यथार्थ उल्लेख गरेको बताउदै उनले यसका लागि आफ्नो महामन्त्री पद समेत जान सक्ने उल्लेख गरेका छन् ।

रास्वपा कुनै राजनीतिक दल नभई रवि लामिछानेको प्राइभेट कम्पनी जस्तो देखिइरहेको अहिलेसम्मको अवस्थामा डा. ढकालको पछिल्लो अभिव्यक्तिले रास्वपा विभाजनमात्र होइन रवि एण्ड कम्पनीकै कार्यशैली र हतकण्डाका कारण ‘तुहिने’ संकेत देखिएको छ ।

स्थापनाको पहिलो वर्ष नै निर्वाचनमार्फत् जनतासँग गएको रास्वपाले पाएको जनताको साथ दोस्रोवर्ष अर्थात् यही वैशाखमा भएको इलाम उपनिर्वाचनमा जमानत जोगाउनसमेत पाउन सकेन । त्यसमा प्रमुख रुपमा सभापति लामिछानेकै ‘काण्ड’ हरु प्रमुख कारक हुन् भन्नेमा कुनै शंका छैन ।

निर्वाचन सम्पन्न हुनासाथ जुनसुकै हालमा पनि आफ्नै नेतृत्वमा सरकारमा जानु पर्ने र त्यो पनि आफूले नै चाहेको मन्त्रालय पाउनुपर्ने ‘रविहठ’ पार्टीभित्र पनि घातक हुने लक्षण पहिले नै देखिएकोमा अहिले उक्त वास्तविकता पुष्टी भएको छ ।

May be an image of text

एक समय राजनीतिक दल खोलेर काठमाडौं –१ बाट सम्मानजनक मत पाएका रमेश खरेललाई पार्टीमा भित्र्याएर उपनिर्वाचनमा उम्मेदवार बनाए पनि उनको लज्जास्पद हारसँगै रविविरुद्ध उनै खरेलले अभिव्यक्ति दिएको धेरै भएको छैन । त्यसका साथै रविकै सहोदर दाजुले पनि रविको विगत र भविष्यप्रति गरिएको आलोचनाले पनि रविको कर्म र भविष्यमा उनीसँग गरिने अपेक्षामा तुषारापात ल्याउँछ ।

आफ्नै सांसदबाट मन्त्री बनाउन करोडौं रुपैयाँ माग गरेको भन्ने कुरादेखि नागरिकता प्रकरण, उनको निजी सवारी चालकको अस्वाभाविक मृत्यु, सञ्चारमाध्यममाथिको प्रहार जस्ता प्रकरण हुँदै पछिल्लो समय सहकारी ठगी काण्डमा मुछिनु रविको पार्टीभित्र र जनतासँगको दूरी बढ्दै जानु प्रमुख कारण हुन् ।

सहकारी काण्डमा उनलाई जस्तै गरी लागेको आरोपका आधारमा पूर्व उपराष्ट्रपतिका छोरा पक्राउ परिसकेको अवस्थामा आफ्नै मन्त्रीलाई पक्रने आँट प्रहरीले गर्न सकेन । लामिछानेलाई जस्तै लागेको आरोपका आधारमा कतिपय अहिलेसम्म जेल पुगिसकेको अवस्थामा उनी मन्त्री भइराख्नु पनि आम जनताका लागि पाच्य देखिएको छैन ।

कुनै बेला मूल राजनीतिक दलका बौद्धिक र सफल मानिएका अन्य दलका नयाँ विचार भएका नेताहरुलाई पार्टीमा भित्र्याएर पार्टी बलियो देखाउने प्रयास गरिरहेका लामिछानेका लागि अहिले तिनै नेताहरु समस्याको कारण बन्न सक्ने पनि देखिएको छ । ती नेताहरू व्यक्ति रविका लागि समस्याको कारक बने पनि रास्वपाका लागि भने सकारात्मक नै बन्न सक्छन्, तर त्यो भविष्यले नै देखाउला ।

लामिछानेको सहकारी काण्डदेखि महामन्त्री स्वयं डा. ढकाल, डा. स्वर्णिम वाग्ले, मनिष झा, सोविता गौतम, सन्तोष परियार, निशा डाँगीका साथै मन्त्रीहरु विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठलगायत असन्तुष्ट छन् । कतिपय अवस्थामा पार्टीभित्रको छलफलमा लामिछानेले पार्टी सभापति र गृहमन्त्री दुवैबाट राजीनामा दिनुपर्ने माग पनि नउठेको होइन । त्यसबाहेक रमेश प्रसाइ पनि पछिल्लो समय रविसँग असन्तुष्ट बनेको जनाइएको छ । इलाम उपनिर्वाचनमा टिकटको सम्भावना देखेका प्रसाइले टिकट नपाएपछि रविसँग रूष्ट रहेको जनाइएको छ ।

तर, रविले पार्टीभित्र उठेका ती आवाजहरुलाई आफ्नो वाकपटुता र चर्को स्वरले अहिलेसम्म दबाउँदै आएका थिए । तर, पछिल्लो पटक महामन्त्री डा. ढकालको प्रतिवेदन र अभिव्यक्तिले अब अन्य आवाजहरु नदब्ने लक्षण देखिएको छ ।

 

प्रतिक्रिया